२०७८ भाद्र २, बुधबार ०६:४८

राजविराज । चार दिनयता भइरहेको निरन्तर वर्षाका कारण जिता नदीमा आएको बाढीले तटबन्ध भत्काउदा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको १ सय ५० घर डुवानमा परेको छ ।

बाढीले फुसको संरचना भएका ६ वटा घर समेत ढलेका छन् । गाउँपालिकाका अध्यक्ष सतिश सिंहका अनुसार चार दिनयता भइरहेको निरन्तरको वर्षाले मंगलबार बिहानै जिता नदीको पश्चिमी तटबन्ध भत्किदा सो गाउँपालिकाको वडा नं. ५ स्थित खंग टोल, राम टोल र सरदार टोलका १ सय ५० घर डुवानमा परेको हो । बाढीले सो वडा र आसपासका करिब एक सय विग्हा धान खेत समेत डुवानमा परि लाखौंको अन्नबाली क्षति भएको छ । बस्तीका घर घरमा बाढीको पानी पसेपछि पशु चौपाया र अन्नपानी सुरक्षित स्थानतर्फ लगेका छन् । सुतिरहेका बेला अचानक घरमा बाढीको पानी पसेपछि केही सरसामान पनि बगाएर लगेको तथा खाद्यान्न नष्ट भएको बाढी पीडित सकुन्तलादेवी रामले सुनाइन् । बाध भत्किएर बस्तीमा पानी पसेपछि राहत तथा उद्धारका लागि एक टोलीसहित प्रभावित बस्तीमा पुगेका गाउँपालिका अध्यक्ष सतिश सिंहले प्रभावितको उद्धारसँगै नामावली संकलन तथा राहत उपलब्ध गराउन आवश्यक पहल सुरु गरिएको बताए । पहिले अति प्रभावित र जोखिममा रहेकाहरुलाई सुरक्षित स्थानमा पु¥याउने काम थालेका छौं, उनले भने “त्यसपछि नामावली संकलन र राहतका काम पनि सुरु गरिन्छ ।” बाढी प्रभावित क्षेत्रमा निरीक्षणका लागि पुगेका गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाले तटबन्ध भत्किएपछि पसेको बाढीले १ सय ५० घर डुवानमा परेको तथा ६ घर ढलेको पाइएको बताउँदै गाउँपालिकाले आफ्नो साधन श्रोतले भ्याएसम्म बाढी नियन्त्रण तथा पीडित परिवारलाई सहयोगका लागि पहल थालेको बताए ।

वर्षायाममा जिल्लास्थित खाडो, जिता, त्रियुगा, खडक, सप्तकोशी लगायतका नदीमा आउने बाढीले ठूलो जनधनको क्षति हुने गरेको छ । तर, उक्त समस्याको समाधान हुन नसक्दा वर्षेणी ठूलो जनधनको क्षति व्याहोर्नु परेको भन्दै स्थानियले यसको दिर्घकालिन र स्थायी समाधान गर्न माग गरिएको छ ।

Comment


Related News

Latest News

Trending News