लालबन्दी । भूमि सम्वन्धी समस्या समाधान आयोग पुनःस्थापना गर्न माग गर्दै सर्लाहीबाट सोमबार सरकारलाई हस्ताक्षर बुझाइएको छ ।
जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई नेकपा एमाले निकट अखिल नेपाल किसान महासङ्घ सर्लाहीले हस्ताक्षर बुझाएको हो । आयोग पुनः स्थापना गरी भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको व्यवस्थापन गर्न माग गर्दै सर्लाहीसहित ७७ वटै जिल्लाबाट सोमबार एकसाथ हस्ताक्षर सङ्कलन गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई पठाइएको अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सचिव राजकुमार उप्रेतीले जानकारी दिए । सर्लाहीमा दुई सय मिटर कपडामा सयौँ भूमिहिन सुकुम्वासी, अव्यवस्थित बसोवासीसँगै जनप्रतिनिधिहरुको समेत हस्ताक्षर सङ्कलन गरेर सरकारलाई पठाइएको उप्रेतीले बताएका छन् । जिल्लाको हरिवन, लालबन्दी, ईश्वरपुर, बागमती, हरिपुरलगायतका स्थानमा सङ्कलन गरिएको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी रामकुमार महतोमार्फत सरकारलाई बुझाइएको हो । हस्ताक्षर हस्तान्तरण गर्न एमाले सर्लाहीकी इन्चार्ज कमला देवी महतो, पूर्व मन्त्री बद्री न्यौपाने, एमालेको ओली समूहका जिल्ला अध्यक्ष राजनारायण साह, महासङ्घका केन्द्रीय सचिव राजकुमार उप्रेती, महासङ्घको सर्लाही जिल्ला इन्चार्ज विष्णु प्रसाद मैनालीलगायत सदरमुकाम मलङ्गवा पुगेका थिए ।
साउन १९ गते बसेको मन्त्रीपरिषद्को बैठकले देवी ज्ञवाली नेतृत्वको भूमि सम्वन्धी समस्या समाधान आयोग खारेज गरेको थियो । सरकारले आयोग खारेज गरेपछि भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने तथा उचित व्यवस्थापन गर्ने काम रोकिएको छ ।


