अपडेट 
२०७८ भाद्र ५, शनिबार ०८:३१

शिर्षकबारे प्रष्टीकरण पछि दिउ“ला । विषयको उठान तीन दशक पूर्वको एउटा सत्य घटनाबाट गरौ । म प्रवीणता प्रमाणपत्र (आईए ) उतीर्ण गरेर राराब क्याम्पसमा स्नातक ( बीए ) मा नामांकन गराउने धुनमा थिए । मेरा एक मित्र जो दरभंगामा साईन्स पढ्थे , मसंग भेंट्न जनकपुर आउनु भयो । त्यतिवेला विहारमा लालू डिग्रीको उत्पात थियो । शिक्षक र प्राध्यापकहरु नियमित तलव पाउदैन्थे । शैक्षिक सत्र दुई तीन वर्षसम्म ढिलो हुन्थ्यिो । शिक्षण क्षेत्रमा माफियाहरुको हालीमुहाली थियो । मेरा मित्रले मसंग जिज्ञासा राखे – नेपालमा एमबीबीएस पढ्न कति प्रतिशत मार्कस् चाहिन्छ ? मैले भने – होईन , तपाईलाई कति प्रतिशत आएको छ ? उनले पटक पटक पुरानै सवाल दोहराई राखे । म पनि पुरानै जवाफ फर्काई राखे । अन्तमा ऊ गले अनि जवाफ फर्काए – मार्कस्को के छ , जति प्रतिशत चाहिन्छ , त्यति प्रतिशत आई हाल्छ नि ….। मेरो बोलती बन्द भयो । उनि घर फर्के । तीन वर्ष पछि स्वास्थ्य उपचारको क्रममा दरभंगा गएको बेला त्यो मित्रसंग भेंट भयो । कुराकानीको क्रममा थाहा भयो –, ऊ दरभंगा मेडिकल कलेजमा एमबीबीएस दोश्रो वर्षमा पढ्दै छन् । उनको बसाई हरिजन छात्रावासमा थियो । छात्रावासमा पुगी चिया खाएर फर्के । लज पुगुन्जेल मेरो मुटु फुट्लो जस्तो भई सकेको थियो । कारण मेरा मित्र हरिजन थिएनन भने ठोकुवा जानकारी थियो ।

आवश्यकता अनुसारको माक्र्सको जोहो गर्न सक्ने अनि सुविधा अनुसारको जात पनि परिवर्तन गर्न पाउने व्यवस्था देखेर छक्क नपर्ने को नै होला र ? तर आजको वास्तविकता के छ भन्ने मेरा मित्र एमबीबीएस उतीर्ण त गर्नु भयो तर सर्टिफिकेट पाउन सक्नु भएन । त्यसमाथि दुई वर्ष फरार हुनु पर्यो । पछि केही दिन जेल बसेर विना सर्टिफिकेट घर फर्किनु पर्यो । आज उनि आफ्नो गाउ“कै चोकमा औषधी पसल गरेर बसेका छन् । लुकि छिपी डाक्टरी पनि गर्छन । जेनतेन प्रकारेण परिवार चलाएका छन् । आज तीन दशक पछि मलाई यो संस्मरण कोट्याउनु पर्ने कारण हो , मुलुकको गंजागोल राजनीतिक अवस्था । दलहरु सुविधा अनुसार निती बनाउ“छन । सुविधाअनुसार जात परिवर्तन गर्छन अनि दलका भेडाहरु सहि गलतको लेखा जोखा नै नगरी नेताका पछि पछि खाल्टोमा गएर जाकिन्छन् । खाल्टोमा जाकिनुसंग मेरो आशय माथि वर्णित कथित डाक्टरको नियति भोग्नुसंग हो । ओली सरकारको अलोकतान्त्रिक कृयाकलाप र हैकमवादको विरोधमा अचेल मुलुकमा नया“ सत्तासमिकरण निर्माण भएको छ । जसलाई ओली समर्थकहरु अप्राकृतिक गठबन्धनको सज्ञा दिएका छन् । शेरबहादुर देउवा , प्रचण्ड , तत्कालीन जसपाको उपेन्द यादव गुट , तत्कालीन एमालेको नेपाल–खनाल गुटसंगै मान न मान मै तेरा मेहमान शैलीमा मिसिएको जसपाको महन्त–राजेन्द्र गुटको जुगलबन्दीमा शासनसत्ता परिवर्तन भएको छ । शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् । एमालेबाट उछिटिएर नेपाल–खनाल गुट तथा जसपाबाट उछिटिएर ठाकुर–महतो गुट नया“ दल दर्ता प्रकृयामा जुटेका छन् । दुबै दल दर्ता भएपछि वल्ल सरकार पूर्णता पाउने महानवाणी हालै देउवा, प्रचण्ड र नेपालको शिखर सम्मेलनबाट सार्वजनिक भएको छ । अचम्म त के पनि छ भन्ने उक्त शिखर सम्मेलनमा मधेसका मसिहा भनिने उपेन्द्र यादव र बाबा ठाकुरलाई बोलाउनु पर्ने आवश्यकता महसूस गरिएन । वास्तविकता के हो भने सत्ताधारी गठबन्धनमा माधव समूहको औपचारिक प्रवेशसंगै जसपाका दुबै गुट दूधको झिगा सरह भएको छ । तत्कालीन प्रतिपक्ष र अहिलेको सत्तापक्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाउने गरेका प्रमुख दुई आरोप थिए – संसद विघटन गरेको तथा संसदलाई छलेर विधेयक मार्फत मुलुक चलाउन खोजेको ।

