यस शिर्षकमा यस्ता शब्दहरू लेखकले त्यस्तै प्रयोग गरेको छैन । यी शब्दहरू नेकपा एमालेका शीर्ष नेताहरूका मुखबाट निस्केका शब्दहरू हुन् । यस्तै शब्दहरूबाट पार्टी अहिले फुटको कगारमा उभिएको देखिन्छ । यस्तो अवस्था एकै दिनको उपज होइन, केही विगत समयदेखि नै पार्टीका कमरेडहरू बीचमा चलेको सीतद्वन्द्वबाट आएको हो । हुनत बामपंथीहरूमा सिद्धान्तभन्दा नेतृत्व गर्नकालागि पार्टीलाई विभिन्न चिरामा लगेको कुरा कुनै नयाँ होइन । नेपाली जनताको बीचमा जाँदा संख्याको हिसावले बामपंथीको संख्या नै बढी देखिन्छ तर सरकारसम्म पुग्दा सफल नेतृत्व गर्ने व्यक्तिको व्यवहारले गर्दा दुई तिहाइको बहुमतको सरकारलाई अहिले कहाँ लगेर राखि दिए, सोच्ने बेला आएको छ । नेताको सोचमा परिबर्तन नहुन्जेलसम्म यस्ता असफलता आइ रहन्छ । सरकारमा गएपछि म नै सबै कुरो, पार्टी त मेरो सहयोगी मात्र हुन् । पार्टीका कमरेडहरू मेरो अगुवा पछुवा सरह हुन ।
यस्ता व्यवहारले गर्दा नै कम्युनिष्टहरूको यो दसा देख्दा मानिसहरु के सोच्छन् भने कम्युनिष्टहरूमा अहिले पनि क्षमताबान, धैर्यवान, विद्वान, व्यवहारिक, एकता चाहने जस्ता कमरेडहरुको अभाव नै छ के ? अहिले भर्खर हामीदेखि सक्यौं कि क. ओली आफू प्रधानमंत्री हुँदा जति पनि पार्टीमा प्रतिष्ठित नेताहरू थिए सबैलाई पाखा लगाए । आफूलाई नै सर्बे सर्बा ठान्न थाले । माधव नेपाल, झलनाथ खनाल, प्रचण्ड जस्ता व्यक्तित्व जो नेपालको प्रधानमंत्री समेत भैसकेका छन् । उनीहरूलाई चिह्राउँदा, अन्य पार्टीका मानिसहरू समावेश गराई उच्च पदमा सामेल गराउँदा अति भै सकेपछि पार्टी भित्रैबाट बिद्रोहमा उत्रिए । केही नेताहरू जो उनैसँग तानावाना बुन्ने कुरामा सहयोग गर्दै आए, उनीहरूमात्र विश्वास पात्र बन्न पुगे । हालै नेकपा एमालेको काठमाण्डौ जिल्ला कमिटी बैठकमा शनिवार ओलीले माधव नेपाललाई देशद्रोही करार गर्दै पार्टीमा उहाँको ठाउँ नभएको उद्घोष गरे । अब उप्रान्त नेपाल जस्ता आन्दोलन बिरोधी, देशद्रोहीलाई कुनै ठाउँ छैन पार्टीमा, जसले बामपंथी सरकार ढाल्ने, आफ्नो अध्यक्षले माग्दा विश्वासको मत नदिने र दक्षिणपंथी सरकार गठन गर्ने उनले भन्ने, ‘त्यो सरकारलाई समर्थनकालागि पछाडिको ढोकाबाट लुसुक्क छिरेर बेइमानी तरिकाले ह्वीप क्रस गरि भोट दिन जाने । यस्ता पार्टीका मतियारलाई ठाउँ छैन पार्टीमा ।’ अर्कोतिर नेता नेपालले पनि शनिवार अखिल फोर्सले गरेको भेलालाई सम्बोधन गर्दै जालझेल र षड्यन्त्र गरेर फेरि प्रधानमंत्री बन्ने प्रयास नगर्न अध्यक्ष ओलीलाई चेतावनी दिए ।
यो प्रतिनिधि सभा विगठन गर्ने दुस्साहस अब कसैले नगरोस्, फेरि फर्केर प्रधानमंत्री बन्छु कि भने जालझेल र षडयन्त्र कसैले न गरोस्, अब जे हुनेछ पारदर्शी ढंगले हुनेछ । उनले भने । एउटै पार्टीका नेताहरूबाट यस्ता शब्दहरू सुन्दा सर्बसाधारण पनि हदै भो भन्न थालेका छन् । सबैभन्दा पहिले पार्टीमा बस्दा पारदर्शितालाई बाहिर राखेर काम गर्दा विश्वासमा कालो छाया पर्न थाल्छ जसले एक अर्काको दुरी बढाउँदै जान्छ । यहाँहरूको बीचमा पनि यस्तै घटना परिघटनाहरू घट्दै आए । अहिले पनि एक–अर्कालाई गाली गलौज गर्नबाट पछि परेका छैनन् । यस्ता