अपडेट 
२०७८ भाद्र १०, बिहीबार ०७:०१

माधव नेपाल बामपंथी मध्येका एउटा यस्ता नेता हुन् जसको सम्बन्ध नेपाल कम्युनिष्ट आन्दोलनसँग निर्विकल्प रूपमा जुटेको देखिन्छ । कसैले प्रश्न गर्न सक्छ के माधव नेपाल मात्रै यस पार्टीलाई निर्माण गरेका हुन् त ! यो कदापि भन्न खोजेको होइन् । पार्टी कुनै मानिसले एक्लै निर्माण गरेको हुँदैन तर विचारको अगुवाइ एक जना पक्कै गरेको हुन्छ । त्यसमा माधव नेपालको पछिल्ला कामलाई मूल्यांकन गर्दा पक्कै पनि नेपाल कम्युनिष्ट पार्टीको निर्माणमा वहाँको योगदानलाई बिर्सन सकिंदैन । क. माधव नेपाल अहिले नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट छुट्टिएर एउटा नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । यस प्रस्तावित पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) राखेका छन् । हुन त हाल यस पार्टीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट बढी सदस्यहरू यतातिर आएनन् तर एमाले भित्रका धेरै नेता÷कार्यकर्ताहरू निकट भविष्यको पर्खाइमा छन् । उता ओली नेपाल लगायत पार्टीका १४ सांसदलाई पदमुक्त गर्न कारबाईलाई अगाडि बढाएका छन् । कारबाई सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा थन्किएको छ । प्रमुख प्रतिपक्षीदल एमालेका सांसदहरू आफ्ना पार्टीका १४ सांसदलाई पदमुक्त गर्न आनाकानी गरेका भन्दै सभामुख सापकोटा बिरूद्ध आक्रामक बनेका छन् । सभामुखलाई कार्यकक्षमै भेटेर कारबाईको सूचना टाँस गर्न दबाव दिई रहेका छन् ।

एमालेले वैशाख २७ गते प्रतिनिधि सभा बैठकमा तत्कालीन प्रधानमंत्री ओलीले विश्वासको मत लिने क्रममा ह्वीप उल्लंघन गरेको भन्दै १४ सांसदलाई कारबाई गरेका पत्र गत मंगलवार संसद सचिवालयमा पठाएको थिए । राजनैतिक दल सम्बन्धी ऐनको दफा ३६ मा उल्लेख भए अनुसार पार्टीले कारबाई गरेको पत्र संसद सचिवालयमा दर्ता गराई सकेको अवस्थामा संसद सचिवालयले १५ दिन भित्र संसद चलिरहेको बेला संसद बैठकमा र नचलेको बेला सूचना पाटीमा सूचना टाँसेपछि संसद पद रिक्त भएको मानिन्छ । यसै बीचमा म्याद हुँदा– हुँदै एमालेले छिट्टो गरि दिन दबाब बढाएको छ । कानून अनुसार १५ दिनको समयावधि सभामुखलाई कानूनले दिएको हुनाले त्यसलाई अध्ययन गर्न सभामुखले १५ दिनसम्म कानून अनुसारै अडाउन सक्छन् । माधव नेपाल समेतलाई कारबाई गरेको सूचना टाँस नगरेसम्म पदमुक्त भएको मान्न सकिंदैन । कारबाई गरिएका सांसद सहितले छुट्टै दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् । सांसदबाट पदमुक्त हुनु अघि नै दल दर्ताको मान्यता पाउन सक्ने भन्दै एमाले हतारिएको हुन सक्छ । उत्ता निर्वाचन आयोगले नयाँ दल दर्ता गर्न निवेदन दिएकालाई सनाखतका लागि बुधबार अर्थात भाद्र ९ गते बोलाएको छ । सबै प्रक्रियापूरा भए बुधबारै नयाँ पार्टी दर्ता हुन सक्ने आयोग स्रोतले जनाएको छ । यहाँ ओलीको लागि हतारिनुको कारण कारबाई भन्दा पहिले नै पार्टी दर्ता भई सके पछि कारबाई फितलो हुने विश्वास छ । त्यसैले ओली पक्षीय सांसदहरू नयाँ पार्टी दर्ता भन्दा पहिले नै कारबाईलाई सभामुखद्वारा अन्तिम ढुंगोमा पु¥याउन चाहि रहेका छन् । यसका लागि एमालेका सांसदहरूले देखाएका अशोभनीय र अमर्यादित व्यवहारले बातावरण बिगार्न मद्दत गरेको हुन सक्छ । सभामुखले यस विषयलाई निष्कर्षमा पु¥याउन कै लागि छलफल जारी राखेका छन् ।

