अपडेट 
२०७८ श्रावण २०, बुधबार ०७:२५

आजभोलि स्वास्थ्यमा मानिसले खर्च गर्न थालेका छन् । यो निकै सकारात्मक पक्ष हो । स्वास्थ्यप्रति गम्भीर हुनु र स्वास्थ्य चेतना विकास हुनुलाई मानवीय विकासको रुपमा लिन सकिन्छ । यदि सामथ्र्य छ भने ठूला अस्पताल तथा विदेशमा पनि उपचारका निम्ति मानिस जान थालेका छन् । स्वास्थ्यप्रति सर्वसाधारणको सम्वेदनशीलता वृद्धि हुनुले विस्तारै सहर बजारमा व्यवस्थित अस्पतालहरु खुल्दै गएका छन् । प्रायः जसो बजारमा स्वास्थ्य क्षेत्रमा पनि प्रतिस्पर्धा हुन थालेको छ । यस किसिमको प्रतिस्पर्धा सेवा र गुणस्तर दुवैमा हुनुपर्दछ । सर्वसाधारणको विश्वास जित्ने प्रतिस्पर्धा पनि हुन थालेको छ । आजभोलि यदि सञ्चार माध्यमप्रति ध्यान दिने हो भने स्वास्थ्य क्षेत्रको विज्ञापन अनिवार्य गरिएको पाइन्छ ।

विज्ञापनले एकातिर सम्बन्धित स्वास्थ्य संस्थाबारे जानकारी दिन्छ भने अर्कोतिर प्रतिस्पर्धा रहेको पनि बताउँदछ । सामान्यतया कुनै स्वास्थ्य समस्या नभए पनि कतिपय मानिसले आफ्नो फुर्सदको समयमा वर्षमा एकपटक स्वास्थ्य परीक्षण गराउने गरेका छन् । यस प्रकारको स्वाभाविक र सान्दर्भिक प्रवृत्तिको विकास दिनानुदिन सकारात्मक रुपमा भइरहेको छ । कतिपयले चाहिँ आफूलाई सञ्चै भए पनि चिकित्सकलाई आफ्नो कुरा सुनाउने र भरपर्दो अर्थात् विश्वासिलो चिकित्सकले सब ठीकठाक छ भनेर बताएपछि आफूलाई मनोवैज्ञानिक रुपमा पनि स्वस्थ्य बनाउने गरेको पनि पाइएको छ । अझ कतिपय अवस्थामा त बिना औषधि आफूलाई ठीक छ कि छैन भन्ने पनि पत्याउन कतिपयलाई मुस्किल पर्ने गरेको छ । यदि चिकित्सकले अलिकति पनि औषधि लेखिदिएनन् भने असन्तुष्ट हुने पनि छन् । यस प्रकार मनोविज्ञानले पनि मानिसलाई स्वस्थ बनाउने गरेको देखिएको छ । स्वास्थ्य र मनोविज्ञानको सम्बन्ध विदेशमा पनि कतिपयले देखाउने गरेका छन् । एक जना शिक्षित नागरिक अस्ट्रेलिया गएका थिए । त्यहाँ छोरी र ज्वाईँ स्थायी बासिन्दा भइसकेका छन् । छोरी गर्भवती थिइन् । छोरीले अस्पतालमा बच्चा जन्माइन् । बच्चा अपरेसन गरेर जन्माइएको थियो । अस्पतालमा केही घन्टा राखेपछि अस्पतालले डिस्चार्ज ग¥यो । डिस्चार्ज गर्दा अस्पतालले कुनै औषधि नै दिएन । अपरेसन गरेर बच्चा निकालेको तर कुनै औषधि नदिएको देख्दा आफ्नो खुल्दुली मेटाउन किन कुनै औषधि नदिएको होला भनेर सोध्दा चिकित्सकले सुनेछन् र बोलाएर बूढो मान्छेले के जान्न खोजेको भनेर सोधेछन् ।

