गरुडा । रौतहटको माधवनारायण नगरपालिका वडा नं ६ माधोपुरका वडाध्यक्ष राजीव कुमार यादवले राहत सामग्रीको विषयलाई लिएर विपक्षीले जनतालाई भ्रमित गर्न खोजेको दावी गरेका छन् ।
विकास निर्माण लगायतको काम देखेर हतोत्साहित भएका विपक्षी दलका केही नेताले चामल कुहाएको भनी आरोप लगाइ बदनाम गर्न खोजेको वडाध्यक्ष यादवले प्रष्टयाए । वडा कार्यालय भवनमा सोमबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै वडाध्यक्ष यादवले केही दिन अघि मात्र वडा सदस्य विरविपुल साहले एक भिडियोमा सयौं बोरा खाद्यान्न सामग्री कुहाएर नष्ट गरेको भनी आफुमाथी लगाएको आरोप निराधार रहेको उनले दावी गरे । गरिव, निमुखा जनतालाई सहयोगका लागि नगरपालिका र प्रदेश सरकारले उपलब्ध गराएको तीन सय बोरा चामल, सयौं बोरा दाल लगायतका खाद्यान्न सामग्री कसैलाई वितरण नै नगरी वडाध्यक्ष राजीव यादवले कुहाएर नष्ट गरेको भनी आरोप लगाएको थियो । विपक्षीले लगाएको उक्त आरोपमा कुनै सत्यता नरहेको वडाध्यक्ष यादवले बताए । वडा कार्यालयको गोदाममा तीन सय बोरा चामल समेत नभएको अवस्थामा तीन सय बोरा चामल नष्ट गरिएको भनी लगाइएको आरोप गलत रहेको उनले बताए । दैविक प्रकोप अर्थात कुनै आफत विपद्मा परेकाहरुलाई सहयोग गर्नका लागि गोदाममा केही मात्रामा स्टक गरी खाद्यान्न सामग्रि राखिएको र त्यसमध्ये अलिकति पनि खाद्यान्न सामग्रि कुहिएर नष्ट नभएको वडा अध्यक्ष यादवले दावी गरे । स्थानीयहरुले वडाध्यक्ष यादव गरिव निमुखा जनतालाई वितरण गर्नका लागि आएको राहत वितरण नै नगरी गोदाममै कुहाएको दावी गरेपनि वडाध्यक्ष यादवले उक्त राहत सामग्री नकुहिएको र सुरक्षित नै रहेको दावी गरे । निर्वाचनमा आफुसँग पराजित भएका केही व्यक्तिले पराजित भएको इष्र्याले चामल कुहाएको भनी गलत आरोप लगाइ जनतामा झुठो भ्रम फैलाएको उनले बताए । भदौ १५ गते पछि स्टक गरि राखिएको राहत सामग्री वितरणका लागि दैविक प्रकोप समितिको बैठक बसाइ कसलाई कुन हिसावले राहत दिने भन्ने निर्णय गरी वितरण गर्ने उनले बताए । विपक्षीले राहत सामग्रीकै विषयलाई लिएर आफुलाई बदनाम गर्ने षडयन्त्र रचेको उनको ठम्याई छ ।
आफुले जनताको चाहना अनुसारको काम गर्दा विपक्षीलाई अपच भएको र उनीहरु आफुमाथी विभिन्न आरोप लगाएर बदनाम गराउन खोजेको उनले बताए ।


