अपडेट 
२०७८ श्रावण २६, मंगलवार ०७:११

आज मिडियामा हाम्रो सामाजिकतासंग जोडिएको दुईटा खबर पढेँ । एउटा सप्तरी र अर्को धनुषाको घटना रहेछ । सप्तरीमा एउटी दलित युवतीले मैथिल बाहुन युवकसंग प्रेम विवाह गरिन् । केही महिनापछि युवकले उनलाई लजमा राखेर भागेपछि ती युवती माईतमा आएर बसिन् र केही दिनपछि आत्महत्या गरिन् । अर्को धनुषाको घटनामा मण्डल थरकी एउटी किशोरीले जातकै केटासंग प्रेम गरिन् । किशोरी गर्भवती भएपछि प्रेमी युवक फरार भयो । किशोरीले गर्भ फालिनन्, माईतमै बच्चा जन्माइन र अहिले बच्चाको पितृत्वको निम्ती सामाजिक र कानूनीरुपमा संघर्ष गरिरहेकी छिन् । यी दुईवटै घटनाहरु नयाँ होइनन् । हाम्रो समाजमा यस्ता घटनाहरु निरन्तर भईरहेका छन् । नयाँ भनेको ती कुमारी किशोरीले सन्तान जन्माउने निर्णय र पितृत्वको निम्ती संघर्ष गर्ने साहस हो ।

उनको निर्णयको प्रशंसा र सम्मान गर्नुपर्छ, र सचेत पुस्ता, मानवाधिकारवादी तथा सामाजिकरुपान्तरणको पक्षमा सक्रिय समुदायले उनलाई सहयोग गर्नुपर्छ । यस्ता वास्तविक कथा र पात्रहरु बारे अनेकौँ लोकगाथाहरु, काव्य र महाकाव्यहरु, कथा, उपन्यास र चलचित्रहरु हामीले सुन्ने, पढने र हेर्ने गरेका छौँ । तपाँईलाई बाबू–आमाको पत्तो नभएकी खेतमा भेटिएकी बाल्मिकिकी सीता, प्रेमको चिनो औँठी हराएर प्रेमी राजा दुष्यन्तले नचिनेर विचल्ली भएकी कालीदासको शकुन्तला, लोकनायक दुसाध राजा सल्हेसकी प्रेमिका दौना मालिन, जस्ता अनेकौँ लोकगाथा र महाकाव्यकी नायिकाहरुको स्मरण निश्चय नै हुनुपर्छ । हामी मानवीय सम्वेदनाले ओतप्रोत यस्ती नायिकाहरुको कथा सुनेर पटक– पटक उनिहरुको दुःखमा दुखी हुने र खुशीमा हर्षित हुने गछौँ । आफ्नो मात्रै होइन, अरुको समेत दुःख र सुखको प्रसङ्ग देखेर–सुनेर दुःखी र खुशी हुनू मानवीय स्वाभाव नै हो । ती कथाहरुमा विजातिय प्रेम वा विवाह भएपनि हाम्रो विवेकले मानवीयताको आधारमा नै निर्णय गर्दो रहेछ । तर विचित्र छ नि ! जब यस्तै घटना हाम्रो आफ्नै घरमा हुन्छ, हामी यसबाट बच्न चाहन्छौँ । यो हामीभित्रको चेतनाको द्वन्द्व हो । आधुनिक चेतनाले, सम्विधानले, शिक्षाले समाजको जातिय संरचनालाई कामनलाग्ने र जातिय भेदभाव र उत्पीडनलाई लज्जास्पद र अपराधको श्रेणीमा घोषित गरीसकेको छ । हामी आफै सार्वजनिकरुपमा जातियता र जातिय भेदभावको आलोचना गर्छौँ । तर आफ्नो परिवारमा कसैले अन्तर्जातिय विवाह र प्रेम ग¥यो भने प्रतिष्ठा गए जस्तै ठान्छौँ । कयौँ पटक त जातिय प्रतिष्ठाको निम्ती अन्तर्जातिय विवाह गर्ने आफ्नै सन्तानहरुको निर्मम हत्या गरेको घटना समेत सुनिएको र देखिएको छ । यस्तो किन हुन्छ ? यस्को कारण हाम्रो सामाजिक चेतनामा घर गरी बसेको मध्यकालीन चिन्तन र यसमा आधारित रितिरिवाजहरु छन् ।