ज्वाईँले पनि सही कुरा बताएछन् र चिकित्सकले औषधिको कुनै पनि आवश्यकता नभएकोले केही पनि नदिइएको बताएछन् । सन्तुष्टिको लागि एउटा सामान्य सिटामोल सिफारिश गरेछन् र भनेछन् ः आवश्यकता अनुभव भएमा खानुहोला । अस्पतालमा पुग्नु र कुनै औषधि नै नलिई फर्किनु हाम्रो समाजमा के के नपुगेको जस्तो लाग्ने सन्दर्भ हुन पुग्दछ तर सदैव औषधि नै खानुपर्छ भन्ने मनोविज्ञान हाम्रो समाजमा रहेको छ । औषधि नखानुपर्ने वा अति साधारण औषधि खाएर बाँकी संयमले बस्नुपर्ने, खानपानमा ध्यान दिनुपर्ने, व्यायाम गर्नुपर्ने जस्ता कुरा पनि स्वास्थ्यको लागि महत्वपूर्ण हुन्छ भन्ने अझै बुझ्न बाँकी रहेको छ । सम्पन्नता र विपन्नतासित स्वास्थ्यको ठूलो सम्बन्ध रहेको छ । सर्वसाधारण विपन्न मानिसले गाउँघरमै कसैको सल्लाहमा वा सोझै औषधि पसल पुगेर आफूलाई के भइरहेको छ, त्यो बताएर औषधि सेवन गर्दछन् । सम्भव भएसम्म पहिले सहन्छन् र सहन नसकेर औषधि सेवन गर्दछन् । अझ यदि दिउँसोको समय छ र मानिस घरैमा छ भने गाउँको स्वास्थ्य चौकीमा गएर औषधि लिन्छन् । गाउँकै स्वास्थ्य चौकीमा गएर जो स्वास्थ्यकर्मी हुन्छन्, तिनको सल्लाह र उपचारमा औषधि सेवन गरेको धेरै राम्रो हो तर कतिपय अवस्थामा स्वास्थ्य चौकीमा औषधि नहुँदा वा अरु औषधि उपलब्ध हुन्छ र एक दुई किन्नुपर्ने अवस्थामा सर्वसाधारण विपन्न मानिसले स्वास्थ्य चौकीबाट प्राप्त गरेको औषधि खाने र किन्नुपर्ने औषधि किन्न सकिने अवस्था पनि हुन्छ । विदेशमा बस्नेहरुले के भन्दछन् भने नेपालमा स्वास्थ्य निकै सस्तो छ । हुन त जो जुन देशमा छन् सोही देशको आय आम्दानीको आधारमा सस्तो भनेको हुनुपर्छ वा तुलनात्मक रुपमा सस्तो हुन पनि सक्छ । हामीकहाँ भने स्वास्थ्यको अवस्था अझै केही भिन्न रहेको देखिन्छ ।

जब कहीँ कतै कुनै संस्थाद्वारा निशुल्क स्वास्थ्य शिविरको आयोजना हुन्छ र अझ त्यहाँ निशुल्क औषधि वितरण गर्ने कुरा सार्वजनिक भएको हुन्छ, त्यहाँ अत्यधिक भीड हुने गर्दछ । अत्यधिक भीडको कारण स्वास्थ्य परीक्षण पनि सन्तोषजनक हुन सकेको हुँदैन र प्रायः अन्त्यमा के सुनिन्छ भने यति धेरै भीड भयो कि औषधि नै पुगेन । निशुल्क स्वास्थ्य शिविरमा हुने भीडले वास्तवमा अझै पनि समाजमा अशक्त वा विपन्न समुदायका धेरै मानिस यस्ता छन् जसले आफूलाई बिरामी महसुस गरिरहेका हुन्छन् तर कुनै कारणले उपचार गराउन सकिरहेका छैनन् भन्ने देखाउँछ । अलिकति हुने खाने वा सम्पन्न मानिसहरुमा सोझै ठूलो सहरमा उपचार गराउन जाने प्रवृत्तिको विकास भइरहेको छ । यसको मूल कारण स्वास्थ्य परीक्षण र मनोविज्ञान दुवै रहेको चिकित्सकहरुकै भनाइ रहेको छ । ग्रामीण क्षेत्र, सहरोन्मुख ग्रामीण क्षेत्र, बजार तथा साना सहरमा रहेका अस्पतालहरुमा पुग्ने अधिकांश बिरामीले मुख्यतः आफ्नो जे रोग छ, त्यसको लक्षणको आधारमा उपचार गराउन चाहन्छन् र जब चिकित्सकले दुई चार वटा परीक्षण लेख्दछन् तब अस्पतालले बढी पैसा लिनको लागि बढी टेस्ट गराउन लगाएको भन्न थाल्दछन् । साथै कतिपयमा त टेस्टको विश्वसनीयता कतिको रहेको छ भन्ने आशंका पनि मनमा उब्जिन थालेको देखिन्छ । यहाँनेर अर्को पनि एउटा समस्या के देखिन्छ भने उपचार एकभन्दा बढी परीक्षण गर्दा ल्याबको रिपोर्ट ठीक भए पनि यदि सम्बन्धित क्षेत्रको विशेषज्ञ छैनन् भने के हुने ? अर्को ठाउँमा यही टेस्टले काम गर्न कि गर्दैन ? प्रायः हरेक अस्पतालमा हुने टेस्टले सम्बन्धित अस्पतालको लागि मात्र काम गरेको देखिन्छ ।

