राजविराज । सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका वडा नं. ६ कार्यालयमा स्थानीयहरुले तालाबन्दी गरेका छन् ।
महुली बजारमा केही उच्छश्रृंखल व्यक्तीहरुले अभद्र ब्यवहार र सामाजिक सद्भाव खलबलाउने गतिविधि गरेकोमा छानविन गरी कारवाहीका लागी पहल गर्न पटक पटक ध्यानाकर्षण गराउदा पनि वडाध्यक्ष कुशुम आचार्यले आलटाल गरेको भन्दै स्थानीय एक पक्षले आईतवार तालाबन्दी गरेका हुन् । कार्यालय खुल्ना साथ भेला भएका स्थानीय एक पक्षले कर्मचारीलाई बाहिर निकालेर तालाबन्दी गरेका थिए । महुली बजारका मो.इनामुल आलमले बजारमा अराजक गतिविधि गर्ने कार्यमा संलग्न समुहलाई झिकाई कारवाहीका लागी पहल गर्न पटक पटक लिखित र मौखिक जानकारी गराउँदा समेत वडाध्यक्ष आचार्यले वेवास्ता गरेपछि बाध्य भएर तालाबन्दी गर्नु परेको सुनाए । अर्का स्थानीयवासी रामनारायण मेहताले समाजमा उतपात मचाउने समुहमाथि कारबाहीको पहलका लागि वडा कार्यालयलाई ज्ञापन पत्र बुझाएपनि चासो नदेखाएको गुनासो पोखे । जनप्रतिनिधिको उदासिनतालाई लिएर आक्रोसित ती पक्षले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । यता वडाध्यक्ष आचार्यले विवादको मुख्य विषय वडा कार्यालयमा निर्माणाधिन कार्यका लागी गठित उपभोक्ता समिति रहेको बताएकी छिन् ।
एक पक्ष अर्काे पक्षमाथि आरोप प्रत्यारोपमा उत्रेपछि उत्पन्न विवादको समाधान गर्न लागी परेको बेला तालाबन्दी गर्नुको कुनै तुक नभएको उनको भनाई छ । “केही दिन यता ज्वरो लागेर घर मै बसिरहेकी छु, उनले भनिन –अगामी मंगलवार दुबै पक्ष तथा स्थानीय भरभलादमीलाई राखेर विवादको समाधान गर्ने प्रतिबद्धता समेत जनाईसकेको थिएं,तर पनि तालाबन्दी गरिनु दुखद विषय हो ।” उनले विपक्षीको उक्साहटमा एक पक्षद्वारा तालबन्दी गरिएको जनाउदै ताला खोलाउन आवश्यक पहल थालिएको जानकारी दिएकी छिन् ।


