अपडेट 
२०७८ श्रावण १८, सोमबार ०७:०८

नेपाल र भारत बीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो कडी सांस्कृतिक एवं सामाजिक समानता पनि हो । धार्मिक र सांस्कृतिक समानताका कारण यी दुई देशका नागरिक एक अर्काका निम्ति अभिन्न हुन् । एकसमान उपासना पद्धति, साझा देवी–देवता, तीर्थस्थल, पर्व, त्योहार, एकसमान देवकर्म एवं पितृकर्म गर्ने मान्यता लगायतका अनेकौ मान्यताले हामीलाई अभिन्न बनाएको छ । दक्षिणी छिमेकी भारतमा ७ वर्ष अघि नरेन्द्र मोदी नेतृत्वको सरकार अस्तित्वमा आउँदा नेपाल, भारत र श्रीलंका लगायतका देशहरुसितको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्ने भयो । मर्यादा पुरुषोत्तम श्रीराम र जगद्जननी जानकीको जीवनगाथा नेपाल, भारत एवं श्रीलंकासित जोडिएको छ भने भगवान गौतम बुद्धको जीवनगाथा पनि नेपाल, भारत र श्रीलंकासित जोडिएको छ । आदिदेव शिवको गाथा त कैलाश मानसरोवर पनि अधुरो नै मानिनेछ तर यसको निम्ति उत्तरी छिमेकी चीनको पनि सद् भाव र सहयोग चाहिन्छ तथापि भगवान शिव र माता सत्तीको जीवनसित जोडिएका पवित्र धार्मिक स्थलहरुलाई एउटा श्रृंखलामा जोड्न सकिए त्यो निकै पुण्यको काम हुने थियो र सराहनीय पनि हालै नेपाल र भारत सरकारका अधिकारीहरुबीच बुद्धिष्ट, रामायण, महाभारत, शिख र शिवशक्तिलाई अलग– अलग सर्किट मार्फत जोड्ने विषयमा छलफल हुनुलाई एउटा उपलब्धि मान्नु पर्दछ ।

यसबाट हाम्रा धार्मिक, सामाजिक एवं सांस्कृतिक धरोहरहरु अक्षुण रहनुका साथै यसको विस्तार एवं विकासमा समेत मदत मिल्ने छ । हामीले गर्व गर्न सक्ने विषय भनेको यिनै हुन् । हाम्रो साझा धरोहर एवं सांस्कृतिक तथा धार्मिक मुल्य मान्यताको विकासमा एकाग्रचित भएर लाग्नुको विकल्प छैन । हालै सम्पन्न सम्मेलनमा नेपालमा भारतीय लगानीकर्ताहरुलाई कसरी आकर्षित गर्ने र द्धिपक्षीय सम्बन्धलाई अझ बढी प्रगाढ कसरी बनाउने भने बिषयमा पनि छलफल भएका छन् । नेपाल भारत मैत्री सम्मेलन र नेपाल भारत आर्थिक क्षेत्र सम्मेलन, लगायतका विषयमा पनि छलफल भए तर मुख्य विषय भनेको रामायण, बृद्धिष्ट, महाभारत एवं शिवशक्तिको निर्माण नै रहयो । राजर्षि जनककी सुपुत्री राजकुमारी सीताको जीवनगाथा मिथिलाको पवित्र जनकपुरबाट प्रारम्भ हुन्छ र उनको प्राकट्य स्थली पुनौराधाम तथा धनुषाधामलाई पनि रामायण सर्किटमा जोडिने सम्भावना छ । अयोध्याका राजकुमार भगवान श्रीरामसित शुभविवाह पश्चात जनकपुर र अयोध्याको बीचमा पर्ने मिथिला एवं बिहारका अन्य क्षेत्रहरु सहित उत्तर प्रदेशका कतिपय क्षेत्रहरु सहित अयोध्या पनि यसमा जोडिने छन् । यस्ता अनेकौ धार्मिक एवं ऐतिहासिक स्थलहरुलाई समेट्नुका साथै भगवान श्रीरामले १४ वर्ष बनवासको क्रममा भ्रमण गरेका पवित्र क्षेत्रहरु तथा माता जानकीलाई अपहरण गरी राखिएको ठाउँ श्रीलंकाको क्षेत्रलाई समेत जोडेर पवित्र “रामायण सर्किट” बनाउने योजना रहेको छ । विगतका दिनमा भारत मध्यप्रदेशको टिकमगढकी महारानीले पवित्र जनकपुरधाममा माता जानकीको मन्दिर निर्माण गराएकी थिईन् त्यतिबेला नै यसको निर्माणमा ९ लाख रुपैयाँको खर्च आएको थियो ।

