लालबन्दी । अविरल वर्षाका कारण सर्लाहीको दक्षिण–पूर्वी भेगमा पर्ने हरिपूर्वा नगरपालिका वडा नं. १ मा एक अति विपन्न दलित परिवारको घर भत्किएको छ ।
स्थानीय सुखर पासवानका छोराहरु राजकरण पासवान, बद्री पासवान र सिनेही पासवानको संयुक्त घर मंगलबार बिहान ११ बजेतिर वर्षाको पनीले भत्किएको हो । घर भत्किएपछि बिचल्लीमा परेका पासवान परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ। मलंगवा नगरपालिका–१० मा रहेको स्तुति सौम्या हेल्थ केयरले पिडित पासवान परिवारलाई २० हजार आर्थिक सहयोग गरेको हो । सामाजिक सञ्जाल फेसबुकमा अविरल वर्षाका कारण घर भत्किई पासवान परिवार बिचल्लीमा परेको खबर देखेपछि आफूले सकेको सहयोग गरेको हेल्थ केयरका सञ्चालक डा. गुणेश्वर झाले बताए ।
काठको दुई तले घर भत्किएर त्यसभित्र रहेका अन्न, कपडा, भाँडा लगायतका सरसामग्री नष्ट हुँदा विपन्न पासवान परिवारको ३ लाख बराबरको क्षति भएको हरिपूर्वा नगरपालिका–१ का मुकेश झाले जनाएका छन् । घर भत्किएको समयमा भित्र रहेका मानिसहरुले भने भागेर ज्यान जोगाएका जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।


