रौतहटको राजदेवी नगरपालिका वडा नम्बर १ पथरा टोलमा प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्तर्गत निर्माण भैरहेको डोम समुदायको घर अहिले सम्म निर्माण हुन् सकेको छैन ।
असार मसान्त सम्ममा निर्माण कार्य सक्नु पर्ने उक्त योजनाको कार्य अलपत्र अवस्थामा परेकोले दलित समुदायका व्यक्ति थप पीडामा परेको हो । प्रदेश सरकारले दलित समुदायका डोम, मुसहर जातिका परिवारलाई घर बनाउने उदेश्यले ल्याएको योजना रौतहटमा ओझेलमा परेको छ । राजदेवी नगरपालिका १ मा बसोवास गर्ने ७ जना परिवारको घर समयमा निर्माण नहुदा झुपडीमा बसेर गुजारा गर्नु पर्ने बाध्यात्मक अवस्था सृजना गरिएको पीडा घरवार विहीन बनाईएका परिवारहरुको छ । जनता समाजवादी पार्टी नेपालका प्रदेश सांसद बाबुलाल साह कानु अध्यक्ष भएको जनता आवासको कार्यक्रम जिल्लामा पूर्णता पाउन सकेको छैन । गएको फागुन महिनामा भएको फुसको घर भत्काई नयाँ घर निर्माणको कार्य संचालन गरेका भएपनि घर निर्माण हुन् सकेको छैन् । घर निर्माण नहुँदा पारिवारिक समस्या उत्पन्न भएको गुनासो स्थानीय इन्दु देवी मलीले गरेकी छिन । घरको कार्य अधुरो भएकोले सानो झुपडीमा बस्नु परेको पिडा पोख्दै वर्षाको समयमा पानिमा बस्नु परेको दुखेसो पोखे । सानो सानो छोरा छोरी लिएर झुपडीमा सुत्ने गरे पनि घर निर्माणको जिम्मा लिएका व्यक्तिले कुनै चासो नदेखाएको आरोप उनको रहेको छ ।
भएको घर पनि तोडियो र न्या घर पनि निर्माण गरिएन उनले भने घर नभएकोले खाने कुरा लगायतका खाद्यान्न सामग्री ,लता कपडा वर्षको पानिले छती ग्रस्त हुने गरेको पिडा उनीहरुको रहेको छ । गणेश मली , कुश्मी मली , उपेन्द्र मली , रनसिंग मलि , छविला मलि , जगदीश मलि , महावीर मलिको घर अधुरो रहेको छ । राजनीतिक हिसावले घर निर्माणको जिम्मा दिइएकोले घर निर्माणको कार्य अलपत्र अवस्थामा परेको स्थानीयहरुको टिप्पणी रहेको छ । २२ फिटमा २ वटा कोठा निर्माण गर्न ३ लाख ६० हजार रुपैया बजेट छुट्याइएको बुझिएको छ । गरिव , अशिक्षाको मारमा रहेका डुम परिवारलाई जनता आवास योजनाले थप पिडा दिइएको टिप्पणी विरेन्द्र मलिले गरेका छन् । ६ महिना देखि अलपत्र अवस्थामा निर्माण कार्य छोडिएको देखिएको छ । राजदेवी नगरपालिका वडा नम्बर ७ मा पनि गीता देवी मलिको घर अलपत्र अवस्थामा छोडिएको छ । घर निर्माणको कार्यमा प्रदेश सरकारको लगानी सार्थक देखिएको छैन । प्रत्येक स्थानीय तहमा शुरु गरिएको जनता आवास कार्यक्रममा रकमको व्यापक अनियमितता भएको आशंका गरिएको छ ।