यी रितिरिवाज अथवा चलनहरुले हाम्रो सामाजिक प्रतिष्ठाको भ्रमपूर्ण आधार खडा गर्ने गर्छ । सबैभन्दा पहिला त हाम्रो मध्यकालीन चेतनाले स्वतन्त्र प्रेमलाई नै अपराध ठान्छ । हाम्रो सामाजिक चलनमा विवाहको एउटा मात्र विधि मान्य छ — बाबू–आमाले खोजेर बिहा गरिदिएमा सामाजिक प्रतिष्ठा बढछ । सान्दर्भिकता गुमाईसकेको पुरातन धार्मिक चिन्तनले विवाहलाई धर्मविहित पुण्यको कर्म भनेको छ । यस जड चिन्तनले धर्मनिर्देशित विधिबाट सन्तानको विवाह गर्ने आमा–बाबू पुण्यको भागी हुने र स्वर्ग प्राप्ति हुने भ्रमपूर्ण मानसिकतापनि निर्माण गर्छ । अझ ब्राह्मणले पढेको मन्त्रसंगै छोरीको हात समाएर दुल्हा ज्वाँईको हातमा दिएर कन्यादान गर्नु त झन् पुण्यको काम हो । यस्को निम्ती बाबू–आमा मात्रै होइन, दुल्हीकी मामा–मामी(माइज्यू) र फुफा–फुफी सबै लालायित हुने गर्छन् । पुण्यपनि हुने, प्रतिष्ठापनि बढने ! यो चेतना कतिसम्म जड र प्रभावकारी छ भने, यस पुण्य र प्रतिष्ठाको भ्रममा बडे बडे बिद्वान, बौद्धिक र आफूलाई आमूलपरिवर्तनकारी तथा प्रगतिवादी भन्ने तथाकथित राजनैतिक र सामाजिक नेता–कार्यकर्ताहरुपनि छन् । यस्तो विवाहमा आफन्त र समाजलाईपनि आमन्त्रित गरिन्छ र भोज–भतेर गरेर आमा–बुबाले प्रतिष्ठाको नाकपनि फुलाउने गर्छन् । यो प्रतिष्ठाको नाकभने गच्छे अनुसारको हुनगर्छ । धनी छ भने प्रतिष्ठाको नाक धनि जस्तै फुल्छ र गरीब छ भने प्रतिष्ठाको नाक गरिब जस्तै फुल्छ । तर प्रतिष्ठाको नाक भने गरीब र धनी दुबैको हुने गर्छ । तात्पर्य के भने हाम्रो धार्मिक चलनमा विवाह युवा–युवतीको विवेकपूर्ण निर्णय होइन, उनिहरुको अभिभावकको दायित्व हो । तर मानिसको जैविक आवश्यकता, आकर्षण र परिवेश भने सामाजिक चिन्तनभन्दा भिन्न छ । यस्ले पुरानो चिन्तनको विरुद्ध नयाँ खालको द्वन्द्व सिर्जना गर्छ ।

