अपडेट 
२०७८ भाद्र २०, आईतवार ०७:४०

लालबन्दी । सर्लाहीमा पेस्तोलसहित एक भारतीय युवक पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) त्रिभुवन नगरबाट सशस्त्र प्रहरी नायब निरीक्षक (सई) कृष्ण अधिकारीको नेतृत्वमा खटिएको गस्ती टोलीले शुक्रबार पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको हो । शुक्रबार साँझ पेस्तोलसहित पक्राउ पर्नेमा भारतीय नागरिक १७ वर्षीय गोलु कुमार दास रहेको प्रहरीले जनाए । भारतको सीतामढी जिल्ला सोनवर्षा ग्राम पञ्चायत–१ बस्ने सोरिक दासका छोरा गोलु कुमारलाई भारतबाट नेपालतर्फ आउँदै गर्दा पैदल गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले ब्रह्मपुरी गाउँपालिका–४ कालिमन्दिरबाट पक्राउ गरेको सशस्त्र प्रहरी बल १० नं. गण कविलासीका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले जानकारी दिए । एक थान कटुवा पेस्तोलसहित पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलङ्गवामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्रले शुक्रबार बिहान मात्रै लालबन्दी नगरपालिका–५ रेल्वे ट्रयाकस्थित जरुवा पानीबाट पाँच राउण्ड गोलीसहित एउटा कटुवा पेस्तोल र मोटरसाइकल बरामद गरेको थियो । सुरक्षाकर्मीलाई देखेपछि फरार भएका मोटरसाइकल चालकको खोजी तीव्र पारिएको प्रहरीले बताए । यता, सशस्त्र प्रहरी बल सर्लाहीले खाना पकाउने ग्याँस सिलिण्डरमा लुकाएर लागूऔषध नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो भारतबाट मलंगवातर्फ ग्याँस सिलिण्डर बोकेर नेपालतर्फ आउँदै गरेका भारतको सितामाढी जिल्ला रुवी सैदपुर थाना निवासी ६३ वर्षीय सुरेन्द्र राउत र ३२ वर्षीय नेता शर्मालाई पक्राउ गरिएको हो । उनीहरुका साथबाट खोकीको औषधीको रुपमा प्रयोग हुने नेपालमा प्रतिबन्धित वीनसीरेक्स ९४ बोतल बरामद गरेको छ । बोर्डर आउट पोष्ट मलंगवाको टोलीले ग्याँस सिलिण्डर बोकेर आएका दुवै जनालाई शुक्रबार दिउँसो ३२५ नम्बरको सीमा स्तम्भ नजिक चेकजाँच गर्दा सिलिण्डरको तलपट्टी कालोटेपले टाँसेर सय मिलिलिटर दरका ९४ वटा बोतलहरु प्याक गरिएको अवस्थामा फेला परेको थियो । एउटा सिलिण्डरमा ४८ तथा अर्को सिलिण्डरमा ४६ वटा बोतलहरु फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । लागूऔषधसहित दुवैजना भारतीय नागरिकलाई आवश्यक कार्बाहीका लागि जिल्ला प्रहरी कार्यालय मलंगवाको जिम्मा लगाईएको छ । सुरक्षाकर्मीले कडाई गर्दै गएपछि पछिल्लो समय लागूऔषध कारोबारी एवं सेवनकर्ताले मोटरसाईकल र साईकलको टायर, टिउ, तरकारीको बोरा, ग्याँस सिलिण्डर लगायतमा लुकाएर भारतबाट नेपालतर्फ भित्र्याउने उपाय थालेका छन् । भारतमा खुला रुपमा किनबेच हुने कोरेक्स, वीनसीरेक्स लगायत खोकीका औषधीहरु नेपालमा भने प्रतिबन्धित रहेको छ ।

लागूऔषधको रुपमा प्रयोग बढ्दै गएपछि भारतमा उत्पादन हुने विभिन्न औषधीहरु नेपालमा प्रतिबन्ध लगाईएको हो ।

Comment


Related News

Latest News

Trending News