लालबन्दी । राष्ट्रिय परिचय पत्रका लागि सर्लाहीको ईश्वरपुर नगरपालिकामा विवरण संकलन मंगलबार(आज)देखि सुरु गरिने भएको छ ।
त्यसका लागि सोमबार बयलवासस्थित नगरपालिकाको सभा हलमा जनप्रतिनिधि, वडा सचिव र शिक्षकहरुलाई अभिमुखिकरण प्रदान गरिएको नगरप्रमुख मनोज कुमार देवकोटाले जानकारी दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले सहभागीहरुलाई राष्ट्रिय परिचय पत्रकाबारेमा प्रष्ट पारेका थिए । प्रजिअ महतोले सहभागीहरुले राखेको जिज्ञाशाहरुको समेत समाधान गरेका थिए । अभियान अन्तर्गत मंगलबार पहिलो दिन वडा नं. ५ बाट विवरण संकलनको काम सुरु गरिने नगरप्रमुख देवकोटाले बताएका छन् । उनका अनुसार क्रमैसँगै अन्य वडाहरुमा कर्मचारी परिचालन गरेर विवरण संकलनको काम अघि बढाइने छ । सरकारले नागरिकता लिइसकेका नागरिकलाई नागरिकता विस्थापित गर्दै राष्ट्रिय परिचय पत्र वितरण गर्ने गरी यो अभियान अघि बढाएको हो । अहिले लालबन्दी नगरपालिकाका केही वडामा विवरण संकलनको काम भइरहेको छ । साउन १ गतेबाट अभियान सुरु गरिएको लालबन्दीमा हालसम्म ७५ प्रतिसत व्यक्तिको राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन भइसकेको र लालबन्दीमा रहेको टोलीलाई अब ईश्वरपुरतर्फ खटाइने प्रमुख जिल्ला अधिकारी महतोले जानकारी दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी महतोकै अध्यक्षता तथा नगरप्रमुख देवकोटाको प्रमुख आतिथ्यतामा आयोजित अभिमुखीकरण कार्यक्रममा उपप्रमुख एकावती देवी चौधरी, सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख दीलिप सिंह, जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव प्रसाद बुढाथोकी, ईलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक जनक ढुंगाना, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सचिव, अन्य कर्मचारी, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।


