लालबन्दी । सहकारी एकीकरण सम्वन्धी अन्तक्र्रिया कार्यक्रम सर्लाहीको हरिवनमा सम्पन्न भएको छ ।
सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनमा जिल्लाका ९ वटा ठूला सहकारीहरुबीच एकीकरणका सम्वन्धमा अन्तक्र्रिया गरिएको हो । सगुनका अध्यक्ष केशव ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बाबुराम घिमिरे प्रमुख अतिथि थिए । सहकारीहरुबीच एकीकरणका लागि सबैले आ–आफ्नो ठाउँबाट त्याग गर्नुपर्नेमा कार्यक्रमको अध्यक्षता गरेका आयोजक सगुन सहकारीका अध्यक्ष केशव ढकालले जोड दिए । त्यस्तै, यो वर्ष नेफ्स्कूनबाट प्रदेश २ कै उत्कृष्ट सहकारी घोषित भएको स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बेनीबहादुर कार्कीले सहकारी एकीकरण अहिलेको अपरिहार्यता रहेको बताएका छन् । त्यसैगरी, नेत्रगन्ज महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष मन्दिरा आचार्य, सूर्योदय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जवाहारलाल कुशवाहा, जनहित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चेतप्रसाद तिमल्सिनाले सहकारी एकीकरणको अनुभव सुनाए । डुमडुमे बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक रामराजा कार्कीको संचालन तथा सगुनका सचिव राजकुमार उप्रेतीको स्वागत रहेको कार्यक्रममा स्वस्तिकका व्यवस्थापक विनोद कुमार थापाले सहकारी एकीकरण सम्वन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । अन्तक्र्रियाबाट सहकारीहरुबीच एकीकरण गर्न बाबुराम घिमिरेको संयोजकत्वमा सदस्य सचिव समेत गरी १० सदस्यीय समिति गठन गरिएको छ । समितिमा बेनीबहादुर कार्की, ओमकुमारी गौतम, जवाहारलाल कुशवाहा, रोमा निरौला, चेतप्रसाद तिमल्सिना सदस्यसहित स्वस्तिक सहकारीका व्यवस्थापक विनोद कुमार थापा सदस्य सचिव छन् । बागमती सहकारीले भने पछि छलफल गरेर सदस्यको नाम दिने भएको छ ।
अन्तक्र्रियामा सगुन सहकारी हरिवन, स्वस्तिक सहकारी बयलवास, सूर्योदय सहकारी सोल्टी, नन्देश्वर महिला सहकारी नवलपुर, नेत्रगन्ज महिला सहकारी नवलपुर, जनहित सहकारी रानिगन्ज, डुमडुमे सहकारी लालबन्दी, हरिवन सहकारी हरिवन र बागमती सहकारी बागमतीको सहभागिता थियो ।


