लालबन्दी । सर्लाहीको हरिवन नगरपालिकामा आयोजित ३ दिने बाल अधिकार सम्बन्धि तालिम बुधबार सम्पन्न भएको छ ।
पालिका स्तरीय बाल अधिकार समितिका सदस्य, जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि आयोजित ३ दिने बाल अधिकार सम्बन्धी तालिम बुधबार सीता प्यालेस होटल नयाँरोडमा सम्पन्न भएको हो । बागमती सेवा समाज नेपालद्वारा आयोजित उक्त कार्यक्रमको समापन शत्रमा बोल्दै पर्सा गाउँपालिकाका अध्यक्ष किसुनदेव रायले तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गर्ने बताएका छन् । यसैगरी हरिपूर्वा नगरपालिका वडा नं. ५ का अध्यक्ष विजय यादवले बालबालिकाको संरक्षणका लागि सबैले एकजुट भएर काम गर्नुपर्ने बताए । बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले संस्थाले बालबालिकाको संरक्षणका लागि प्रयास गरेको र यसमा स्थानीय तह, जनप्रतिनिधिहरुले अपनत्व महसुस गरी सहयोग गर्नुपर्ने बताएका छन् । वल्र्डभिजन इन्टरनेसनलको सहयोग तथा राष्ट्रिय बाल अधिकार परिषद्सँगको समन्वयमा बागमती सेवा समाज नेपालद्वारा आयोजना गरिएको तालिममा बाल अधिकारको संस्थागत विकास र प्रणाली सबलीकरण, बाल संरक्षणका बारेमा छलफल गरिएको संस्थाका परियोजना संयोजक कुमार भण्डारीले जानकारी दिएका छन् ।
हरिवनको नयाँरोड स्थित सिता प्यालेस होटलमा तीन दिनसम्म चलेको तालिमको सहजीकरण राष्ट्रिय बाल अधिकार परिषद्का प्रदेश नं. २ का समन्वय अधिकृत संजिव महतोले गरेका थिए । तालिममा हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, बालअधिकार समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।