त्यसैले होला यस मन्दिरको एउटा अर्को नाम “नौलखा” मन्दिर पनि रहेको छ । विवाह मण्डप र यात्री धर्मशालाको निर्माणमा पनि भारत सरकारकै सहयोग रहेको छ । करिब चार वर्ष अघि जनकपुर भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिरको विकासका निम्ति आर्थिक सहयोगको घोषणा गर्नु भएको थियो । भारतका तत्कालिन प्रधानमन्त्री चन्द्रशेदरले जानकी मन्दिरको भ्रमण गरेको २६ वर्ष पश्चात कुनै भारतीय प्रधानमन्त्रीले चार वर्ष अघि जनकपुरको भ्रमण गरेका थिए । त्यसैगरी भगवान गौतम बुद्ध जन्मेको ठाउँ लुम्बिनी, उनले ज्ञान प्राप्त गरेका ठाउँ बिहारको बोधगया तथा उनले महा निर्वाण प्राप्त गरेको कुशीनगरलाई समेटेर एउटा बृद्धिष्ट सर्किटको निर्माण गर्न सकिन्छ । भगवान गौतम बुद्धको जीवनगाथा नेपार र भारतसित मात्रै सम्बन्धित रहेको छ तर यी दुई देश हिन्दु बाहुल्य हुन् । तसर्थ संभव भए श्रीलंका र भुटानलाई पनि यसमा समेटेर एउटा बुद्धिष्ट सर्किटको निर्माण गर्न सकिन्छ । हुनत भगवान गौतम बुद्धका अनुयायीहरु नेपाल, भारत, भुटान र श्रीलंका मात्रै होइनन् अपितु एसियाका दर्जनौ देशहरुमा पनि छन् । बुद्ध सर्किटको निर्माणले नेपाल र भारतको दुई पक्षीय सम्बन्धलाई त बलियो बनाउने छ नै यसले बुद्ध धर्म संस्कृतिको विकास र विस्तारमा पनि मदत पु¥याउने छ । नेपालमा अहिले धर्म परिर्वतन गरी इसाई धर्म ग्रहण गर्नेहरु मध्ये पहाडका आदिवासी, जनजाति र दलित वर्गका बढी संख्यामा छन् । बुद्ध सर्किटको निर्माणले उनीहरु आफनो धर्म प्रति मात्रै आस्थावान रहने छन् ।

आदिदेव भगवान शिवका पवित्र स्थलहरु ओमकार परिवारका सदस्यहरुको निम्ति महत्वपूर्ण रही आएको छ । भगवान पशुपतिनाथको पवित्र मन्दिर रहेको ठाउँ हाम्रो राष्ट्रिय राजधानी काठमाडौं, बाबा विश्वनाथको मन्दिर रहेको बाराणसी, चारधाम मध्येको केदारनाथ, रामेश्वरम र बारह ज्योर्तिलिङ्ग स्थापित महत्वपूर्ण एवं पवित्र धामहरुलाई समेटेर शिव शक्तिको रुपमा एउटा सर्किटको निर्माण हुन आवश्यक छ । त्यसैगरी शिख धर्मालम्बीहरु बसोबास गर्ने ठाउँ पनि भारत र नेपाल नै हुन । शिख सर्किटको पनि निर्माण गरी यसलाई पनि नयाँ नयाँ पर्यटकीय स्थलको रुपमा विकसित गरिन्छ । विश्वका हिन्दुहरुको आस्थासित जोडिएका एक अन्य विषय हुन पवित्र धर्मग्रन्थ महाभारतमा वर्णित स्थलहरुको संरक्षण एवं सम्बद्र्धनको निम्ति महाभारत सर्किटको निर्माण । पाँच पाण्डव एवं द्रौपदीले अज्ञातवासको एक वर्ष राजा विराटको राज्य अथवा राजधानीमा बिताएका थिए । बिराटनगर पनि महाभारत सर्किटको एउटा बिन्दु हुन सक्दछ । महाधनुर्धर अर्जुनले सभ्वत ः बिराट राजा कै राज्यमा रहेका बेला किराँतहरुबाट थप धनुर्विद्यया र युद्धकौशल सिकेका थिए । किराँतहरु पनि भगवान शिवकै अनुयायी छन् । भगवान शिवले किराँत अवतार पनि लिएका थिए । यालम्बरलाई किराँतहरुको पहिलो राजा मानिन्छ । भनिन्छ अर्जुनले शिवको किराँत अवतारको पुजा पनि गरेका थिए । महाभारतका महाबली बरबरिक जो श्रीकृष्णको धुर्तताका कारण महाभारतको युद्ध लडन सकेनन, उनी पनि किराँत नै थिए । बरबरिकसित रहेको धनुषलाई अहिलेको जमानाको लेजर गाईडेड मिशाइल पनि मान्न सकिन्छ । कोशी नदी पारी देखि लिएर सिक्किम सम्म फैलिएका जनजातिहरु किराँतरुपी भगवान शिवका बंशज नै छन् । राजा यलम्बरको शासनकालमा किरातहरु थानकोट क्षेत्रमा आएका थिए ।

अब त राजधानी काठमाडौं सहित पुरै देशमा किराँतहरु (राई लिम्बु) फैलिएका छन् । महाभारत सर्किटको निर्माणमा नेपालको पूर्वी पहाड, कोशी नदी पारिका तराई, क्षेत्र मध्य एवं पश्चिमी पहाडी क्षेत्रलाई पनि महाभारत सर्किटमा समावेश गर्ने प्रयास हुनु पर्दछ । संभवत ः उपरोक्त धार्मिक सर्किटहरुको निर्माणको काम थालिए यसमा थप अध्ययन एवं अनुसन्धानहरु हुनेछन् र यसबाट धेरै ऐतिहासिक, धार्मिक एवं पौराणिक महत्वका तथ्यहरु फेला पर्नेछन् । यजुर्वेदमा पनि किरात शब्दको चर्चा भएको पाइन्छ । किरातको अर्थ नै “पहाडका सुन्दर मानिस” हुन्छ । यस अर्थमा रामायण, महाभारत, बुद्ध, शिख एवं शिव शक्ति सर्किटको निर्माण भएबाट हाम्रा धार्मिक एवं सांस्कृकित सम्बन्ध बढी घनिष्ट हुनेछन् र यसबाट पर्यटकहरु पनि आकर्षित हुनेछन् । यसबाट आर्थिक विकासको सम्भावना बढनुको साथै रोजगारको अवसर पनि सिर्जना हुनेछ ।

Comment


Related News

Latest News

Trending News