काममा पार्टीका अध्यक्षको नाताले क. ओलीलाई बढीभन्दाबढी संयमतापूर्वक आफ्नो भूमिका निर्वाह गर्नु पर्ने देखिन्छ । तर उहाँमा के देखिन्छ भने गाउँघरमा एउटा भनाइ छ ‘उल्टै चोर कोतवालको डाँटे’ । यसको अर्थ जो दोषी छ उसले नै फटकार लगाइ रहेका छन् । कसरी एकता होला । एकतामा विश्वास सबै भन्दा ठूलो कुरा हो । विश्वास भएन भने एकता टिकाउ हुँदैन । एकातिर एकताको प्रयासमा केही नेताहरू लागेका छन् भने अर्कोतिर अध्यक्ष क. ओलीको गालीका शब्दहरू सुन्दा के बुझिन्छ भने पार्टी एकताको दुरी निकै फराकिलो भैसकेको छ । जसलाई एक ठाउँमा ल्याउन अपठ्यारै छ कि ? कहिले लालगद् दार त कहिले देशद्रोही, आन्दोलनद्रोही जस्ता बिरोधी शब्दहरूको सम्बोधनबाट मिल्ने काँटछाँट टाढै रहेको बुझ्न सकिन्छ । जसले संविधानलाई नै धज्जी धज्जी उडाउन खोजे, आफ्नै इच्छाले देश चलाउन खोजे, सम्मानित अदालतलाई गाली बेज्जती गर्दै आए, प्रधानन्यायाधीशको पुतला जलाए, नेताहरूलाई प्रतिष्ठा दिनुको बदला आदेशपालक ठाने, पार्टीको सबै कुरा म नै छु भने ठान्न थाले, नेताहरूले मैले गरेको जस्तो सुकै काममा किनाराको साक्षी बन्नु पर्ने, जस्तो सुकै आदेश मान्नु पर्ने, सबैधानिक निकायहरूलाई आफ्नै अनुकूल चल्न लगाउने, संविधानको फैसलालाई नमान्ने आदि व्यवहारबाट के बुझिन्छ भने अबउप्रान्त पार्टीलाई सबै नेताको साझा पार्टी बनाउने क. ओलीमा भित्रको मनसाय छैन कि ! यतिसम्म मात्र कहाँ हो र ! देशद्रोहीको संज्ञाबाट सम्बोधन गर्न पछि परेन ।
देशद्रोहीको अर्थ हामी साधारण भाषामा बुझे अनुसार देश प्रति गद् दारी गर्नु हो । क. माधव नेपाल जस्ता खारिएका नेता देश द्रोही होईन बरू देश संविधान, कानूनलाई बचाउँदै देशलाई संकटको बाटोमा जान्नबाट जोगाएका छन् । यसमा आफ्नो र विरानो पार्टीको कुरा हुँदैन । देश सबैको लागि सर्बोपरि कुरा हो । संविधान भनेको देशको मूल कानून हो जसलाई सबैले मान्नु पर्ने हुन्छ । यस्ता जालझेलका कुरालाई ओली कमरेड छोड्नै पर्ने हुन्छ अन्यथा पार्टी एकता निकै टाढा हुँदै जान्छ । कम्युनिष्ट पार्टीमा राजनेताको अभाव देखिन्छ । पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, मनमोहन अधिकारी बाहेक यस पार्टीमा कसैले राजनेताको ठाउँ लिन सकेन । वरू बाँकी नेताहरू मध्ये क. माधव कुमार नेपाल देशको संविधानलाई शून्यतामा ल्याएर गणतन्त्रातत्मक प्रणालीलाई समाप्त पार्न खोज्दा पार्टीबाट माथि उठेर विद्रोह गरी देश र संविधानको पक्षमा उभिंदा उल्टै उनलाई लालगद् दार, देशद्रोही, आन्दोलनविरोधी जस्ता तथानाम गाली गरेर के देखाउन खोजेको हो ! त्यसलाई आउने दिनमा जनताले मुल्यांकन गर्ने नै छन तर अहिलेको अवस्थालाई मूल्यांकन गर्दा देश ठूलो खाल्डोमा खस्नबाट बचाउने नेताको रूपमा माधव नेपालले नै अगुवाइ गरेको देखिन्छ । अहिलेसम्म पार्टीमा होस् वा बाहिर कुनै पदमा जाने कुरा प्रकट गरेका छैनन् । कतिपय समाचार पत्रमा लेखिए अनुसार समान अध्यक्षको कुरापनि आएको छ तर माधव नेपालको मुखबाट कहीं कतै यस्ता माँग आएको देखिँदैन । मनगढन्ते प्रचार प्रसारमा ल्याई उहाँको व्यक्तित्वलाई कसरी तल्लो खसाउने जस्ता षडयन्त्रवाहेक यसलाई अन्य कुराको रूपमा लिनै सक्दैन । अहिले पनि माधव कमरेडले के घोषणा गरेका छन् भने देउवा सरकारमा हाम्रा साथीहरू भाग लिँदैनन् ।
