अपडेट 
२०७८ भाद्र १, मंगलवार ०७:०३

अहिले हामीले उपभोग गरिरहेको गणतन्त्रको अधिकार र स्वतन्त्रता त्यसै आएको होइन । नेपाली जनताले गरेको अथक संघर्ष, त्याग, तपस्या र बलिदानको परिणाम हो यो गणतन्त्र । माओवादी कम्युनिस्टहरुको नेतृत्वमा नेपाली जनताले गरेको दसवर्षे जनयुद्ध यस गणतन्त्रको मूल कारक हो । ०५२ सालमा माओवादीहरुले जनयुद्धशुरु गर्नुभन्दा पहिले देशमा सम्वैधानिक बहुदलिय राजतन्त्र थियो । माओवादीहरु नयाँ जनवादी व्यवस्थाको नाममा श्रमजीविवर्ग र उत्पीडित समुदाय (उत्पीडित जाति, क्षेत्र र लिङ्ग)को सहभागिता र वर्चस्वको व्यवस्थाको बकालत र आवश्यक प¥यो भने यस्को निम्ती सशस्त्र संघर्षको कुरा गरिरहेका थिए । अर्कोतिर देशमा स्थापित तत्कालीन बहुदलिय राजतन्त्र अन्ततः सामन्त र पूँजीपतिवर्गको पक्षमा नै उभिएको थियो । तत्कालीन सरकारको नेतृत्व मूख्यतः नेपाली काँग्रेस र नेकपा एमालेले गरेको थियो भने, राप्रपाको रुपमा राजावादीहरुपनि सरकारमा एउटा हिस्सा थियो । भन्नलाई त नेका, एमालेहरुले बहुदलिय राजतन्त्रलाई प्रजातन्त्र भनिरहेका थिए, तर यथार्थमा त्यो निरङकुश राजतन्त्रको ठाउँमा नरम (बहुदलिय) राजतन्त्र थियो, जस्मा राजा अझै सर्वोच्च र शक्तिशाली थिए ।

माओवादीहरु बहुदलिय राजतन्त्रलाई ढालेर धर्मनिरपेक्ष गणतान्त्रिक व्यवस्थाको पक्षमा थिए । त्यसैपनि कम्युनिस्टहरुको सर्वहारावादी विचार पूँजीवादीहरुलाई मनपर्दैन । अझ माओवादीहरुले मजदूर, किसान र उत्पीडित समुदायको नेतृत्वमा नयाँ जनवादी व्यवस्थाको वकालत उनिहरुले नरुचाउनु स्वाभाविक नै थियो । यद्यपि देशका बहुसंख्यक श्रमजीवि समुदायमा माओवादीहरु लोकप्रिय हुँदैगएका थिए । ०६२सालमा माओवादी जनयुद्ध र गणतन्त्रको आन्दोलन उत्कर्षमा भएको बेला तत्कालीन राजा ज्ञानेन्द्रले लखेटेपछिनेका र एमाले लगायतका संसदिय राजनीतिकदलहरु गणतन्त्रको आन्दोलनमा सामेल हुन बाध्य भए । यसै आधारमा उनिहरुले यस गणतन्त्रमा हिस्सा खोज्नु एउटा कुरा भयो, होइन भने जतिबेला माओवादीहरु राजतन्त्रलाई ढालेर नयाँ जनवादी गणतन्त्रको निम्ती जीवन मरणको सशस्त्र जनयुद्धमा थिए, त्यतिबेला यिनीहरु राजा र तत्कालीन बहुदलिय राजतन्त्रको ढाल बनेको ऐतिहासिक यथार्थलाई नकार्न सकिन्न । यसैकारण तत्कालीन सत्तामा रहेका पार्टीहरु माओवादी कम्युनिस्टहरुलाई गिरफ्तार गराउने र हत्या गराउन समेतबाट चुकेनन् । माओवादी जनयुद्धको तयारीकाल देखी जनयुद्धको युद्धकालमा समेत गरी तेह्र हजारभन्दा बढीको सहादत यसैको परिणाम हो । वस्तुतः माओवादी जनयुद्ध राजनैतिकव्यवस्थाको सामान्य परिवर्तनभन्दापनि वर्गसंघर्ष बढी थियो, जस्ले मजदूर, किसान र उत्पीडित समुदायको नेतृत्वमा नयाँ जनवादी राज्य स्थापित गर्न चाहन्थ्यो । पूँजीवादी प्रचारले नयाँ जनवादी राज्य होस वा सर्वहारावादी राज्य, कम्युनिस्ट शासनलाई अधिनायकत्व (अर्को शब्दमा तानाशाही) भन्छन् । होपनि यस्तै, माओवादीले भन्ने गरेको नयाँ जनवादी राज्य अधिनायकत्व नै हो, तर यो देशको बहुसंख्यकवर्ग मजदूर, किसान र उत्पीडित समुदायको अधिनायकत्व हो । हुन त पूँजीवादी लोकतन्त्र भनेको नाममा लोकतन्त्र भएपनि पूजीपतिहरुको अधिनायकत्व नै हो ।

अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र जस्तो, जस्को सम्विधानमा संघीयता, लोकतन्त्र र गणतन्त्र लेखिएपनि यथार्थमा यो पूँजीपतिहरुको पकडको गणतन्त्र हो । हरेक राज्यव्यवस्था चरित्रगत् रुपमा अधिनायकत्व नै हुनेगर्छ । कस्को अधिनायकत्व हो? बहुमत श्रमजीविवर्गको हो वा मुठ्ठीभर पूँजीपति वर्गको हो ? भन्ने मात्रै महत्वको विषय हो । माओवादी विचारले बहुसंख्यक मजदूर, किसान र उत्पीडित समुदाय अर्थात जनताको अधिनायकत्वको वकालत गर्ने गर्छ । माओवादी जनयुद्ध यसैकारण तत्कालीन सत्ता र शासकीय वर्ग र समुदायलाई पचेको थिएन । भाद्र १ गते कमरेड चन्देश्वर मण्डल र भाद्र २ गते रामवृक्ष यादवको सहादत दिवस हो । वि.स. २०६२ साल भाद्र १गते धनुषाको बघचौडा गाउँमा सरकारी सुरक्षाकर्मीहरुको गोलीबाट मारिएका थिए । पेशाले शिक्षक कमरेड चन्देश्वर मण्डल धनुषा जिल्लाकै मिथिलेश्वर मौआहीका बासिन्दा थिए । उनी तत्कालीन नेकपा (माओवादी)का क्षेत्रीय ब्यूरो सदस्य थिए । जनताका बीच ‘चन्देसर मास्टर’को नामबाट अत्यधिक लोकप्रिय चन्देश्वर मण्डलले नेकपा एमालेबाट राजनीति शुरु गरेका थिए । माओवादी जनयुद्धकालमा उनि एमालेको जिल्लाकमिटिको सदस्यपद त्यागेर माओवादीमा सामेल भएका थिए । प्रायः श्रमजीविवर्ग र जातिहरुमा बढी लोकप्रिय चन्देसर मास्टरसाहेब धनुषामा माओवादीको संगठन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कमरेड चन्देश्वर मण्डल जनयुद्धकालमा सुरक्षाकर्मीको गोलीबाट सहिद भए । तर कमरेड रामवृक्ष यादव त ग्रामीण प्रतिक्रान्तिकारी तत्वहरुको षडयन्त्रको शिकार भए । सर्वहारावादी विचार, गरीब किसान र मजदूरको हकको निम्ती निरन्तर संघर्ष र क्रान्तिकारी गतिविधिको कारण कमरेड रामवृक्ष यादव पञ्चायतकालदेखि नै स्थानिय जमिन्दारवर्ग र तत्कालीन शासनसत्ताको निशानमा थिए ।

जमिन्दारहरुले स्थानिय प्रशासनसंग मेलोमतो गरेर उनिमाथी पटक पटक झुठ्ठा डाँका मुद्दा लगाएको कारणपञ्चायतकाल देखि नै उनि कयौँ पटक जेल परेका थिए। ०४७ सालमा देशमा पञ्चायतव्यवस्था ढलेर बहुदलिय व्यवस्था आएपछि नेका र एमालेका सबै नेताहरु छुटे, तर आफ्नो क्रान्तिकारी वैचारिकताकै कारण कमरेड रामवृक्ष एकवर्षपछि मात्र छुटे । बहुदलिय व्यवस्था आएपछि कमरेड रामवृक्षको जनसमुदायमा अत्यधिक लोकप्रियता अन्य राजनैतिक दलहरुको निम्ती खतरा थियो । विशेष गरी तत्कालीन नेकपा एकताकेन्द्र (पछि नेकपा माओवादी)ले संसद उपयोग गर्ने नीति लिएपछि धनुषाका नेका लगायतका चुनावी दलहरुलेउनको जनप्रियतालाई सर्वाधिक कठिन चुनौतीको रुपमा देखे । यसैको परिणाम थियो उनको निर्मम हत्या । एउटा गहिरो राजनैतिक षडयन्त्रकारी योजनामा ०५१ साल भाद्र २ गते उनको जन्मगाउँ धनुषा जिल्लाका बरमझियामा तत्कालीन प्रशासन र स्थानीय जमिन्दारवर्गको मिलोमतोमा नेपाली काँग्रेसका स्थानीय भिजिलान्तेहरु र भाडाका पेशेवर हत्याराहरुले संयुक्तरुपमा उनको निर्मम हत्या गरिदिए । यस निर्मम हत्यामा तत्कालीन नेपाली काँग्रेसका केन्द्रिय नेताहरु समेत सामेल रहेको आरोप माओवादीहरुले शुरुदेखी नै लगाउँदै आएका छन् ।यस हत्यामा प्रत्यक्षसंलग्नताको अभियोगमा नेपाली काँग्रेसका कार्यकर्ताहरुले आजीवन जन्मकैद भोगीरहेका छन् ।

