जनकपुरधाम । आरती साहमाथि एसिड प्रहार प्रहार घटनामा जिल्ला अदालत धनुषाले उनकै श्रीमान सञ्जिव साहलाई दोषी ठहर गरेको छ ।
अदालतले एसिड उपलब्ध गराउने व्यापारी नागेन्द्र साहलाई भने सफाई दिइएको छ । एसिड प्रहार गरी अंगभंग र कुरूप बनाएको मुद्दामा सोमबार जिल्ला अदालत धनुषाको इजलास नम्बर–३ का न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले सञ्जिवलाई दोषी ठहर गरेको हो । सञ्जिवले जनकपुरकै निखिल स्टोरबाट एसिड किनेका थिए । उक्त स्टोरका संचालक नागेन्द्र भने उन्मुक्ति पाएका छन् । जनकपुरधाम उपमहानगर ७ स्थित डेरा लिएर बस्दै आएकी थिइन् आरती । उनी सम्बन्ध विच्छेदको मुद्दा दायर गरेपछि आक्रोशित बनेका श्रीमान सञ्जिवले ०७७ कार्तिक २७ मा एसिड प्रहार गरे । आरतीमाथि एसिड प्रहार गर्दा छोरी रियाको हातमा समेत परेको थियो । प्रहरीले घटनाको विहानपल्ट जनकपुरबाटै आरोपी सञ्जिवलाई नियन्त्रणमा लियो । सञ्विले निखिल स्टोरबाट एसिड किनेको बयान दिएका थिए । सोही आधारमा संचालक नागेन्द्रलाई समेत प्रहरीले तत्कालै पक्राउ गरेको थियो । आरती काठमाडौंमा उपचाररत रहेकै बेला ०७७ मंसिर २४ मा जिल्ला सरकारी वकिलको कार्यालय धनुषाले आरतीमाथि एसिड प्रहार गरेको आरोपमा पक्राउ परेका उनकै श्रीमान् सबैला नगरपालिका ६ का संजिव र एसिड बेच्ने नागेन्द्रलाई समेत १५ वर्ष ६ महिना कैद र कानुन बमोजिम उपचार खर्च उपलब्ध गराउनुपर्ने माग दावी जिल्ला अदातलतमा गरेको थियो ।
तर नागेन्द्र अदालतबाट सफाइ पाएपछि धेरैलाई आश्चर्य लागेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्र बस्नेतका अनुसार नागेन्द्र यसअघि नै २ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । एसिड प्रहारबाट आरतीको १५ प्रतिशत भाग जलेको थियो । उनको दाहिने आँखा समेत गुमेको छ । उनलाई उपचारमा विभिन्न संघ संस्थाले सहयोग गरेपनि आमा बुवाले करिब ३ लाख बढी ऋढा काढेर तिरेका छन् । आर्थिक समस्याका कारण उनी जनकपुरमै तरकारी बेच्दै आएकी छन् ।


