अपडेट 
२०७८ भाद्र १३, आईतवार ०७:०२

नेपाली कांग्रेसका उप–सभापति बिमलेन्द्र निधि आगामी मंसीर ८ गतेका लागि निर्धारित चौधौं महाधिवेशनमा नेपाली कांग्रेसको सभापति पदमा चुनाव लडदैछन । यसै प्रयोजनका लागि निधिलेले भदौ ११ गते शुक्रबार काठमाडौं, नयाँ बानेश्वरमा बिभिन्न धर्म र सम्प्रदायका पण्डित र पुजारीबाट मन्त्रोच्चारण सहित आफनो सम्पर्क कार्यालयको उद्घाटन गराए । यसका साथै निधिले आगामी अधिवेशनमा आपूmलाई बिधिवत नेपाली कांग्रेसको सभापति पदको उम्मेदवारका रुपमा प्रस्तुत गरेका छन । निधिको सम्पर्क कार्यालयको उदघाटन नै एक अभियानका रुपमा भएको थियो । तर, धर्म निरपेक्षताका कट्टर समर्थक मानिएका बिमलेन्द्रको चुनावी सम्पर्क कार्यालयको उदघाटन समारोहमा धार्मिक बिधिको अवलम्बनले अलिकति मिश्रित प्रतिक्रिया जन्मायो ।

कतिले यसलाई स्वाभाविक रुपमा लिए भने कतिले अहिलेसम्म धर्म निरपेक्षताका पक्षधर रहेका बिमलेन्द्र निधिबिस्तारै हिन्दू धर्मको नजीक आएको अनुमानपनि गरे । अनुमान नाजायज थिएन । तर, धर्मसंग नजीक र टाढाको सम्बन्ध भन्नेजस्तो केही थिएन । बिमलेन्द्र निधिएकातिर धर्म निरपेक्ष समाजका समर्थक हुन भने अर्कोतिर उनी हिन्दूधर्माबलम्बीनेपाली हुन । धर्म निरपेक्षताको अर्थ धर्मलाई निषेधगर्नु होइन । त्यसैले यसलाई बिबादमा तान्नु आबश्यक छैन । सम्पर्क कार्यालयको उदघाटन समारोहमा बिमलेन्द्रका कार्यकर्ता मात्र थिएनन, पार्टीभित्र उनीप्रति शुभेच्छाराख्ने मित्रहरु, बिभिन्न सामाजिक समुदायका नेताहरु, ब्यबसायीहरु र राजनीतिक नेता र सबै खालका कार्यकर्ताको आकर्षक उपस्थिति थियो । अहिलेसम्म सभापतिको उम्मेदवारका रुपमा दृढ प्रतीज्ञ देखिएका डा. शेखर कोइराला र प्रकाशमान सिंहले आ–आफना सम्पर्क कार्यालय खोली सकेकाछन । डा. कोइरालाको सम्पर्क कार्यालय नक्सालमा छ भने प्रकाशमान सिंहको बानेश्वरमा । सभापति शेरबहादुर देउवाले भने आफनो सरकारी र निजी निवासका साथै पार्टी कार्यालयलाई पनि सम्पर्क कार्यालयको रुपमा प्रयोग गरेका छन । सभापति पदका लागि प्रतिस्पध्र्दामा उठेका उम्मेदवारहरुभन्दा प्रधानमन्त्री देउवा अत्यन्त सुविधाजनक अवस्थामा छन । यसमा कुनै शंका नै छैन । उनले झण्डै तीन महिनापछि हुने सभापतिको चुनावलाई आफनो पक्षमा ल्याउन चुनावी तिकडमको प्रारम्भ गरि सकेका छन । बिमलेन्द्र निधिको सम्पर्क कार्यालयको उदघाटन समारोहमा भागलिन जान लागेका कतिपय सहभागीहरुलाई देउवाले रोकेका थिए ।

