जनकपुरधाम । प्रदेश २ का आठै जिल्लाका प्रहरी प्रमुखलाई इमान्दारिता पूर्वक अपराध नियन्त्रणको कार्य गर्न नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्देशन दिएका छन् ।
शुक्रवार जनकपुरमा २ नम्वर प्रदेश प्रहरी कार्यालयको निरीक्षण पश्चात प्रहरी महानिरीक्षक क्षेत्रीले आठै जिल्लाका प्रमुख एसपीसँग अन्तरक्रिया गरे । अन्तरक्रियामा समसामयिक विषयमा छलफल भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी कृष्ण प्रसाइले जानकारी दिए । कानूनले दिएको जिम्मेवारी पुरा गर्न उहाँ (प्रहरी महानिरीक्ष)ले निर्देशन दिएको उनको भनाई छ । पछिल्लो समय प्रदेश २ मा अपराधिक घटना बढेको छ । कतिपय घटनाको अनुसन्धानमा समेत प्रहरी चुकेको जनगुनासो छ । महोत्तरी प्रहरी प्रमुख एसपीले सुजिता ठाकुर हत्या काण्डमा रकमको चलखेलमा परेको आरोप अधिकारकर्मीहरुले नै लगाइरहेका छन् । प्रहरीमाथि जनताको विश्वास गुम्न लागेकोमा प्रहरी महानिरीक्षक क्षेत्रीले चिन्ता व्यक्त गरेको स्रोतले जनायो । उनले प्रहरी प्रमुख एसपीहरुलाई इमान्दारिता पूर्वक काम नगरे कारबाहीमा पर्ने चेतावनी समेत दिएका छन् । प्रहरीले अनुसन्धानमा चुकिरहेको जनगुनासो बढेको विषयमा प्रहरी महानिरीक्षक क्षेत्रीले के निर्देशन दिनुभयो भन्ने जिज्ञासामा प्रदेश प्रहरी प्रवक्ता एसएसपी प्रसाइँले आन्तरिक विषयमा भएको छलफलबारे भन्न नमिल्ने बताए । कोरोना संक्रमण रोक्न सिमा नाका बन्द रहेपनि तस्करी कसरी भइरहेको छ भन्ने विषयमा पनि अन्तरक्रियामा छलफल भयो ।
महानिरीक्षक क्षेत्रीले तस्करी नियन्त्रण गर्न पनि निर्देशन दिएका छन् । साथै कोरोना रोकथाम तथा नियन्त्रण गर्न मास्क लगाऔं अभियान प्रभावकारी बनाउन र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको निर्देशन कडाइका साथ पालना गराउन पनि उनले निर्देशन दिएको बताइएको छ ।