यसले पार्टी एकताको संकेत दिँदा पुनः पार्टी अध्यक्षबाट भड्किला शब्दहरू प्रयोग गरी पार्टी एकतामा भाँजो हाल्ने काम गरेको देखिन्छ । आफ् नो मूल्यांकन आफै गरेर सोच्नु पर्ने हुन्छ कि एकताका नेकपा नेपालको नेतृत्व गर्ने अध्यक्ष अहिले नेकपा एमालेको एउटा समूहको नेतृत्वमा झरेको कुरातिर फर्केर हेर्नै पर्ने हुन्छ अन्यथा पार्टीलाई अझै कमजोर हुनबाट कसैले रोक्न सक्दैन । कुनै पनि पार्टी नेताको क्षमता तथा कुशल नेतृत्वमा निर्भर हुन्छ । बर्तमानमा पार्टी एकताका लागि खटिएका कमरेडहरू दिनरात मिहिनेत गरेर दस बुँदे सहमतिसम्म ल्याइ दिए पनि अध्यक्ष कमरेडका भड्किला शब्दले पुनः पार्टीलाई साविककै ठाउँमा धकेलेको धकेलै छ । नेकपामा एकसेएक दिग्गज नेता÷कार्यकर्ताहरू देख्दा जनतामा विश्वास पलाएको थियो कि अव देश प्रगतिशील पार्टीको हातमा आएको छ तर समय नपुग्दै पार्टी भित्र यस्ता जालझेल शुरू भयो जसले पुनः पार्टीलाई ह्रास गर्दै अहिले एमालेको एउटा टुक्रामा ल्याएर राखी छोडेका छन् । हुनत सरकार हुँदा पनि खाँटी कम्युनिष्ट कार्यकर्ता, नेता के पाएका थिए र ? जो अध्यक्ष ओलीका आसेपासे थिए उनीहरू नै सबै निकायमा भर्ना भएका थिए । त्यसबाट बाँकी रहेका सीटमा बाहिरबाट ल्याएर पूर्ति गरेकै थिए । तर पनि पार्टीलाई माया गर्ने सच्चा बामपंथी कार्यकर्ताहरू पार्टी यस्तो अवस्था देखेर निकै चिन्तित देखिन्छन् । चैतै कम्युनिष्टहरू पार्टी सरकारबाट हट्ने वितिकै आ–आफ्ना ठाउँमा फर्केका छन् । केही फर्कन अदालतको ढोका खटखटाउन पुगेकै छन् । पार्टी निर्माणमा तलको कार्यकर्तादेखि माथिका शीर्ष नेताहरू सम्म सबैको रगत पसीना लागेको छ । पार्टी एकजना मात्र बनाएर बन्दैन, पार्टी सरकारमा गएको बेला को सही सहयोग र विचार दिन सक्छ ? त्यस्ता मान्छेको खोजी भएन । चापलुस मान्छेहरू कहिले पनि सही विचार दिन सक्दैनन् ।
उनीहरूले जे उदेश्यले आएका हुन्छन । सो उदेश्य पूरा भए पछि पुनः लात मारेर आफ्ना ठाउँमा फर्कन बरे लाग्दैन । इमान्दार कार्यकर्ता÷नेताहरू आ–आफ्ना इञ्जत प्रतिष्ठालाई बन्धक्रमा राखेर कतिसम्म बस्न सक्छ ? तर अहिले पनि त्यति बिग्रेको छैन । पार्टीलाई एक ढिक्का बनाइ क्षति भएको कुरालाई पूरा गर्नेतिर सबैको ध्यान जानु जरूरी छ किनभने सबल प्रजातंत्रकालागि सबल पार्टी हुनु नितान्त आवश्यक हुन्छ । पार्टीहरू कमजोर भयो भने प्रजातंत्र कमजोर हुन जान्छ । नेकपा एमाले ढल्दा यसको असर देशको प्रणालीमा समेत पर्न सक्छ । संविधानमाथि पर्न सक्छ । त्यसर्थ पार्टीहरू बलियो हुनु भनेको प्रजातंत्रको जग बलियो हुनु हो । त्यसर्थ नेकपा एमाले कमजोर हुन कसैले देख्न चाहि रहेको छैन । अहिलेको अवस्थालाई पुनः एकचोटी सबै नेता÷कार्यकर्ताहरू मनन गरौं । पार्टीलाई कसरी बलियो बनाउन सकिन्छ । अहिले पनि समय छ । शीर्ष नेताहरू अभद्र शब्दहरू (लालगद्दार तथा जालेमाले) प्रयोग नगरौं । एकतामा बल पु¥याऔं । एकताको लागि केही त्यागै गर्नु परे गरौं । इति श्री ।
लेखक जनसंख्या अध्ययन तथा समाजशास्त्रविद् हुनुहुन्छ ।