समारोहमा सांसद दिब्यमणि राजभण्डारी र स्मृति नारायण चौधरी, दुइ नम्बर प्रदेशका मन्त्री रामसरोज यादव र ओमप्रकाश शर्मा, चन्द्र भण्डारी, होमनाथ दाहाल, डडेलधुराका सभापति कर्ण मल्ल, काभ्रेका मधु आचार्य, जगदीश नरसिंह केसी, रमेश धमला, अजय व्दिबेदी, महेश शंकर गिरि, दिनेश यादव, लक्ष्मी परियार, मनमोहन भट्टराई, सुरेश मल्ल लगायतका जिल्ला सभापति र नेताहरु उपस्थित थिए ।गोबिन्द पोखरेल, बिनोद भट्टराई, सुशीला स्वाँर, भरत शाह, हरि न्यौपाने, प्रमिला दास, शेख लालवावु, मन्जु यादव, मीनाक्षी झा, शिवचन्द्र चौधरी, मदनअमात्य, मोहन राइ, यशोदा लामा, शोभा लामा लगायतका थुप्रै नेता कार्यकर्ता कार्यक्रममा उपस्थित थिए । चुनावका लागि पायकपर्ने ठाउँमा सम्पर्क कार्यालय खोल्ने चलन अहिलेको होइन । यो दुइ तीन चुनाव पुरानै चलन हो ।शहर बजारमा बस्तीहरुको बिस्तार र बिकासले यस्ता सम्पर्क कार्यालयको स्थापनालाई अपरिहार्य बनाएको छ । यसपटक नेपाली कांग्रेसको चौधौं महाधिवेशनमंसीर ८ गते काठमाडौको राष्ट्रिय सभागृह र भृकुटी मण्डप परिसरमा हुने निश्चित भएकोले पनि कांग्रेसका कार्यकर्ता निकै उत्साहित देखिएकाछन । संघीय राजधानी काठमाडौंले देशमा हुने राजनीतिक, सामाजिक र सांस्कृतिक कर्महरुलाई ठाउँ र संरक्षण दिदै आएको छ । २००७ सालमा लोकतन्त्रको आगमनपछि काठमाडौं उपत्यकाका सांस्कृतिक जात्राभन्दा राजनीतिको जात्रामा जनताको आकर्षण बढदै गएकोछ । त्यसो त काठमाडौं उपत्यका आफै पनि जात्रा केन्द्रजस्तो भइ सकेको छ, तै पनि, यसले खानदानी धनाढ्य र खानदानी गरीब दुबैथरिलाई ओत दिएकोछ । यो शहरको महानता र बिशेषता यही हो । नेपाली कांग्रेस अहिले ठूलो सांगठनिक संकटमा रहेकोछ । यो पार्टी गुटैगुटको दलदलमा भासिएकोछ । पार्टीमा जति बरिष्ठ नेता छन त्यति नै गुट छन ।