अहिले ती अभियुक्तहरुको स्थिति के छ भन्ने मलाई थाहा छैन । यस हत्याको आरोपको केही छिँटा त तत्कालीन एमालेको स्थानीय नेताहरुप्रति पनि माओवादीहरुले लगाएका थिए । ०५१ साल भाद्र १गते तत्कालीन संयुक्त जनमोर्चाले नेपाल बन्द्रको घोषण गरेको थियो । कमरेडरामवृक्ष यादव तत्कालीन नेकपा (एकताकेन्द्र)का तथा यस पार्टीको राजनीतिक मोर्चा संयुक्त जनमोर्चा दुबैका केन्द्रिय सदस्य थिए । यसै नेपालबन्दको क्रममा उनि जनकपुर आएका थिए र भाद्र २ गते गाउँ फर्किने क्रममा उनको जन्मगाउँ बर्मझियामा गाउँ बाहिर मकैबारीमा ढुकेर बसेका हत्याराहरुले घातक हतियार सहित उनिमाथी सामूहिक आक्रमण गरेर हत्या गरेका थिए । उनको हत्यापछि त्यस भेगका दसौँ हज्जार गरीब जनता जसरी बरमझियामा उनको निम्ति रोएका थिए, उग्रभएर प्रहरी चौकी घेरेका थिए र उनको अन्त्येष्टिमा सामेल भएका थिए, त्यसले उनको लोकप्रियताको उँचाई प्रदर्शित गरेको थियो । उनको निधनमा राष्ट्रिय–अन्तर्राष्ट्रिय कम्युनिस्ट समुदायबाट सम्वेदना र प्रतिक्रियाहरु जसरी व्यक्त भए, त्यसले उनको राजनैतिक व्यक्तित्वको राष्ट्रिय–अन्तर्राष्ट्रिय उँचाई अभिव्यक्त भएको थियो । कमरेड रामवृक्षको हत्याको बेला माओवादी जनयुद्ध तयारीको क्रममा थियो । भनिन्छ, माओवादीहरुले ०५२ फाल्गुन १ गतेदेखी जनयुद्धको शुरुआत गर्नुमा कमरेड रामवृक्ष यादवको हत्याको आवेगपनि सामेल थियो । एउटा प्रेरक आवेगमय चेतनाको रुपमा उनको सहादत दिवस जनयुद्धमा क्रान्तिकारी परम्पराको रुपमा स्थापित भएको थियो । तराई मधेशमा त उनी माओवादी आन्दोलनका सर्वोच्च र सर्वाधिक लोकप्रिय नेता नै थिए । यसलाई जनप्रिय नेताप्रतिको क्रान्तिकारी समर्पण नै थियो कि जनयुद्धकालमा उनको हत्याभएको स्थलमा माओवादीहरु तत्कालीन प्रशासनको आँखा छलेर कुनै न कुनै किसिमले फूल, माला र पार्टीको झण्डा फहराउँथे ।

माओवादी जनयुद्ध र श्रमजीविवर्गको राज्यको निम्ती नेपाली जनताका संघर्ष र बलिदानका यस्ता गौरवमय असंख्य कथा र प्रसङ्गहरु छन्, जस्लाई नयाँ पुस्ताले सुन्नु पर्छ, जान्नु पर्छ । ती सहिदहरुको सपना कति पूरा भयो, कति पूरा हुन बाँकी छ, ? नयाँ पुस्ताले समीक्षा गर्नु जरुरी छ । ०६३ सालपछि माओवादीहरु शान्ति प्रक्रियामा आएपछि कमरेड रामवृक्षको शहादत स्थलमा भाद्र २ गते विशाल जनताको उपस्थिति एउटा परम्परा जस्तै भएको छ । अब त त्यहाँ सरकारी बजेटबाट कमरेड रामवृक्ष यादव, जनयुद्धमा शहादत दिने उनको एकमात्र छोरा कमरेड शेखर र एउटा दुर्घटनामा मृत्यु भएकी उनकी श्रीमति तथा लोकप्रिय नेतृ रामकुमारी यादवको प्रतिमा सहितको विशाल द्वारपनि निर्माण गरिएको छ । मिथिलेश्वर मौआहीमा पनि चन्देसर मास्टरसाहेबको प्रतिमा स्थापित गरिएको छ । र कुनै बेला क्रान्तिकारी समर्पणभावको वशीभूत श्रद्धावश हुने उपस्थिति अब मेलामा परिणत भइसकेको छ । यस राजनैतिक मेलामा गरीब मेहनती जनता श्रद्धावश आउँछन्, व्यापारीहरु व्यापार गर्न र राजनैतिक लाभ– हानीको हिसाब गरेर राजनीतिक नेताहरु उपस्थिति हुने गर्छन् । समयको प्रवाहमा कमरेड रामवृक्ष माट्साहेब (कमरेड रामवृक्ष जनताबीच ‘माट्साहेब’को नामबाट लोकप्रिय थिए) र चन्देसर मास्टरसाहेब लगायतका जनयुद्धका सहिदहरुको सपनालाई समयले बाक्लै धुलोले ढाकिदिएको छ । सबैभन्दा पहिले त मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीलाई छाडि दिने हो भने आधिकारिकरुपमा माओवाद मान्ने पार्टी नै छैन अहिले ।

