राजविराज । किर्ते दस्तखत गरि बैंकबाट रकम झिकेको भन्दै कोषाध्यक्षले अध्यक्ष विरुद्ध प्रहरीमा उजुरी दिएकी छन् ।
सप्तरीको महदेवा गाउँपालिका ५ की भुवनेश्वरी देवी मण्डलले स्थानीय बिरेन्द्र कुमार मण्डलले आफ्नो किर्ते दस्तखत गरि बैंकबाट रकम झिकेको भन्दै छानबिन र कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दिएकी हुन् । भुवनेश्वरी गाउँमै निर्माणाधिन राम जानकी मन्दिरको उपभोक्ता समितिका कोषाध्यक्ष हुन् भने बिरेन्द्र अध्यक्ष हुन् । जिल्ला प्रशासन कार्यालय सप्तरीमा सोमबार उनले दर्ता गराएको उजुरीमा गाउँपालिकाबाट प्राप्त बजेटले निर्माण भइरहेको राम जानकी मन्दिरका लागि प्राप्त रकम हनुमाननगर कंकालिनी नगरपालिकास्थित राष्ट्रिय बाणिज्य बैंकमा राखिएकोमा आफूलाई थाहै नदिई अध्यक्ष मण्डलले किर्ते दस्तखत गरि २ लाख २७ हजार रुपैयाँ झिकेको उल्लेख गरेकी छिन् । अध्यक्ष र कोषाध्यक्षको नाममा संयुक्त खाता खोलिएको छ । खाता नं. २२२७ बाट किर्ते दस्तखत गरि अध्यक्षले २ लाख २७ हजार झिकेको उनले आरोप लगाएकी छिन् । उनले उजुरी मार्फत घटनाको सत्यतथ्य छानबिन र दोषिमाथि कारवाहीको माग गरेकी छिन् । जिल्ला प्रशासन कार्यालयले तत्कालै सो उजुरी बारे आवश्यक अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको छ । उजुरी उपर छानबिन सुरु गरिएको प्रहरीले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलखन यादवले उपभोक्ता समितिका कोषाध्यक्ष मण्डलद्वारा गाउँपालिकाको न्यायिक समितिमा समेत उजुरी परेको र सो बारे गाउँपालिका स्तरबाट पनि छानबिन सुरु गरिएको जानकारी दिए । यता उपभोक्ता समितिका अध्यक्ष बिरेन्द्र मण्डलले सो आरोप निराधार रहेको बताएका छन् । उनले कोषाध्यक्षको सहमतिमै बैंकबाट रकम झिकिएको र चेकमा कोषाध्यक्ष भुवनेश्वरी मण्डलले नै हस्ताक्षर गरेको दाबी गरेका छन् । स्थानिय बुद्धिजिविहरुले उक्त घटना बारे सत्यतथ्य छानबिन गरि दोषिमाथी कडा कारवाहीको माग गरेका छन् ।