एमालेले पनि सभामुखले गर्ने कानूनी अध्ययन बारे बुझिदिनु पर्ने हुन्छ । दुबै दल बीच जे जस्तो तामझाम गरे पनि निष्कर्ष निस्किदैन होला । अहिले एमाले तीन खेमामा विभक्त छन् । एउटा मूल खेमा ओली निकट छ भने अर्को माधव नेपालसँग पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । केही मध्यमार्गी नेताहरू अहिले पनि पार्टीलाई एकीकरण गरेर अगाडि बढाउनेमा आशान्वित छन् । यी मध्यमार्गी नेताहरूले पार्टी एकताकालागि भन्दै अघि सारेका सर्त सहितका माग प्रति अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) दर्ता अगाडि बढाएका माधवकुमार नेपालले बेवास्ता गरेका छन् । दुबैले उनीहरूका सर्त मान्न नसकिने प्रतिक्रिया दिएका छन् । यी बार्ता समितिका भीम रावल सहित स्थायी कमिटीका ९ सदस्यले विहिबार बक्तव्य मार्फत १० बुंदे कार्यान्वयन र नेपाल सहित १४ सांसद माथिको कारबाई फिर्ता लिन ओलीसँग माग राखेका थिए भने अलग पार्टी दर्ता प्रक्रिया रोक्न र एकता प्रति सकारात्मक हुन नेपालसँग आग्रह गरेका छन् । यी मध्यमार्गी नेताहरूले दुबै नेतालाई मंगलबारसम्मको अल्टिमेटम दिएका छन् । ओलीको तिकडमले गर्दा झनझन एकताको अवस्था बिगर्दै गएको देखिन्छ । पार्टी भित्र जबसम्म मनमा घुँडीघाँटी राखेर कुरा भई रहन्छ तबसम्म एकता हुन गाह्रो छ । माधव नेपाल समेतले अन्तिममा आएर पार्टी अलग्गै गर्ने धारणा बनाइ सकेका छन् । पार्टीभित्र माधव नेपाल, झलनाथ खनाल तथा बामदेव गौतम जस्ता पुराना नेताहरूले सधैं अपमानित भएर बस्नु भन्दा अलग्गै धारमा जानु उत्तम ठानी नयाँ पार्टी दर्ताको प्रक्रियातिर लागेका छन् । ओलीले आफू अध्यक्ष रहँदासम्म आफ्नै तानाशाहीमा पार्टीलाई हाक्न खोज्छन् । यहाँहरू जे जति गर्न खोजे पनि उहाँले आफू नजिकका मान्छे भन्दा अन्यलाई कुनै मानसम्मान दिंदैनन् वरू खाली ठाउँमा अन्य पार्टीबाट फुटाइ ल्याएर नव प्रवेशीलाई जे पद पनि दिन तयार हुन् पछि पर्दैनन् । यस्तै व्यवहारले गर्दा आजको दिन हेर्नु परेको छ ।

