२०७८ श्रावण २९, शुक्रबार ०८:१०

लहान । श्रीमान र सासुको कुटपिट गर्नेमाथि कारबाहीका लागि अर्नमा गाउँपालिका २ की सुकनीदेवी महतो प्रहरी कार्यालय धाउँदा धाउँदै हैरान बनेकी छन् ।

बिहीवार चर्को घाममा जिल्ला प्रहरी कार्यालय पुगेकी उनी भित्र समेत पस्न पाइनन् । कार्यालयमा सेन्ट्री बसेका प्रहरीले उनलाई फर्काइदिए । उनी उजुरी बोकेर घटनाका आरोपीहरुमाथि किटानी जाहेरी दर्ता लिएर पुगेकी थिइन् । तर प्रहरीले कार्यालय समेत पस्न नदिएपछि उनी निराश भएर फर्किन् । उनी भन्छिन्, ‘प्रहरी कार्यालय धाउँदा धाउँदै हैरान छु । तर प्रहरीले अपराधीहरुमाथि उजुरी दर्ता गर्न मानेका छैनन् । अपराधीहरु गाउँमा पनि मिल्न चाहेका छ्रैन । प्रहरीले पनि कारबाही गर्न नमान्दा अन्यायमा परेको छु ।’ उनले अपराधीहरु खुलेयाम घुमिरहेको समेत बताइन् । साउन २ मा सुकनीदेवीकी नाती ४ वर्षीय मिथिलेशले छिमेकी रामप्रकाश महतोको पर्खाल छोएकै निहुँमा झगडा सुरु भयो । सुरुमा दुबैतीरका महिलाले आपसमा गालीगलौज गरिन् । पछि दुबै पक्षका व्यक्तिहरुबीच कुटाकुट भयो । ‘रामप्रकाशका पुरै परिवार मिलेर मेरो श्रीमानको ज्यान नै लिन खोजेको थियो’, सुकनीदेवी महतो भन्छिन्, ‘हात बाँधेर श्रीमानलाई लडाए । अनी बाँसको भाटामा फलामे काटी ठोकेर कुट्यो ।’ सासु ५५ वर्षीया शिवर्तीलाई तरकारी काट्ने हाँसुले काट काटेको दुःखेसो सुनाइन् । श्रीमान र सासुको उपचारमा अहिलेसम्म ९० हजार र गाउँमा समेत १४÷१५ हजार औषधी किन्न खर्च भएको उनले बताइन् । उनले भनिन्, ‘अहिले पनि उपचार जारी छ । ऋण लिएर श्रीमान र सासुको उपचार गराइरहेको छु । तर प्रहरी प्रशासनले अपराधीहरुलाई केहि गरेका छैन ।’ कुटपिटमा भगतीलाल महतो, उनका दाई रामप्रकाश महतो, श्रीमती बेचनी महतो, छोरी सम्झना महतो, छोरा सुदिप महतो र रामप्रकाशका छोरा सर्बेश महतोको संलग्नता रहेको सुकनीदेवीको आरोप छ ।

यता, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी सुभाष बुढाथोकीले घटनामा दुबै पक्षलाई क्षति पुगेकाले आपसमा मिलाउन चाहेको बताए । उनका अनुसार सुकनीदेवी भन्दा पनि रामप्रकश पक्षलाई बढी क्षति पुगेको छ । सकभर शुक्रवार नै दुबै पक्षलाई बोलाएर छलफल गराई मिलापत्र गराउने प्रयास भइरहेको छ ।

 

Comment


Related News