२०७८ श्रावण २७, बुधबार ०७:१५

जनकपुरधाम । जनकपुरकी आरती साहलाई श्रीमानले एसिड प्रहार गरेको घटनामा एसिड बिक्रेतालाई सफाइ दिएको धनुषा जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकीलको कार्यालयले पुनरावेदन गर्ने भएको छ ।

सोमबार जिल्ला अदालत धनुषाले आफ्नी श्रीमती आरतीमाथि एसिड प्रहार गर्ने जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाका सञ्जीव साहलाई दोषी ठहर गरे पनि बिना लाइसेन्स एसिड बेच्ने बिक्रेता नागेन्द्र साहलाई सफाइ दिने फैसला सुनाएको थियो । मुख्य जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले जिल्ला अदालतको यस फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गरिने बताए । उनले सफाइ पाएकाको हकमा फैसला तयार भएर आएलगत्तै पुनरावेदन गरिने जनाए । मुख्य न्यायाधिवक्ता अर्यालले भने, ‘अहिलेको कसुर निर्धारण तथा सजाय ऐन २०७४ का अनुसार तीन वर्षभन्दा बढी कैद हुने मुद्दामा पहिला कसुर ठहर गर्नुपर्छ । त्यसपछि सजाय निर्धारण गर्नुपर्ने भएकाले यो फैसला आएको हो ।’ उनले दोषी ठहर भएकाको हकमा आफूहरूको दाबी १५ वर्ष छ महिना कैद नै हुनुपर्छ भन्ने रहेको जानकारी दिए । यता एसिड बेच्नेलाई सफाइ दिएको फैसलाप्रति आपत्ति जनाउन अदालत पुगेकी आरतीलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।

गत कात्तिक २९ गते दीपावलीको दिन जनकपुरधाम उपमहानगरपालिका–७ स्थित ससुरालीमा गएर सञ्जीवले श्रीमती आरती र छोरी रियामाथि एसिड प्रहार गरेका थिए ।रासस

Comment

Related News

Latest News

Trending News