अपडेट 
२०७८ श्रावण २५, सोमबार ०७:३९

पछिल्लो समय रौतहटमा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिन थालेपछि प्रशासनले स्वास्थ्य सुरक्षामा कडाई गरेको छ ।

जिल्लामा केही दिनयता दोश्रो लहरको कोरोना कम हुँदै गएको अवस्थामा अहिले एक्कासी तेश्रो लहरको कोरोना संक्रमणको जोखिम बढेपछि रौतहट प्रहरीले सर्वसाधारणलाई निशुल्क मास्क वितरण गर्न थालेको छ । तेश्रो चरणको कोरोना संक्रमण तिब्र गतिमा फैलिरहेको अवस्थामा सर्वसाधरणमा मास्क नलगाउने बानीको विकास हुँदै गएपछि प्रहरीले ‘तपाईको मास्क खै ?’ अभियान सञ्चालन गरी मास्क लगाउन अनुरोध गर्दै निशुल्क मास्क वितरण गर्न थालेको छ । अहिले जिल्लाभरी नै प्रहरीले मास्क नलगाई घर बाहिर निस्कने सर्वसाधरण, सवारी चालक लगायतलाई रोकेर ‘तपाईको मास्क खै?’ भनेर प्रश्न गर्न थालेका छन् । प्रहरीको टोलीले तपाईको मास्क खोइ ?’, ‘मास्क र स्यानिटाइजर प्रयोग गरौँ, कोभिड– १९ बाट बचौँ’ ‘मास्क लगाऔ, कोरोनाबाट बचौँ’ लगायतका प्लेकार्ड र हातमा मास्क बोकेर जिल्लाका शहर बजारदेखी लिएर ग्रामीण क्षेत्रहरुमा समेत पुगेर सर्वसाधरणलाई मास्क लगाउन अनुरोध गर्नुका साथै सचेत गराइरहेको देखिएको छ । यसै क्रममा इलाका प्रहरी कार्यालय गरुडाले पनि आइतवार विहान गरुडामा ‘तपाईको मास्क खै?’ भन्ने अभियान सञ्चालन गरी मास्क नलगाइ बाटोमा हिँडने सर्वसाधारणलाई निशुल्क मास्क वितरण गरेको छ । इलाका प्रहरी कार्यालय गरुडा प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारी सडकमा उभेर मास्क नलगाइ हिडडुल गर्ने सर्वसाधारण तथा विभिन्न सवारी साधनमा समेत मास्क नलगाई बसेकाहरुलाई रोकेर निशुल्क मास्क वितरण गरेका हुन । मास्क वितरण गर्दै प्रहरी नायव उपरीक्षक भण्डारीले आफ्नो र समाजको स्वास्थ्य सुरक्षाको लागि मास्क लगाउन सर्वसाधरणलाई अनुरोध गरेका छन ।

तेश्रो लहरको कोरोना संक्रमण बढदै गरेको अवस्थामा मास्क नलगाइकन नै सर्वसाधारणहरु घर बाहिर हिँडन थालेपछि कोरोना संक्रमणको जोखिम झन बढने र पछि भयावह अवस्था आउन सक्ने भएकोले कोरोनाबाट सुरक्षित राख्न सर्वसाधारणलाई निशुल्क मास्क वितरण गर्ने अभियान सञ्चालन गरिएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए । कोरोना संक्रमणबाट बच्न मास्क सबैभन्दा प्रभावकारी उपाय हो’, उनले भने, ‘हामीले मास्क नलगाउने सर्वसाधरणलाई मास्कको महत्वको बारेमा जानकारी दिदैँ सँधै घर बाहिर निस्कदा मास्क लगाउन अनुरोध गर्दै निःशूल्क मास्क वितरण गरेका छौँ । नागरिकलाई मास्क लगाउन प्रोत्साहन स्वरुप यो अभियन चलाएको बताउँदै डिएसपी भण्डारीले नागरिक आफैले बुझेर मास्क लगाउँदा कोरोना नियन्त्रणमा सहज हुने विश्वास व्यक्त गरेका छन । बढदै गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले ‘तपाईको मास्क खै?’ अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एवं प्रहरी उपरीक्षक सिद्धि बिक्रम शाहले बताए । एक साता यसलाई सचेतना अभियानको रुपमा सञ्चालन गर्ने र त्यसपछि भने अटेरी गरी मास्क नलगाउनेलाई जरिवाना गर्न सुरु गर्ने प्रहरी उपरीक्षक शाहले बताए । यता प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले प्रहरीले सचेतना गराउन सञ्चालन गरेको ‘तपाईको मास्क खै?’ अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् । सबै नागरिकले आफै सचेत भएर मास्क लगाए र स्वास्थ्य मापदण्डको पुर्ण रुपमा पाल्ना गर्न सके कोरोनाको तेस्रो लहरको जोखिमलाई रोकथाम तथा नियन्त्रण गर्न सहज हुने प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

कोरोनाबाट आफुलाई पनि बच्न र अरुलाई पनि बचाउन अनिवार्य रुपमा मास्क लगाउन र स्वास्थ्य मापदण्डको पुर्ण पाल्ना गर्न सिडियो यादवले सम्पुर्ण जिल्लाबासीलाई अनुरोध गरेका हुन । जिल्लामा कोरोना संक्रमणको फैलावटको जोखिम उच्च भएपनि मानिसहरुको भीडभाड, जमघट, राजनीतिक दलको आमसभा, कार्यक्रम, उत्सव, मेलामा भने कुनै कमी आएको छैन् । यसले गर्दा कोरोनाको लहर फेरि फर्कने जोखिम रहेकोप्रति स्वास्थ्यकर्मीले चिन्ता व्यक्त गरेका छन् । रौतटहमा दोस्रो लहरको कोरोना संक्रमणका कारण १ सय १८ जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News