सर्लाही । सर्लाहीको नवलपुरमा शुक्रबार टिपरको ठक्करबाट ज्यान गुमाएका रामनरेश महतोको शनिबार अन्त्येष्टि गरिएको छ ।
महतोको शव शनिबार जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टम भएपश्चात उनकै घर छेउमा रहेको लखन्देही खोलामा ल्याएर अन्त्येष्टि गरिएको हो । ३५ वर्षीय महतोलाई शुक्रबार साइकलमा घाँस लिएर हिँडिरहेको अवस्थामा पूर्व–पश्चिम राजमार्गस्थित लालबन्दी–१, नवलपुरमा रहेको रामजानकी मन्दिर अगाडि ना ७ ख ८२९३ नम्वरको टिपरले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो । सो घटना लगत्तै स्थानीयवासीले शुक्रबार दिउँसो ४ घण्टा पूर्व–पश्चिम राजमार्ग बन्द गराएका थिए । पछि लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काको रोहबरमा घटनाको बारेमा शनिबार छलफल गर्ने सहमतिपछि मृतकको शव पोष्टमार्टमका लागि अस्पताल पठाउने र राजमार्ग खोल्ने सहमति भएको थियो । घटनाका बारेमा शनिबार पुनः मेयर खड्काकै रोहबरमा ईलाका प्रहरी कार्यालय लालबन्दीमा छलफल गरिएको छ । छलफलबाट आगामी वुधवार पुनः सवारीधनी, सुरक्षा निकाय, जनप्रधिनिधि र पीडित पक्षबीच छलफल गर्ने सहमति भएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले बताए ।
पीडित पक्षले शव पोष्टमार्टमपश्चात क्षतिपूर्तिको माग राख्दै शनिबार फेरि नवलपुर चौकमा प्रदर्शन गर्ने तयारी गरेपछि जिल्ला प्रहरी कार्यालयसहित विभिन्न युनिटहरुबाट प्रहरी तैनाथ गरिएको थियो । तर नगरप्रमुख खड्का, लालबन्दी २ का वडाध्यक्ष किरण पासवानसहित मृतकका आफन्तजनसँग छलफल गरेर शव अन्त्येष्टि गर्ने र वुधवार थप छलफल गरी पीडितलाई कानुन बमोजिम क्षतिपूर्ति उपलब्ध गराउने सहमती भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले बताए । दुर्घटनामा संलग्न टिपर चालक प्रहरीको नियन्त्रणमा छन् भने टिपरलाई ईलाका प्रहरी कार्यालय हरिपुरमा लगेर राखिएको छ ।