जस्तै विगतमा विविध जातिहरुका अलग अलग टोलहरु, गाउँहरु, र पेशाहरु हुने गर्थे । यसकारण फरक जातिहरुको बीचमा सम्पर्कका अवसरहरु ज्यादै न्यून थिए ।त्यसैले जातिय विवाहको सम्भावनाहरु अत्यधिक थियो । तर अहिलेको समाजमा अवसर र आवश्यकता दुबैले गर्दा साहचर्यको स्तरमा जातिय दूरी घटदै गैरहेको छ ।जातिगत आधारमा मिश्रित बसोबासहरु विकसित भैरहेका छन् । प्रेमकथाले भरिएका सिनेमा र टेलीसिरियलहरु, प्रेमका आधुनिक कथा र विचारहरु युवा पुस्ताको मनोविज्ञानमा भर्नमा सूचना सञ्चार तथा सामाजिक सञ्जालले बल पु¥याएको छ । सहशिक्षाका कारण एउटै स्कूल र कलेज तथा काम गर्ने उद्योग धन्धा तथा खेत खलिहानहरुले विविध समुदाय र सँस्कृतिका मानिसहरुलाई समेत नजिक्याएको छ । यस बिचमा युवा–युवती र किशोर– किशोरीमा उमेरको आकर्षण बढनु स्वाभाविक हो । तर हाम्रो मध्यकालीन चेतनाले आमा–बुबाको आदेश बिनाको प्रेमलाई त अपराध र अनुचित घोषणा गरेको छ । एकातिर उमेरगत जैविक परिवर्तनले आवश्यक झैँ लाग्ने भावनात्मक आकर्षण छ, अर्कोतिर बन्देज छ । के गर्ने ? यसैकारण अवरोधबाट बच्न युवा–युवतीको बीचको प्रेम गोप्य हुनेगर्छ । उमेर पुगेर गरिएका विवेकपूर्ण प्रेमहरु त प्रायः सफल हुने गर्छन् । तर सही र गलत छुट्याउन नसक्ने र भावनात्मक जोश बढी भएको किशोर–किशोरीहरु जो एकातिर जैविक आकर्षणको कारण प्रेममा विक्षिप्त हुन्छन् र अर्कोतिर उनको चेतनाको स्तर पुरानै मध्यकालीन विचारहरुलाइनै ठिक ठानिरहेको हुन्छ , उनिहरुले अभिभावकको सामाजिक प्रतिष्ठालाई सम्झेर प्रेमिका वा प्रेमीलाई धोका दिने गर्छन् । र त्यसपछि हत्या, आत्महत्या, आदि अमानवीय घटनाहरु हुने गर्छ । को हो यस्को दोषी ? वस्तुतः यौन र प्रेमबारे हाम्रो समाज अहिलेपनि संकीर्ण नै छ ।

यौन र प्रेमबारे आफ्ना सन्तानसंग हामीले खुला बहस गरेको भए, उनिहरुले उचित– अनुचित थाहा पाउँथे । उनिहरुले थाहा पाउँथे कि प्रेम र विवाह वयस्क उमेरमा स्वतन्त्र विवेकको आधारमा गरिने कार्य हो । प्रेममाथी सामाजिक बन्देजकै कारण किशोर उमेरमा जैविक आकर्षणको वशीभूत भएर अनमेल उमेर, जीवनस्तर र चेतनाको बीचपनि भावनात्मक प्रेम हुनेगर्छ, जो पछि असमझदारी उत्पन्न भएर असफल हुने वा दुःखद परिणामसम्म पुग्ने गर्छ । माथी उल्लेखित सप्तरी र धनुषाको दुःखदायी उदाहरणहरु यस्तै अविवेकी प्रेमका परिणाम हुन् । तर यस्को निम्ती उनिहरु दोषी होइनन् । प्रत्यक्षरुपमा सप्तरीकी ती किशोरीलाई बाध्य पार्ने बाहुन युवक र धनुषाका ती मण्डल थरका युवकलाई पक्रेर मुद्दा चलाइएला, कानूनी र सामाजिकरुपमा दण्डित गरिएला । यिनीहरुलाई दण्डित गरिनुपनि पर्छ, किनभने यिनीहरुले कानूनी र सामाजिकरुपमा अमानवीय अपराध गरेका छन् । तर यस्को दोष त हाम्रो सामाजिक संरचना र यसका अगुआहरुमा पनि छ, जस्ले जातियव्यवस्था कायम राख्न सामाजिक अपमान र जातिबाट बहिष्कृत गर्नेसम्मको कूकार्य पनि गर्नेगर्छन् ।यहाँ के बिर्सनु हुँदैन भने जातिय संस्तरण नै जातिय भेदभावको मूलकारण हो, जस्ले फलाना जाति उच्च र फलाना जाति नीच भन्ने भाव संचरण गर्छ । जातिहरु बीच छूत र अछूतको अमानवीय चेतना र व्यवहार निर्माण गर्छ । कानूनले यस्तो कार्यलाई अपराध भनेको छ । तर समाजमा यो स्वाभाविक मानिन्छ । त्यसकारण सामाजिक चेतनामा परिवर्तन न आएसम्म जातिय भेदभाव, उत्पीडन र जातिय बहिष्कारका अनैतिक घटनाहरु रोकिँदैनन् । रोक्न त स्त्री र पुरुषबीचको प्रेम र अन्तर्जातिय र अन्तधार्मिक विवाहपनि रोकिँदैन । जातिय बन्धनहरुको निर्माण भएकै बेलादेखी नै स्वतन्त्र प्रेमका उदाहरणहरु हामीले पौराणिक ग्रन्थहरुमापाउँछौँ ।