यस कारण पनि हुने खाने वा अलिकति सम्पन्न तथा मध्यम वर्गका मानिस एकैचोटि ठूलो अस्पताल वा ठूला सहरमा उपचार गराउन चाहन्छन् जहाँ विशेषज्ञहरुको पर्याप्तता हुन्छ । साना सहर वा बजारका अस्पतालमा जहाँ बिरामीको आर्थिक अवस्था तथा मनोविज्ञान दुवै हेर्दछन् भने ठूला अस्पतालमा प्रायः बिरामीले जे जे समस्या भनेका हुन्छन् ती सबै समस्याहरुको समाधानका लागि अलग अलग टेस्ट गर्दछ । कतिपय अवस्थामा एकै समस्याको लागि एकभन्दा बढी टेस्ट पनि गर्नुपर्ने हुन्छ । एकअर्कासित अन्तरसम्बन्धित समस्या रहेको खण्डमा यस प्रकारको टेस्ट त अपरिहार्य हुन्छ । साथै हरेक टेस्टबाट देखिने समस्याको निदानको लागि अलग अलग विशेषज्ञ पनि रहेका हुन्छन् । हरेक रोग वा समस्याका लागि अलग अलग विशेषज्ञबाट सल्लाह पाउने तथा उपचार हुने र सबै उपचार एकै ठाउँमा पाइने हुँदा यसरी हुने खाने चाहिँ ठूला सहरतर्फ उपचारका लागि आकर्षित भएका हुन् । यद्यपि सन्तुष्टि आफैँमा असिम पक्ष हो । यसको कुनै सीमा हुँदैन । गाउँका मानिसलाई सहरमा उपचार हुन पायो भने लाग्छ कि ठूलो उपलब्धि भयो यदि स्वास्थ्य ठीक हुन्छ भने । अझ कतिपय मानिसमा त यस्तो पनि देखिन्छ कि फलानो ठाउँमा गएँ भने मलाई ठीक भइहाल्छ । यहाँ सन्तुष्टि वा मनोवैज्ञानिक उपचारको पक्ष हाजिर हुन जान्छ । साना सहरका मानिस ठूला सहरतिर उपचारका लागि जान्छन् । ठूला सहरबाट राजधानी जान्छन् । यसरी आर्थिक रुपले सम्पन्न हुने तथा सहर वा राजधानीमा आफन्त हुने तथा कतिपय अवस्थामा मनोवैज्ञानिक किसिमले मलाई फलानो ठाउँमा ठीक भइहाल्छ भनने मनोविज्ञान आदिको कारणले पनि ठूला सहर तथा राजधानीमा उपचार गराउन ग्रामीण मानिस पनि पुगिरहेको यथार्थ हो । अहिले यातायातको सुगमता भएको छ । गाउँबाट सहर पुग्न उति धेरै अप्ठ्यारो अवस्था अब रहेको छैन ।

हरेक साना बजारबाट सहरमा सार्वजनिक यातायात चल्न थालेका छन् । यातायातका अनेक साधनहरुको पर्याप्तता भएको छ । यात्रु भएको ठाउँसम्मै सबारी साधन पुग्न थालिसकेको छ । साथै यसको अर्को पक्ष यो पनि रहेको छ कि मानिसको हातमा पैसा भएको छ । पहिलेको तुलनामा मानिसको हातमा पैसा भएको हुनाले स्वास्थ्यको क्षेत्रमा खर्च गर्ने प्रवृत्ति विकास भएको छ । स्वास्थ्योपचारमा गरिएको लगानी आफ्नो लागि भएको भन्ने मनोविज्ञानको विकास भएको छ । आर्थिक सम्पन्नतामा वृद्धि हुनु, अस्पतालको संख्यामा वृद्धि हुनका साथै गुणस्तरमा वृद्धि हुँदै जानु, स्वास्थ्य संस्थाहरुमा विशेषज्ञको सेवा विस्तार हुँदै जानुलाई स्वाभाविक मान्नु पर्दछ । चिकित्सकहरुले पनि बिरामी तथा तिनका आफन्तको मनोविज्ञानको अध्ययन गरेर पनि विभिन्न किसिमका परीक्षण गर्ने गरेका छन् । मुख्य गरी ग्रामीण तथा बजारोन्मुख नगर क्षेत्रका स्वास्थ्य संस्थाहरुमा यस प्रकारको प्रवृत्ति रहेको छ । बिरामीलाई के भएको छ भन्ने कुराको परीक्षण गर्ने तथा बिरामी वा तिनका आफन्तको कुरा सुनेर अर्थात् मनोविज्ञानको अध्ययन गरेर परीक्षण गर्दा तथा उपचार गर्दा रोगी र आफन्त सन्तुष्ट हुने गरेको चिकित्सकहरुको अनुभव रहेको छ । अहिलेको अवस्थामा सोझै औषधि खाने प्रवृत्ति विस्तारै कम हुँदै गएको र कुनै समस्या आएको देखिएको खण्डमा सम्भव भएसम्म स्वास्थ्यकर्मीको सल्लाह लिएर औषधि खानुपर्छ भन्ने मनोविज्ञानको विकास भएको छ । गाउँघरमा पनि स्वास्थ्यकर्मीको उपलब्धता हुनुले पनि स्वास्थ्य चेतनामा वृद्धि भएको देखिन्छ । हाम्रो समाजमा हुँदै गएको सकारात्मक विकासको द्योतक यसलाई मान्नु पर्दछ ।

स्वास्थ्य परीक्षणमा रोगीको मनोविज्ञानको अध्ययन पनि उपचारको दृष्टिकोणले विशिष्ट सकारात्मक पक्ष रहेको कुरालाई सबैले स्वीकार गरेका छन् । यसले चिकित्सकलाई उपचार गर्न र रोगीलाई निको बनाउन सहयोग पुग्ने गरेको पनि सत्य हो ।

Comment


Related News

Latest News

Trending News