यो अवस्थामा रहेको पार्टी अहिलेको राजनीतिक परिवेशमा कसरी अगाडि बढन सक्दछ ? प्रश्नहरु खडा छन । निश्चय पनि, पार्टीको यो दुरावस्थाका लागि सभापति देउवा नै बढी दोषी छन । सभापति देउवाको त जति तारीफ गरेपनि पुग्दैन । उनले नै पार्टीको महाधिवेशन समयमा नगराएर डेढ बर्षपछि सार्ने कपट गरे । अर्का बरिष्ठ नेता रामचन्द्र पौडेल पनि पार्टीको अवस्था बिग्रिनुमा उत्तिकै दोषी छन । उनले चाहिने र रचनात्मक कुरामा पार्टी नेतृत्वको आलोचना कहिल्यै गरेका छैनन ।उनको गुनासो आपूm सभापति बन्न नपाएको भन्नेमा केन्द्रित छ । उनी एकपटक पार्टी सभापति भएर, त्यही नाताले प्रधानमन्त्री बन्न चाहन्छन । उनले आफनो इच्छा पूरा गरिदिन सबैसंग हारगुहारगर्न थालेका छन । उमेरले पनि पार्टी सभापति र बरिष्ठ नेता दुबैको कार्यक्षमता घटाएको छ । सभापति देउवा ७६ को समाप्तितिर छन भने बरिष्ठ नेता पौडेल ८० कट्न लागेका छन । नेताहरुको उमेर हाम्रो देशको ठूलो समस्या हो । लोभको चंगुलमा फँसेका नेताहरुकै कारण हाम्रो समाजमा मूल्यपध्दतिमाथि संकट बढेको छ । यस्तो अवस्थामा, परिवर्तनको चाहनामा लागेका मानिसहरुमा निराशा छाउनु दुःखदायी कुरा हो । यो परिस्थितिमा नेपाली कांग्रेसको नेतृत्व आफनो काँधमा लिने साहसका साथ अघि बढी रहेका युवा पुस्तालाई हतोत्साही बन्न नदिने मुख्य काम पार्टी नेतृत्वको हो । बिमलेन्द्र निधि राजनीतिज्ञ मात्रै नभएर, एक अध्ययनशील बुध्दिजीवी पनि हुन । उनलाई राजनीतिमा के गर्नु हुन्छ र के गर्नु हुँदैन भन्ने कुराको राम्रो ज्ञान छ । पिता महेन्द्रनारायण निधिले बिमलेन्द्रलाई राम्रो संस्कार दिनु भएकोछ । निधिजीले बिमलेन्द्रलाई आफनो राजनीतिक बिरासत भोग्न होइन, आफना आदर्शहरु पछ्याउन सँधै प्रेरित गर्नु भएको हो । बिमलेन्द्रका महत्वाकांक्षा, नेतृत्व क्षमता र जागरुकताकै कारण बीपी कोइरालाले उनलाई नेपाल बिद्यार्थी संघको राष्ट्रिय अध्यक्ष बनाउनु भयो ।

त्यतिखेर नेतृत्वपंक्तिमा उभिने सबैभन्दा कान्छा नेता थिए बिमलेन्द्र निधि । एउटा त्यस्तो जमाना थियो नेपाली राजनीतिमा कि शिर्षस्थ नेताहरु नेतृत्वगर्ने क्षमता भएका युवाहरुको पहिचान गरेर राजनीतिमा अगाडि बढन प्रोत्साहित गर्दथे । आज त्यो समय छैन । यो पटक नेपाली कांग्रेसमा अलिकति चर्कै बहस र छलफल हुनुपर्दछ । आजसम्म कांग्रेसका कार्यकर्ताहरुले नेताले जे भन्यो त्यसैमा त्वं शरणमगर्ने गरेका थिए । अब कांग्रेसका कार्यकर्ताहरुले सभापति लगायत ती सबैसंग प्रश्न सोध्नु पर्दछ आफनो राजनीतिक भविष्यका बारे । यो कुरा सत्य हो, अहिलेका जति पनि नेता छन तिनले आफना नेताहरुसंग कहिल्यै प्रश्न सोध्न सकेनन । त्यसको जरुरत पनि परेन । शेरबहादुर देउवाको क्षमताका बारेमा जानेर नै नेताहरुले उनलाई अघि बढाएका थिए । अहिले उनी आफनो निहीत स्वार्थ रक्षाका लागि कार्यकर्ताहरुलाई अन्धकारमा राख्ने गर्दछन । नेपाली कांग्रेसको सभापति पदमा प्रतिव्दन्व्दितामा जुटेका नेताहरुले नयाँ पुस्ताका लागि बाटो बनाइदिने, उनीहरुलाई नेतृत्वमा प्रोत्साहितगर्ने र जिम्मेवार बनाउनेतिर ध्यान दिनु आबश्यक छ । आजका युवावर्गलाई राजनीतिक शिक्षादिने काम राजनीतिक दलहरुले नै गर्नु पर्दछ । आज जुनसुकै पार्टीका कार्यकर्तामा पनि सैध्दान्तिक ज्ञानको अभाव छ । उनीहरु पार्टीका कार्यकर्ताका रुपमा देखिदैनन, अराजक भीडका रुपमा देखिन्छन । बिमलेन्द्र निधिले आफनो अभियान शुरु गरेका छन सभापति पदमा उम्मेदवारीको । यो अभियानभन्दा पनि आन्दोलन हो । यो आन्दोलनले देशको युवावर्गमा रहेको राजनीतिक चेतनालाई तिखार्नु पर्दछ ।

Comment


Related News

Latest News

Trending News