ओलीको यस कदम विरुद्ध त्यतिवेला मुलुकभरि नै विरोध भएको थियो । राजनीतिक दलमात्र होईन , आफूलाई स्वतन्त्र अभियन्ता भन्न रुचाउनेहरु पनि सडकमा उत्रेका थिए । प्रमुख प्रतिपक्षीको नाताले नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा र संघीय संसदमा नेपाली काग्रेसका प्रमुख सचेतक बालकृष्ण खांडले विज्ञप्ति निकाली ओलीको त्यस कदमको निन्दा र भत्र्सना गरेका थिए । अर्कोतर्फ ओली समर्थक नेता कार्यकर्ता तथा युवाहरु अध्यादेशको पक्षमा नारा जुलुश गरेका थिए । पञ्चायती शैलीमा प्रतिकार गर्न उद्यत भएका थिए । अहिले परिस्थिती फेरिएको छ । देउवा ओली पथमा अघि बढदै छन् । सम्मानित सर्वोच्च अदालतको लक्ष्मणबुटी खाएर पुर्न जीवन पाएको व्यवस्थापिका संसद बिजनेसविहीन छ । संसदमा ५५ थान विधेयक तथा डेढ दर्जन अध्यादेश लम्बित छन् तर सम्मानित सर्वोच्चको अदालतको आदेशमा पुर्नजिवन पाएको संसदमा ती विधेयकहरुमाथि कुनै छलफल भएन । उल्टै दल विभाजन सजिलो हुने गरी अध्यादेश ल्याउन संसद स्थगन गरिएको छ । फेरी देउवा सरकारले ल्याएको अध्यादेश मेरा ती कथित डाक्टर मित्रको माक्र्स जस्तै हो । मेरा मित्रलाई एमबीबीएसमा अध्ययन गर्न चाहिने माक्र्सको जोहो गर्ने हैसियत थियो । ल्याए पनि । देउवा सरकार एमाले र जनता समाजवादी पार्टी फुटाउन आवश्यक पर्ने माक्र्स दिएर दुबै पार्टी विभाजन गर्ने वातावरण बनाई दिएको छ । साचौ भनौ भने देउवा सरकारले ल्याएको अध्यादेश ओली सरकारको अध्यादेश भन्दा पनि प्रतिगामी हो । ओलीले ४० प्रतिशतको श्लेवसंग खेलवाड गरेका थिएनन । केन्द्रिय समिति र संसदीय दल मध्ये कुनै एकमा ४० प्रतिशत संख्या पुर्याएर अर्को दल दर्ता गर्न सक्ने अलि सजिलो प्राब्धान थियो जबकि देउवाले यसलाई २० प्रतिशतमा छारेका छन् । मेरा कथित शुभचिन्तक कापी जाचकी जस्तै ।

हिजो ओलीले ल्याएको अध्यादेशको विरोध गर्ने नेपाल,यादव,प्रचण्ड चुप्प छन् । ओलीको अध्यादेशको समर्थनमा सडक तताउने ओली समर्थकहरु देउवाले ल्याएको अध्यादेशको विरोधमा सडक तताउदैछन् । लोकतन्त्र,विधिको शासन, समानुपातिक, समावेशीकरण, धर्मनिरपेक्षता लगायतका मन्त्र नेपाली काग्रेसका नेता तथा कार्यकर्ताहरु नियमित पाठ गर्छन । प्रतिपक्षमा हुंदा त झन बढि । सर्वहारा वर्गको उत्थान, वर्गीय मुक्ति, सुशासन कम्युनिष्टहरुको गुरुमन्त्र हो । तर वास्तविकता के हो भन्ने सत्ताबाहिर रहदा काग्रेस र कम्युनिष्ट दुबैलाई अ–आफ्ना मन्त्रसग सरोकार हुन्छ । सत्तामा रहदा सबै बिर्सिन्छन् । आम नागरिकलाई चाहिएको हो – विधिको शासन, समानुपातिक, समावेशिता, धर्मनिरपेक्षता, वर्गीय, जातीय, लैंगिक विभेदको अन्त्य । जो नेताहरुको पूजा कोठामा सिमित छ । त्यसैले आम नागरिक लोकतन्त्रको खीर अझै चाख्न पाएका छैनन् र पो भन्नु परेको छ – बकरी बियेतै त खीर खेबै हमहु“ ….। अब हेरौं यो बाख्रा कहिले बियाउने हो र सर्वसाधारण लोकतन्त्रको खीर चाख्ने हुन ?

Comment


Related News

Latest News

Trending News