अन्यथा पार्टी फुट्ने थिएन होला । पार्टीभित्र प्रजातांत्रिक व्यवहारको विकास हुन सकेन । पार्टी एक्लै अध्यक्षको मात्र हुँदैन । पार्टीले ऐन, नियम, कानूनलाई छोडेपछि त्यहाँ यस्तै व्यक्ति बिशेषको तानाशाही चल्छ । जसले एक न एक दिन पार्टीलाई फुटको कगारमा ल्याई खडा गरेको हुन्छ । अहिले पार्टीको फुटले केन्द्रदेखि स्थानीय स्तरसम्म आफ्नो काम शुरु गरिसकेको छ । कतिपय प्रदेशमा ओली सरकारको प्रतिगमन भएको छ भने त्यस ठाउँमा कांग्रेस, माओवादी केन्द्र, माधव नेपाल समूह, समाजवादी पार्टीहरूका साझा उम्मेदबारहरू ठाउँ लिइरहेका छन् । पार्टीभित्र पनि केन्द्रदेखि गाउँ÷नगर स्तरसम्म नेता÷कार्यकर्ताहरूमा अन्यौलता देखिन्छ । यसलाई कसरी समाधान गर्ने होला निकट भविष्यले नै देखाउने छ । ओलीजी अहिले पनि २ तिहाइको सरकार सहित पुनः बालुवाटार छिड्ने उद्घोष गरे सँगै पार्टी फुट्ने शुरूआत भै सकेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संयुक्त रूपले उम्मेदवार उठाएर निर्वाचन लड्दा त दुई तिहाइ आएन । अहिले पार्टी फुट÷जुटको प्रक्रियाबाट गुज्री रहेको हुँदा दुई तिहाइको सरकार भने कल्पना मात्र होइन र ! सपना देख्नु राम्रो कुरा हो तर एकै चोटी निकै फरक भएपछि त्यसलाई जनताले शंकाको दृष्टिले हेर्न थाल्छन् । ओलीजी सरकारमा हुँदा माओवादी केन्द्र तथा समाजवादी पार्टीलाई फुटाउँदा आफूलाई निकै कुशल राजनीतिज्ञ सम्झी काम गरेका थिए । अहिले माओवादी केन्द्र र समाजवादी पार्टीको हालत खुदै ओलीको पार्टीमा देखिएका छन् । फुटमा धेरै÷कम सांसदको संख्याको कुरा हुँदैन । जनताको सोचमा यो पार्टी फुटेको हुनाले निर्वाचनमा बढी सीट ल्याउँदैन भने मनोविज्ञानले काम गर्न थाल्छन् । यसको असर सोझो रूपले पार्टीमा परेको देखिन्छ । हुन त नेपालमा दलहरूका इतिहासले के देखाउँछ भने जस्तो बहुमत आएपनि समय अगावै संसदलाई बिघटन गरी जनताको ताजा जनादेशको नारा दिएका हुन्छन् तर अहिलेको संविधान र बिगतको संविधानमा निकै भिन्नता छ ।

अहिलेको संविधानले अन्तिम विकल्पको रूपमा नेपालको संविधानको धारा ७६ उपधारा ५ मा व्यवस्था गरेको छ । यस दफा अनुसार सरकार बनाउन ह्वीपरहित भएर काम गर्न पाउँछन । जो सरकारले यस्ता लोकतान्त्रिक संविधानलाई एक चोटी होइन, दुई÷दुई चोटी बिघटन गरी लोकतंत्रलाई समाप्त पार्न खोजेका कारण सरकारबाट अल्गिनु परेको थियो । जनता अहिले यस्ता कुरालाई विर्सेका छैनन् । बहुदलीय प्रणालीमा नयाँ नयाँ पार्टीहरू निर्माण हुनु र एक अर्कासँग विलय हुनु सामान्य कुरा मानिन्छ । जे जति पार्टीहरू भएपनि देशको संविधान अनुसार चल्नु पर्ने हुन्छ । यदि संविधान अनुसार चलेन भने देशमा अराजक स्थिति सर्जना हुन आउँछ । नेपाल बल्ल यस्ता अराजकताबाट पार पाएको छ । पुनः तुरून्तै यस्ता अराजकतातिर जनता जान मान्दैन होलान् । नेपाली जनताले निकै समय यस्तै अराजकतापूर्ण जीवन बिताइ सकेका छन् । पुनः यस्ता कुरातिर जान चाहँदैनन् । अहिले नयाँ पार्टीको निर्माणमा लागेका माधव नेपाल जस्ता परिपक्व नेताले निकै साबधानीसाथ पार्टीलाई अगाडि बढाउनु पर्ने हुन्छ । निकै धेरै चुनौती आउन सक्छन् । नेताहरूको छलफलबाट जस्तो सुकै चुनौतीलाई सजिलै समाधान गर्न सकिन्छ । पार्टीका नेताहरूलाई बरिष्टता तथा कार्यक्षमताको आधारमा काम दिनु पर्ने हुन्छ र सोही अनुसार सम्मान पनि दिनु पर्ने हुन्छ । जनता सर्बोपरि हुन् । जनताको सेवामा लागेका पार्टीले मात्र सरकारमा जाने मौका पाउँछ । यसरी संविधान जनता र देशलाई जथाभावी चलाउन खोजेका नेताहरूलाई जनताले कतिसम्म विश्वास गर्छन भने कुरा हेर्न बाँकी छ । इतिश्री । लेखक त्रिविका सेवानिबृत सह–प्राध्यापक हुन् ।

Comment


Related News

Latest News

Trending News