अपडेट 
२०७८ भाद्र ९, बुधबार ०७:०६

जनकपुरधाम । संस्कृतिविद् रामभरोस कापडि़ले संस्कार गीतलाई पाठ्यक्रममा समावेश गरी अध्ययन – अन्वेषण गराउनु पर्ने तर्क गरेका छन् ।

सखी बहिनपा मैथिलानी समूहको स्थापना दिवसका अवसरमा मंगलबार जनकपुरधाममा आयोजित मैथिली सोहर (जन्म गीत) प्रतियोगितामा पुरस्कार प्रदान गर्दै उनले संस्कार गीत आधुनिकताबाट अतिक्रमित हुँदै गएको प्रति चिन्ता व्यक्त गरे । संस्कार जीवन पद्धति भएकाले यसको संरक्षण, विकास र रक्षाबाट नै जीवनको स्पष्टता हुन सक्ने प्रसङ्ग उल्लेख गर्दै संस्कृतिविद् कापडि़ले लोप हुन लागेको संस्कार गीतलाई पुस्तामा हस्तान्तरण गर्ने अभियानप्रति सजग हुनु जरूरी रहेको बताए । ग्रामीण क्षेत्रमा गाइने जन्मदेखि मृत्युसम्मका संस्कार गीतको सङ् कलन र पुस्तक प्रकाशन गर्नु पर्ने खाँचौं औल्याउदै उनले भने ,“ लोप हुन लागेका संस्कार गीतको संरक्षण आवश्यक छ । ” नेपाल वार एसोसिएसनका केन्दीय सदस्य श्यामकुमार मिश्र संस्कार गीतलाई लोप हुनबाट बचाउन मैथिलानी सजग हुनु जरूरी रहेको बताए । नारी शक्ति संगठित र सजग भएमा मिथिलाको संस्कृति कहिल्यै पनि लोप हुन नसक्ने धारणा उनले राखे । साहित्यकार श्मामसुन्दर शशिले संस्कार गीत अनमोल खजाना भएकाले यसलाई पुस्तामा हस्तान्तरण गरी संरक्षण गर्ने दायित्व सबैको भएको बताए । सखी बहिनपाका अभियानीहरू भारती चौधरी , पुनम झा मैथिल र बिन्दु ठाकुरले सखी बहिनपा समूह भाषा , सभ्यता , संस्कृति , कला , उद्यमको रक्षामूलक अभियान स्थापनाकाल देखि नै गर्दै आएको जानकारी दिए । सखी बहिनापाका अभियानी सुनिता मिश्रको अध्यक्षतामा भएको सो प्रतियोगितामा मीरा पाठक प्रथम , मोती झा द्वितीय र रिता मल्लिक तृतीय तथा सलोनी साह , चन्द्रकला राउत , रूक्का मिश्र , मीना ठाकुर , शिल्पी मिश्र , नमिता ठाकुर , डा. गायत्री झाले सान्त्वना पुरस्कारबाट पुरस्कृत भइन् । कलाकारहरू नवीन मिश्र र संगीता देव तथा साहित्यकार श्यामसुन्दर शशि निर्णायक रहेको सो प्रतियोगितामा कलाकार पूर्णकला मिश्र ,संगीता देव , प्रियाशा चौधरीले अप्रतियोगी संस्कार गीत प्रस्तुत गरेकी थिइन् ।

सो अवसरमा अरूणा मिश्र, बिन्दु ठाकुर , भारती चौधरी , सुनिता मिश्र र पुनम झा मैथिलद्वारा गाइएको “ पाँच सोहागिन ” नामक वैवाहिक संस्कार गीतको एलबम पनि सार्वजनिक गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News