२०७८ भाद्र १४, सोमबार ०७:२७

रौतहट । कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटले भदौ १५ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञामा आवश्यक काम बाहेक घर बाहिर ननिस्कन प्रशासनले अनुरोध गरेको छ । उता, यहीबेला किसानलाई खेतमा हाल्ने रासायनिक मल लिनैपर्ने चटारो छ । मलका लागि सहकारीहरुमा लामो लाइन र भीडमा बस्नु किसानको बाध्यता हो । तर, यो भीडले कोरोनालाई गिज्याइरहेको छ । रौतहटको विभिन्न सहकारी अगाडि हिजोआज यस्तै ठूलो भीडहरु देखिन्छन् । रौतहटको कृषि सहकारी संस्थाहरुमा यतिखेर मल किन्ने किसानहरुको थेग्नै नसक्नेगरी भीड लाग्न थालेको छ । धानबालीमा मल छर्ने मुख्य सिजनमै आएर अहिले जिल्लामा मलको चरम अभाव भएपछि कृषि सहकारीमा मल किन्न किसानहरुको भीड लाग्न थालेको देखिएको छ । किसानलाई अहिले धानबालीमा छर्न रासायनिक युरिया मलको आवश्यक्ता छ तर युरिया मल पाउँनै छाडेपछि किसानको सहकारीमा भीड बढेको छ । सिजनमा मल नपाएका पीडित किसान मल आउन थालेपछि कोरोना फैलने डरत्रासको पर्वाह नगरी सहकारीमा भीड लाग्ने गरेको छ । जिल्लाको माधवनारायण नगरपालिका वडा नं. ६ माधोपुर बजार स्थित रहेको आयुष कृषि सहकारी संस्थामा आइतवार सयौं किसानहरू कोरोनाको त्रास मनमा लिएर मल लिन लाइनमा बसेका थिए । ठेलमठेल भीड गर्दै सहकारीले मल बाँडिरहेको दृश्यले संक्रमणको अवस्था भयावह बनाउन सक्ने त्रास जन्माएको छ । मल नपाएर छटपटाएका किसानको आइतवार मल आएको सुन्ने बित्तिकै उक्त सहकारीमा भीड लागेको थियो । कम मल आएको भन्दै आयुष कृषि सहकारी संस्थाले प्रति किसानलाई २५ किलोको दरले मल वितरण गरेको छ । मलको अभाव भएको मौका छोपेर आयुष कृषि सहकारी संस्थाले सरकारले तोकेको भन्दा ५० रुपैया बढी लिएर मलखाद्य वितरण गरेको छ । सरकारले युरिया मलको प्रतिबोरा मुल्य ९ सय ५० रुपैया तोकेको छ तर सहकारी संस्थाहरुले ५० रुपैया बढी नाफा लिइ प्रतिबोरा १ हजार रुपैयामा विक्रि वितरण गरिरहेको किसानहरुले बताएका छन । आयुष कृषि सहकारी संस्थाले आफुलाई प्रतिबोरा एक हजार रुपैयामा मल दिएको माधोपुरका किसान रमेशर राय यादवले बताए । कोरोनाको कुनै पर्वाह नै नगरी आयुष कृषि सहकारी संस्था अगाडि आइतवार दिनभरी मल किन्न किसानको भिड लागेको किसान यादवले बताए । केको कोरोना, केको सामाजिक दूरी, न सबैले मास्क लगाएका छन्, न सेनिटाइजरको व्यवस्था छ । आयुष कृषि सहकारी संस्था कार्यालयमा घचेडाघचेड, ठेलाम्ठेल भिड थियो’, उनले भने, ‘अहिले धमाधम धान हुर्काउने बेला भएको छ । मल चाहिने मुख्य बेला यही हो । सबैलाई मल चाहिएको छ । यस्तो बेलामा कोरोनाको डर भन्दा मल नपाइएला भन्ने डर धेरै भएको उनले बताए । मलको चरम अभाव भएकोले किसानलाई यतिखेर चर्को मुल्यमा मल किन्नुपर्ने बाध्याता रहेको देखिएको छ । सहकारी संस्थाहरुले सरकारले तोकेको भन्दा बढी मुल्यमा मल विक्रि गरेपनि सम्बन्धित निकायले कुनै चासो नदेखाएको किसानको गुनासो छ ।

रासायनिक युरिया मलको अभावमा यतिखेर रौतहटेली किसान छटपटाइ रहेका छन ।

Comment


Related News

Latest News

Trending News