अपडेट 
२०७८ भाद्र ३, बिहीबार ०६:५३

१. परिचय :

नेपाल २०७२ सालको निर्मित संविधान अनुसार एक संघीय गणतन्त्रात्मक लोकतान्त्रिक प्रणाली अपनाएको देश हो । यस्तो प्रणालीमा देशको संप्रभुता जनताको हातमा हुन्छ । राष्ट्रका कुनै पनि पदमा जनताका छोरा जान पाउँछन् । यस्तो व्यवस्थामा पार्टीको निकै ठूलो भूमिका हुन्छ । पार्टीहरू यस्ता प्रणालीका रीढ हुन् । पार्टीहरू जति सबल हुन्छन्, प्रणाली त्यति नै बलियो हुँदै जान्छ । तर अहिले पार्टी/पार्टीहरू बीचमा देखिएको फूटपरस्त नीतिले गर्दा चरमदक्षिणपंथी र उग्रवामपंथीहरूले आ–आफ् ना हात खुट्टा सल्बलाउन थालेका छन् । नेपालका पार्टीहरू मध्ये जनता समाजवादी पार्टी, नेपाल मधेशको एउटा यस्तो पार्टी हो जो सबै मधेशीहरूका लागि शान/आनको विषय हो । यसले विभिन्न आरोह÷अवरोह पार गर्दै अहिलेको अवस्थामा आइ पुगेको छ । यसै पार्टीले हामीलाई मर्सियाबाट मधेशी बनाउन मद्दत गरेको छ । आज भन्दा लगभग २/३ दशक अघिसम्म मधेशी भन डराउनेले समेत आज गर्वसाथ आफूलाई मधेशी भन्न थालेका छन् । विगतका तथाकथित कुरालाई आजको दिनसम्म हेर्दा निकै परिवर्तन भएर आएको देखिन्छ । आज यी मधेशवादी पार्टीहरू मधेशलाई गोलबन्द गरेर अगाडि नबढाएको भए उनीहरू सुधर्नेबाला थिएनन् । तराई मधेशका नेता गजेन्द्रनारायण सिंहले नेपाल सद्भावना पार्टी खोलेर मधेशीलाई आफ्नो अधिकार तथा कर्तव्य बारे चेतना जगाउने काम गरेका थिए । दिन बित्दै जाँदा नेपाल सद्भावना पार्टीलाई छोड्दै नयाँ/नयाँ पार्टी निर्माण गर्दै/फोर्दै/बिघटन गर्दै आजसम्म आइपुगेका छन् । वर्तमान समयमा यी पार्टीहरूका सीमा तराई मधेशसम्म मात्र सीमित छैन । तराई, पहाड, हिमाल सम्म यसको कार्यक्षेत्र विस्तार भै सकेका छन् तर दुर्भाग्य फुट/जुटका क्रियाकलापले गर्दा अझै पनि यी पार्टीहरू जति विस्तार हुनु पर्ने थियो त्यति विस्तार भएको देखिदैन ।

२. ऐतिहासिक पृष्टभूमि :

