प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ ।
सामाजिक सञ्जाल ट्वीटमार्फत उहाँले त्यहाँ रहेका नेपालीको स्थिति बुझ्न र उद्धारको व्यवस्था मिलाउन निर्देशन दिइसकेको जानकारी गराउनुभएको छ । प्रधानमन्त्री देउवाले सुरक्षा र उद्धारकाे प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएको पनि उल्लेख गर्नुभएको छ ।
अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु l
सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो l सजगता र गम्भीरतापुर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ l
— Sher Bahadur Deuba (@SherBDeuba) August 16, 2021
अफगानिस्तानबाट नेपाली नागरिकको चाँडै उद्धार गर्ने निर्णय
अफगानिस्तानमा रहेका नेपाली नागरिकको चाँडै उद्धार गर्न आफ्ना निकायहरूलाई समन्वयात्मक ढंगले अगाडि बढ्न सरकारले निर्देशन दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त जानकारी दिएका हुन् । ‘अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपाली नागरिकहरूलाई सकुसल शीघ्र उद्धार गर्ने,’ कार्कीले भने, ‘त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायहरूले समन्वयात्मक रूपले कार्य अगाडि बढाउन निर्देशन दिने ।’
त्यस्तै भूतपूर्व गोर्खा सैनिकहरूको सम्बोधन हुन बाँकी रहेका समस्या समाधान गर्न माग गर्दै बेलायतमा जारी अनसनप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको पनि कार्कीले बताए । कूटनीतिक माध्यमबाट यो समस्या समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको जानकारी दिँदै कार्कीले आमरण अनसन फिर्ता लिन आग्रह गर्ने निर्णय भएको जानकारी दिए ।

