राजविराज । राजविराजमा शुक्रबार भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन ।
तीन जना सवार मोटरसाईकलका अर्का एक जना भने फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार विहान ११ बजे तिर राजविराज नगरपालिका १५ स्थित खाँडो खोला पुल नजिकै अनटेष्ट मोटरसाईकल दुर्घटनामा परेको हो । तीन जना सवार मोटरसाईकल अनियन्त्रित भएर खाँडो नदी मै पसे पछि मोटरसाईकल चालक राजविराज नगरपालिका ११ झलही फर्सैठ निवासी २६ वर्षीय विनोद सदाको मृत्यु भएको छ । उनको उपचारको क्रममा स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । मोटरसाइकलको पछिल्लो सीटमा सवार सोही वडा निवासी २१ वर्षीय गौतम सदा घाइते भएका छन् । अर्का सवार धनराज सदा भने फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ । तीन जना सवार तथा अत्याधिक मदिरा सेवनका कारण चालकले नियन्त्रण गुमाउदा गाडी खाडो नदीमा पसेको स्थानिय प्रत्यक्षदर्शीहरुले बतँएका छन् । यद्दपी प्रहरीले पोष्टमार्टम रिपोर्ट आएपछि मात्र यसबारे यकिन भन्ने सकिने जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी काफ्लेले जानकारी दिए ।


