राजविराज । गजेन्द्र नारायण सिंह अस्पतालको आकस्मिक कक्षको वेड न. ३ मा ४४ वर्षिया राघोदेवी चौधरी र २० न. वेडमा उनका ४९ वर्षिय पति धर्मनाथ घाइते अवस्थामा पल्टिरहेका छन् ।
चौधरी दम्पत्ति भर्ना भएको शनिबार दुई दिन पुगेको छ । सप्तरीको बोदेबरसाइन नगरपालिका ७ निवासी राघोदेवीको खुट्टा भाचिएको छ भने धर्मनाथको टाउको फुट्नुका साथै शरीरको विभिन्न भागमा चोट छ । डा. सन्दिप साहका अनुसार धर्मनाथको टाउकोमा ८ वटा टाका समेत लगाइएको छ । टाउकोमा गम्भिर चोट देखिएकाले सिटि स्क्यान गरिएको तथा रिपोर्ट आउन बाँकी रहेको उनले बताए । उनीहरुको यस्तो अवस्था आफ्नै सओदर दाजु रामदेव चौधरी र उनको परिवारले गरेको कुटपिटबाट भएको हो । प्रहरीले उनका दाजु रामदेवलाई शुक्रबार साँझ पक्राउ गरेको छ । विवादित जग्गामा बाख्रा चराउने विषयमा धर्मनाथका र रामदेवका पत्निबीच विवाद सुरु भएको थियो । विवादमा दुबै पक्षका पुरुष सदस्य पनि सहभागि भएपछि विवादले उग्र रुप लिएको थियो । सोही क्रममा झडप हुँदा दाजु पक्षकोृ कुटाइबाट धर्मनाथ र राघोदेवी घाइते भएको इलाका प्रहरी कार्यालय बोदेबरसाइनका सई जयप्रकाश साहको कथन छ । बाख्रा चराएको जग्गामा विगत ६ महिनादेखी दाजु रामदेव र भाई धर्मनाथबीच विवाद रहदै आएको छ । धर्मनाथले भने पत्नि राघोलाई बोक्सी भन्दै कुटपिट गर्न आएको बेला बचाउन जादा दाजुसहितका पक्षले आफूलाई पनि कुटपिट गरेको बताएका छन् ।
दाजु पक्षले भने जग्गा सम्बन्धी पुरानै विवाद रहेको र सोही विषयमा आफूहरुमाथी आक्रमणको प्रयास हुँदा प्रतिकारको क्रममा उनीहरु घाइते भएको दाबी गरेका छन् । घटना बारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।


