२०७८ श्रावण २७, बुधबार ०७:३६

जनकपुरधाम । वनको जग्गा अतिक्रमण विरुद्ध चुरे तथा वन जंगल संरक्षण अभियानले आमरण अनसन बस्ने घोषणा गरेको छ ।

अभियानका धनुषा संयोजक अमन यादव, महोत्तरी संयोजक सविता यादव र केन्द्रिय सह–संयोजक रानी रायले जनकपुरस्थित जनक चोकमा मंगलवार पत्रकार सम्मेलन गरी आमरण अनसन बस्ने घोषणा गरेका हुन् । सिरहाको चोहर्वास्थित मारुती सिमेन्ट उद्योगले वनको कैयौं करोडको जग्गा अतिक्रमण गरेको छ । उक्त जग्गा फिर्ता ल्याउन प्रदेश सरकारले चासो नदेखाएकाले आमरण अनसन बस्ने अभियानका धनुषा संयोजक यादवले बताए । उनले भने, ‘बुधवारसम्मको समय दिएका छौं । यदि सरकारले माग पुरा नगरे बिहीवारदेखि आमरण अनसन बस्छौं ।’ मारुती सिमेन्टले वनको जग्गा अतिक्रमण गरेको भन्दै चोहर्वास्थित राजमार्गमा पटक पटक आन्दोलन भएको छ । आन्दोलन भइरहेका बेला त्यहाँ पुगेर मुख्यमन्त्री लालबाबु राउतले जग्गा फिर्ता ल्याउने प्रतिवद्धता समेत जनाएका थिए । तर अहिले कानमा तेल हालेर सुतेका छन् । मुख्यमन्त्री राउत चुप लागेपछि अभियानीहरुले रकमको ठूलो चलखेल भएको आरोप लगाएका छन् । मारुती सिमेन्ट हाताभित्र वन बुटेको जग्गा प्रकरा सम्बन्धमा डेढ वर्ष अगाडी जिल्ला प्रशासन कार्यालय सिरहाले डिभिजन वन कार्यालय सिरहाका प्रमुख सुभाष दासको संयोजकत्वमा समिति समेत बनाएको थियो ।

तर उक्त समितिले अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरेका छैन । प्रतिवेदन सार्वजनिक नगर्नुमा पनि सेटिङ रहेकाले त्यस विषयमा पनि छानविन हुनुपर्ने अभियानको माग छ । अभियानीहरुले साउन १ गते वन कार्यालय लहान, सिरहामा अनसन बसेका थिए । वन कार्यालयले बृक्षारोपनका लागि विरुवा खरिदमा व्यापक भ्रष्टाचार गरेको भन्दै छानविन हुनुपर्ने उनीहरुको माग थियो । तर वन प्रमुख सुभाष दासले प्रहरी बोलाएर दमन गर्न लगाउँदा झडप भयो । त्यसपछि तीनजना अभियानीमाथि वनले मुद्दा चलायो । अभियानका धनुषा संयोजक यादव भन्छन्, ‘भ्रष्टाचार लुकाउन चुरे अभियानीहरुमाथि झुठो मुद्दा लगाएर फसाइएको छ । उनीहरुको मुद्दा खारेज गर्नुपर्ने पनि हाम्रो माग छ ।’ वन कार्यालयले आर्थिक वर्ष २०७६÷०७७ र २०७७÷०७८ मा गरेको कार्यहरुमाथि पनि छानविन गर्नुपर्ने उनको माग छ । मारुती सिमेन्ट उद्योगले करोडौंको वनको जग्गा अतिक्रमण गरेपनि सम्बन्धित निकाय चुप छन् ।

Comment


Related News