अपडेट 
२०७८ भाद्र ३, बिहीबार ०७:४४

राजविराज । क्यान्सर पीडित छोरीको उपचारका लागि आर्थिक संकटमा रहेकी आमाले मागेको सहयोगको याचनाले सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ५ छपकी टोलकी १५ वर्षिया अमृता शर्माको ज्यान जोगिएको छ ।

घाँटीको दुबै भागमा थाइराइड क्यान्सरले पीडित अमृताको उपचारका लागि बेल्ही यूथ क्लब सप्तरी नामक संस्थाले अगुवाई गरि सहयोग जुटाउन थालेपछि उनको ज्यान जोगिएको हो । उनको मंगलबार चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा डा. अनिल बिक्रम कार्की नेतृत्वको पाँच सदस्यीय चिकित्सक टोलीले सफल शल्यक्रिया सम्पन्न गरेको हो । चिकित्सकले अमृता खतरामुक्त रहेपनि उपचार अझ डेढ दुई महिना लम्बिने र यसमा पाँच देखि ६ लाख रुपैयाँ कुल खर्च लाग्ने बताएको क्लबका अध्यक्ष प्रमोद कुमार साहले जानकारी दिए । अमृता विगत ६ वर्षदेखि घाँटीको क्यान्सर रोगले पीडित थिइन् । सम्पत्तिको नाममा केही नभएर ऐलानी जग्गामा फुसको घर बनाई बस्दै आएका शर्मा परिवारमा दुई वर्षअघि अर्को बज्रपात भयो ।

अर्काको खेतमा मजदुरी गरि परिवार पाल्दै आएका अमृताका बुबा महादेवको दुई वर्षअघि सडक दुर्घटनामा परि मृत्यु भएपछि विचल्लीमा परेका परिवार अमृताको उपचार कसरी गर्ने भन्ने चिन्तामा समेत डुबेका थिए । छोरी बचाउन आमा मायादेवीले सहयोगका लागि सबैसँग याचना गर्दै आएकी थिइन् । यसैक्रममा सामाजिक क्षेत्रमा क्रियाशिल सप्तरीको बलान बिहुल गाउँपालिकास्थित बेल्ही यूथ क्लबले चासो देखाए र क्लबका सल्लाह पवन शर्माको संयोजकत्वमा “अमृता बचाउ अभियान” संचालन गरि चन्दा संकलन थालेका छन् । बुधबार सम्ममा विभिन्न दाताहरुबाट ५२ हजार रुँपैया संकलन गरिएको अभियानका अर्का अगुवा एवं क्लबका संस्थापक अध्यक्ष प्रकाश यादव शंकरले बताए । उक्त रकम बुधबारै भरतपुर क्यानसर अस्पतालमै पुगि संयोजक शर्माले अमृताका ठूल बुबा सुकदेव शर्मालाई बुझाएका छन् । क्यान्सर पीडित छोरीलाई आर्थिक संकटका कारण उपचार गराउन नसकेको तथा उनी जिवनमरणको दोसाधमा रहेको जानकारी आएपछि आफूहरुले मानवीय धर्म निर्वाह गर्दै चासो देखाएको संयोजक शर्मँको भनाई छ । उपचार अझ केही दिन चल्ने र छुट गरेर पाँचदेखी ६ लाखसम्म खर्च हुने अस्पताल प्रशासनले बताएकाले चन्दा संकलन अभियान केही समय अझै जारि रहने सो क्लबले जनाएको छ ।

यता अमृताको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएकोमा परिवारजनमा खुशियाली छाएको छ । छोरीलाई कसरी बचाउने भन्ने चिन्ताले दिनरात पिरोलेको थियो, आमा मायाले भनिन् “अमृताका लागि क्लब र चिकित्सक दुबै अमृत बनेर आए ।”

Comment


Related News

Latest News

Trending News