यस जनता समाजवादी पार्टी, नेपालको इतिहास त्यति लामो छैन । नेपाली कांग्रेस तथा नेपाल कम्युनिष्ट पार्टी जस्तो लामो नभएपनि खास गरी तपाईमा प्रजातंत्र बहाली पश्चात तराई काँग्रेस तथा तराई कम्युनिष्ट जस्ता दलहरू खुलेर काम गरेका थिए । खास गरी तराईकै जनताको माँग अनुसार सबै भन्दा पुरानो पार्टी नेपाल सद्भावना पार्टीलाई नै लिन सकिन्छ । हुनत नेपालमा जे जति पार्टीहरू छन् ती सबैको आधार स्थल तराई नै रहेको छ । तराईमा जनसंख्याको चाप बढी रहेको हुनाले यहाँ भूराजनैतिक हिसाबले पनि राजनीति गर्न सजिलो रहेको छ । नेपाल सद्भावना पार्टी पश्चात संघीय समाजवादी फोरम सबैभन्दा ठूलो पार्टी बनेर जनताको बीचमा आयो । यसको इतिहास सबैभन्दा ठूलो संघर्षशील माओवादी पार्टीको बढदै गइरहेको बाटोलाई रोक्नु थियो । यसै सिलसिलामा रौतहटको गौरमा माओवादीको आतंकलाई निस्तेज पार्न मधेशी फोरमका कार्यकर्ताले निकै ठूलो हमला गरी प्रभाव– हीन बनाइ छाड्यो । त्यसदिनदेखि फोरमको नामले पहाड, हिमाल सबै ठाउँमा मधेशीको चर्चा शुरू हुन थाल्यो । माओवादीको बढ्दो कदमलाई फोरमले रोके पश्चात तराई मधेश लोकतांत्रिक पार्टी (तमलोपा) नामाकरण गरेर महन्थ ठाकुरहरू एउटा बलियो पार्टी गठन गरी तराईको राजनीतिलाई अगाडि बढाउने काम गरे । केही समय पश्चात तराईका विभिन्न साना साना पार्टीलाई मिलाएर राष्ट्रिय जनता पार्टी नेपालको जन्म भयो । तराईमा यिनीहरूको राजनीतिक आधार बलियो हुँदै आए तर यसका नेतृत्वकालागि आ– आफ्ना दाबी छाडेनन् । अन्ततः पाँचवटा अध्यक्ष रहने गरी पार्टीलाई नयाँ शिराबाट गठन गर्ने काम गरियो । जनताको साथ साथै तराई हाक्ने नेताहरूमा समेत चेतनाको विकास हुँदै आयो । नेपालको संविधान २०७२ लागु भएपछि पहिलो निर्वाचनमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रिय पार्टीको स्थान लिन सफल भए । दुबै पार्टीको उदेश्य मिल्दो जुल्दो देखिएको कुरालाई नेताहरूले मनन गरी दुबै पार्टीलाई एकीकरण गरी अझै सफलतासाथ अगाडि बढ्ने निर्णयमा पुगे । तर दुर्भाग्यवस केपी ओलीको जालझेलपूर्ण प्रलोभनमा परी पार्टीलाई फोर्नबाट समेत पछि परेन । अहिले जनता समाजवादी पार्टी नेपालको अधिकारीकता उपेन्द्र यादवको पक्षले पाएको छ । उता तिर महन्थ ठाकुरहरूले झुठो दलील दिँदै पार्टी हाम्रै हो भने कुरालाई प्रचार प्रसार गर्नबाट पछि हटेका छैनन् । यस्तो बलियो पार्टीलाई पदीय लोभले गर्दा महन्थ ठाकुर पक्षीय नेताहरूले पार्टीलाई फोड्नबाट समेत पछि परेन । अहिले ओली प्रधानमंत्री पदमा आसीन छैनन् नत महन्थ ठाकुर पक्षीय नेताहरू मंत्री नै । एकाएक राष्ट्रिय राजनीतिमा परिवर्तन आएको देख्दा पूरै समाजवादी पार्टीका सांसदहरू शेरबहादुर देउवालाई समर्थन गर्न पुगे । अब उप्रान्त जनता समाजवादी पार्टीबाट मंत्रीपद खान को को जान्छन हेर्न बाँकी छ ।

३. सरकारमा जाने होड :

देउवा सरकारका ठूला चुनौतीहरू मध्ये एउटा सरकार निर्माण पनि हो । प्रधानमंत्री पदको शपथ खाएको एक महिना नाघी सके पनि सरकारले पूर्णता पाएको छैन । कहिले पूर्णता पाउने हो ठेगान छैन । सरकारको अपूर्णताले गर्दा राष्ट्रिय स्तरको कामकाजमा निकै धेरै प्रभाव परिरहेका छन् । सबै कोणबाट सरकारको आलोचना शुरू भैसकेका छन् । शेरबहादुर देउवाको आफ्नै पार्टीको दबाब, जनता समाजवादी पार्टीको किचलो, माओवादी केन्द्रका बढी सांसदले मंत्री पद चाहने दबाबले मंत्री परिषद् लाई पूर्णता दिन ढिलाई भएको कुरालाई सम्बन्धित पार्टीका नेताहरूले आफै स्वीकार गरेका छन् । अर्कोतिर क. माधवकुमार नेपाल र ओली बीचको शीतयुद्धले गर्दा सरकार अझै पूर्णता पाउन केही दिन लाग्ने हो कि ठेगान भएन । देउवाको के इच्छा छ भने जति सहयोगी दलहरू छन् ती सबै सरकारमा आउन र मिलेर सरकार चलाउन ।

४. वर्तमान अवस्था र भविष्यको दिशा:

पार्टीहरू भनेको प्रजातंत्रका रीढ हुन् । पार्टीहरूका सबलतामा नै प्रजातंत्रले दिगोपना पाएको हुन्छ । जुन देशमा यी पार्टीहरू जति कमजोर हुन्छन् । त्यहाँ चरम दक्षिणपंथी तथा उग्रवामपंथी पार्टीहरूले फोहरी राजनीतिका खेल खेल्न मौका पाएका हुन्छन् । अहिले नेपालको अवस्था पनि यस्तै देखिन्छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) २०७४ को निर्वाचनमा सबै भन्दा ठूलो पार्टी बनेर आयो । शुरूमा माओवादी केन्द्र र समाजवादी फोरम नेपालको समर्थनमा दुई तिहाइको वहुमत सरकारसमेत चलाउन मौका पाए । तर लगभग १८ महिना नबित्दै फोरमबाट बनेका मंत्रीहरूलाई केपी ओलीले अपमानित गरी निकालिएका कुरा कसैबाट लुकेको छैन । जालझेलको राजनीति धेरै दिन चल्दैन । केहि दिन पश्चात माओवादी केन्द्रसँग पनि यस्तै जालझेलका कुराले गर्दा विवाद खडा हुँदा माओवादी केन्द्र पनि बाहिरीन तयार भए । पछि सर्वोच्चले नै पार्टीलाई अलग अलग गरिदिए पछि विधिवत सरकारबाट बाहिरिए । माओवादी केन्द्र छुट्टिएपछि केपी ओलीको सरकार अल्पमतमा पर्न गयो । अहिले नेपालको राजनीतिमा एक्कासी परिवर्तन हुँदा नेपालका संविधान २०७२ को धारा ७६ को उपधारा ५ अनुसार सरकार बनेको छ । यस धारामा कुनै पार्टीको ह्वीप लाग्दैन । सांसदहरू कसलाई समर्थन गर्ने हो त्यसका लागि स्वतंत्र छन् । अहिले केपी ओली विपक्षमा छन् । आफ्नो पार्टीको किचकिचले गर्दा पार्टीलाई सही दिशा दिन असफल बनेका छन् । राष्ट्रिय समाजवादी पार्टीका महन्थ ठाकुर पक्षीय सांसदहरू केही दिन पहिले दिएको समर्थन समेत फिर्ता लिई शेरबहादुर सरकारको समर्थनमा आइसकेका छन् । अहिले ओली एक्लो भएका छन् तर उहाँको हुँकार अहिले पनि दुई तिहाइको रटानमा रहेकै छ । तराईमा जनताले विश्वास गरेर दिएको मतलाई यी मधेशी नेताहरूले विश्वासघात गर्नु भएन । जनता सबैभन्दा ठूलो निर्णायक शक्ति हुन् । अहिले राष्ट्रिय समाजवादी पार्टी नेपाल देशकै एउटा ठूलो शक्तिको रूपमा आउन लागेका बेला देशी÷विदेशी शक्तिहरूले सहन गर्न नसकेर यसलाई तोड्न सफल भएको देखिन्छ ।

५. उपर्सहार :

राष्ट्रिय समाजवादी पार्टी नेपालले मधेशको भूमिबाट मधेशकै हितकालागि गरेका कामहरू अव मधेशमा मात्रै सीमित छैन । तराई, पहाड, हिमालसम्म आफ्नो क्षेत्र विस्तार गरि सकेका छन् । अहिले निकै उर्जावान नेताहरू यसमा आइसकेका छन् । यस्ता उर्जावान नेताहरूको उर्जालाई सही रुपले प्रयोग गर्न सकियो भने भोली सरकारको नेत्ृत्व गर्ने दिन धेरै टाढा लाग्दैन । तर पार्टी भित्र देखिएका महन्थ ठाकुरहरूका रबैयाले गर्दा पार्टीलाई ठूलै आघात पुगेको हेर्न सकिन्छ । यस्ता नेताहरूबाट पार्टीका नेतृत्ववर्गले सावधान हुनै पर्छन । अब एक वर्ष पछि संसदीय निर्वाचन हुँदै छ । निर्वाचनलाई मूल लक्ष्य बनाई जनताको सेवामा समर्पित हुने समय आएको छ । जनता उसैलाई मत दिन तयार हुन्छन् जो जनताका लागि काम गर्न समर्पित हुन्छन् । जनताको दुःख सुखमासँगैसाथ दिइएका हुन्छन् । यसै पार्टीले देशको राष्ट्रपति तथा उपराष्ट्रपति दिन सफल भएको थियो । नेपालमा के देखिन्थ्यो भने मधेशीलाई प्रधानमंत्री तथा गृहमंत्री बनाउनु हुँदैन भने धारणालाई चिर्दै गृह मंत्री त भएकै हो बाँकी प्रधानमंत्री बन्न पनि बेर छैन । नेपालको संघीय सरकारको नेतृत्वमा नपुगुन्जेलसम्म तराईका जनताको हीतमा केही गर्ने काम पूरा हुँदैन । यसकालागि तराई देखि हिमालसम्मका जनतालाई विश्वासमा लिनै पर्ने हुन्छ । अब विस्तारै पहाड, तराइका क्रीम पर्सनालिटीहरू विस्तारै यस पार्टीमा स्थान लिन थालेका छन् । यसको भविष्य निकै उज्जबल देखिन्छ । नेताहरू क्षणिक लोभबाट परै रहनु पर्ने हुन्छ ।

इतिश्री । लेखक जनसंख्या अध्ययन र समाजशास्त्रविद् हुनुहुन्छ ।

Comment


Related News

Latest News

Trending News