समीक्षा गर्ने हो भने हाम्रा वर्तमानको विवाह परम्परा प्राचीनकालभन्दा भन्दापनि प्रतिगामी छ । पौराणिककालका ग्रन्थहरुमा वयस्कउमेरको स्वतन्त्र प्रेम, विवाहबारे युवा र युवतीको स्वतन्त्र निर्णय र यस्मा आमा–बुबाको सहयोगी भूमिका प्रचलनमा पाइन्छ । तपाँई सीतालाई नै उदाहरणमा लिनसक्नु हुन्छ । सीताको स्वयम्बर भएको थियो, उनले आफ्नो जीवन साथी आफैले चयन गरेकी थिइन । पिता जनक र आमा सुनयनाले उनको निर्णयमा सहयोगी भूमिकामात्र खेले । अझ भनौँ भने स्वयम्बरपूर्व सीता र रामको पुष्पबाटिकामा प्रेम प्रसङ्गको वर्णनपनि बाल्मिकि र तुलसीले गरेका छन् । प्रेम मानवीय हो, यस्लाई रोक्न सकिँदैन । रोकियो भने अनेक अमानवीयता र सामाजिक विकृति उत्पन्न हुने गर्छ । माथी उल्लेखित सप्तरी र धनुषाका घटनाहरु प्रतिनिधि घटनाहरु मात्रै हुन, होइन भने यस्ता घटनाहरु प्रायः हरेक दिन हुने गर्छ । त्यसैले हामीले बन्द समाजमा बर्जनामा राखेका विषयहरुलाई व्यापक खुला बहसमा ल्याउनु पर्छ । खासगरेर युवा र सचेत पुस्ता यस्मा अगाडी आउनु पर्छ । हाम्रो पुरातन समाजले रोक लगाएपनि विविध आधुनिक विषय र रेडियो, टीभी, सूचना सञ्चार र सामाजिकसञ्जाल जस्ता विद्युतीय साधनहरुले हाम्रो किशोर र युवा पुस्तासम्म पु¥याई रहेका छन् । अर्कोतर्फ हामी छौँ, जो हाम्रा सन्तानसम्म पुगेका विषय–वस्तुहरु बारे रितिरिवाज र प्रतिष्ठाको नाममा मौन बसेका छौँ । यस्ले हाम्रो किशोर पुस्तामा एउटा अन्यौल सिर्जना हुनू स्वाभाविक नै हो । उनिहरुले ठीक–बेठीक छुट्याउन सक्दैनन् र गलत निर्णय गरेर जीवनमा पछुताउनु पर्ने हुन्छ । सन्तानलाई शिक्षितमात्र होइन, विवेकशीलपनि बनाउँ ।

त्यसैले समाजको बन्देज तोडौँ र मानवीय, विवेकपुर्ण स्वतन्त्र चेतनाले लैस समाज निर्माणको दिशामा अघि बढौँ । मोह न गरौँ, नयाँ निर्माणको क्रममा पोसिएका पुराना, जर्जर र वर्तमानमा असान्दर्भिक चेतना र संस्कारहरु भत्किन्छन भने भत्किन दिउँ ! होइन भने हाम्रो समाजमा प्रेममा धोका खाएर हाम्री छोरीहरु आत्महत्या गरिरहन्छिन र कुमारी आमाहरु पहिचान र स्वीकृतिको निम्ती हाम्रो जड सामाजिकता तथा चेतनामा पटक–पटक घन बजारी रहन्छिन् । अस्तु !

Comment


Related News

Latest News

Trending News