संसद बाहिरका विप्लव लगायतका केही कम्युनिस्ट पार्टीले विशिष्ट विचार भनेपनि नयाँ जनवाद र माओवादलाई पार्टीको आधिकारिक वैचारिक लाईन मान्न छाडिसकेका छन् । उनिहरु माओवादी विचारमा परिमार्जनको आग्रह गर्दै भिन्न नयाँ दिशाको खोजीमा छन् । प्रचण्ड सहितको ठूलो हिस्सा त संसदिय राजनीतिमा घरजम गरेर औपचारिक रुपमा माओवादबाट अलग्ग भएर कानूनी शान्तिको बाटो अँगालिसकेका छन् । तात्पर्य के हो भने अब वैचारिकरुपमा माओवाद र नयाँ जनवाद तथा वर्गीयरुपमा मजदूर, किसान र उत्पीडित समुदायको राज्यको स्थापनाको निम्ती संघर्षको विचार र स्वप्नहरु अहिले राजनैतिक पटलमा सबैभन्दा कमजोर अवस्थामा छ । यति कमजोर कि पूँजीवादी र बजारको राजनैतिक प्रचारमा हराए जस्तै छ, सुनिँदैन । यद्यपि मजदूर, किसान र उत्पीडित समुदायको राज्यको आवश्यकता र औचित्यतालाई कसैले इन्कार गर्न सक्दैन । समयसंगै क्रान्तिकारी विचारबाट विचलित माओवादीहरु विचारमा विविध परिमार्जन र संशोधन गर्दै अन्य बुर्जूवा राजनैतिक दलहरु जस्तै एउटा आमूल परिवर्तनकारी क्रान्तिकारीबाट नियमित संसदिय पार्टीमा परिणत भइसकेका छन् । संसदीय राजनीतिमा कम्युनिस्टहरुले प्रतिबद्धता व्यक्त गरेको किसान, मजदूर र उत्पीडित वर्ग र ऐतिहासिकरुपमा शासकवर्ग र जातिबाट पछाडी पारिएका राष्ट्रियता तथा जातिय समुदायहरु अझै उपेक्षित छन् । एक थान गणतन्त्र र सत्तामा पुगेको कम्युनिस्ट पार्टीको कुर्सी बचाउनुलाई नै नेपाली कम्युनिस्ट आन्दोलनको एकल कार्यभार घोषित गरेर सत्ताधारीहरुले आफ्ना सबै कमजोरीहरु लुकाउन खोजी रहेका छन् । विगतका वर्षहरु झै यसपटक पनि रामवृक्ष यादव र चन्देश्वर मण्डलको सहादत दिवसको दिन बर्मझिया र मिथिलेश्वरमा कार्यक्रमहरु हुने छन् ।

तर यस पटकपनि यी स्मृतिसभाहरुमा सहिदहरु नयाँ जनवादी क्रान्ति, गरीब मजदूर र किसानको निम्ती संघर्ष र क्रान्तिकारी एकता होइन, संसदिय निर्वाचनमा भोट बढाउन तथा वर्ग उत्थान भइसकेका कम्युनिस्ट भनाउँदो नेताहरुलाई सत्तामा पु¥याउनका निम्ती आमजनसमुदायमा चुनावी भावना प्रसारको हतियारको रुपमा नै प्रयोग हुनेछन् । यद्यपिसम्पूर्ण शोषणबाट मुक्तिको स्वप्न, वर्गसंघर्षको औचित्य तथा नयाँ जनवादी क्रान्तिको प्रेरणाको रुपमा यी सहिदहरुगरीबश्रमजीविवर्ग तथा उत्पीडित समुदायबीच हमेशा जीवित रहने छन् । कमरेड रामवृक्ष माट्साहेब र कमरेड चन्देसर मास्टरसाहेब लगायत सम्पूर्ण सहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली !

Comment


Related News

Latest News

Trending News