राजविराज । सिप र सूचना नलिई एजेन्टको प्रलोभनमा परि बैदेशिक रोजगारीमा गएका कारण यहाका धेरै युवाहरु ठगिने र विदेशी भूमिमा अलपत्र पर्ने गरेका छन् ।
पछिल्लो पटक यस्तै प्रलोभन र ठगिको सिकारमा परेका तीन जना यूवाहरु विगत एक वर्षदेखि न्याय खोज्दै भौतारिएका छन् । एजेन्टले भने अनुसारको काम नपाइएपछि एक महिनासम्म दुबईमा अलपत्र परेर जसोतसो घर फर्किएका राजविराजका संजय दास, धिरेन्द्र कुमार दास र विष्णुपुर गाउँपालिकाका बेदानन्द यादव विगत एक वर्षदेखी दिनहुँ न्यायका लागि प्रहरी र संचारकर्मी गुहार्दै हिडेका छन् । उनीहरुलाई आकर्षक तलब र रोजगारी दिलाउने प्रलोभन देखाई लाखौं रकम ठगि गर्ने र आफूलाई एक म्यानपावर कम्पनीको एजेन्ट बताउने सप्तरीको रुपनी गाउँपालिका २ बस्ने अशोक कुमार यादव भने फरार छन् । पीडित मध्येका संजय दासले दुबईको नुन फुड कम्पनीमा आकर्षक तलबसहित प्याकिङको काम लगाइदिन्छु भन्दै अशोकले उनीबाट २ लाख ४३ हजार ६ सय रुपैयाँ लिएको सुनाए । यस्तै बेदानन्दबाट २ लाख ४२ हजार ३ सय र धिरेन्द्रसँग १ लाख ८६ हजार रुपैया लिएको पीडितहरुको भनाई छ । तर, दुबई पुगेपछि एजेन्टले भने अनुसारको काम नपाइएको र एक महिनासम्म आफूहरु अलपत्र र कष्टकर जीवन बिताएर जसोतसो घर फर्किएको पीडित बेदानन्दले सुनाए । २०७५ पुस २५ गते आफूहरु फर्किएपछि सिधै जिल्ला प्रहरी कार्यालयमा पुगि ठगि गर्ने एजेन्ट अशोक बिरुद्ध उजुरी दिँदा उनलाई प्रहरीले पक्राउ गरी एक दिन हिरासतमा राखेको पिडीत दासले सुनाए ।
हिरासतमा रहेका बेला अशोकले प्रहरी समक्ष पिडीतहरुले भने अनुसारको रकम लिएको स्विकार्दै एक महिना भित्र रकम फिर्ता गर्ने कागज समेत गरेका थिए । शर्त र कागज गरिदिएपछि थुनामुक्त भएका अशोक हाल फरार भएको पीडितको गुनासो छ । “एक महिनाको समय लिएर हिर ासतबाट छुटेका अशोक एक वर्ष नाघि सक्दा पनि कबोल गरेको रकम मध्ये एक रुपैयाँ पनि दिएका छैनन, पीडित वेदानन्दले भने“प्रहरीमा जाँदा उनको खोज तलास भईरहेको जवाफ बाहेक केही पाउन सकिएको छैन । ”पीडित दासले सो बारे जिल्ला प्रशासन कार्यालय स्थित सुरक्षित आप्रवाशन सुचना केन्द्रमा समेत लिखित जानकारी गराएको र त्याहाँबाट पनि आवश्यक पहल जारी रहेको जवाफ मात्र आउने गरेको सुनाए । यसबारे इलाका प्रहरी रुपनीमा सम्पर्क गर्दा सई अवधेश चौवेले जिल्लाबाट निज अशोक यादवलाई पक्रिन पक्राउ पुर्जी समेत जारी भइसकेको र उनको खोज तलास तिब्र बनाइएको बताए । “रुपनी २ स्थित अशोकको निवासमा निगरानी बढाईनुका साथै शंकास्पद सबै स्थानमा खोज तलास शूरु गरिएको छ, उनले भने “छिट्टै पक्राउ गर्छौ ।”


