२०७८ भाद्र २५, शुक्रबार ०९:०१

जनकपुरधाम । प्रदेश २ को आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले सञ्चार गृहलाई विद्युत महसुलमा छुट दिनसहितका विभिन्न माग राखेर आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहलाई ज्ञापनपत्र बुझाएका छन् ।

विद्युत महसुल बुझाउन नसकेका धनुषा र महोत्तरीका १० रेडियोको लाइन विद्युत प्राधिकरणले काटेपछि आमसञ्चार प्राधिकरणका अध्यक्ष यादवले विभिन्न ७ बुँदैं मागसहितको ज्ञापनपत्र बिहीवार मन्त्री साहलाई बुझाएका हुन् । एफ.एम., टेलिभिजन लगायतका सञ्चारगृहहरुमा जडान गरिएको विद्युत लाइन काट्ने कार्य अविलम्ब स्थगन गर्नुपर्ने, कोभिड १९ महामारी समेत विषम अवस्थालाई मनन् गरी कम्तिमा सो अवधीको विद्युत महशुल पूर्ण रुपमा मिनाहा गर्नुपर्ने, तिर्न बाँकी रहेको सञ्चारगृहहरुको विद्युत महशुल किस्ता किस्तामा बुझाउने व्यवस्था गरी कम्तिमा ६ महिनाको समय सिमा दिनुपर्ने लगायतका माग गरिएको छ । यस्तै लाइन काटिएका सञ्चारगृहहरुले तत्काल २५ प्रतिशत बुझाएमा अविलम्ब विद्युत सूचारु गर्नुपर्ने, एफ.एम. रेडियो, टेलिभिजन, अनलाइन, पत्रपत्रिका लगायतका आमसञ्चारमाध्यमले उपभोग गर्ने विद्युत महशुलमा विशेष छुट दिनुपर्ने, प्रदेश २ मा सञ्चालित एफ.एम. तथा टेलिभिजनहरुको लाइसेन्स नविकरणमा विशेष छुट तथा जरिवाना मिनाहा गर्नुपर्ने र बढी विद्युत खपत हुने सञ्चार गृहहरुका लागि सरकारी अनुदानमा सोलार सिस्टमको व्यवस्था गर्नुपर्ने माग पनि आमसञ्चार प्राधिकरणको छ । प्रदेश २ मा सामुदायिक ४८ र निजी लगानीम ४७ रेडियो सञ्चालनमा रहेको छ । जसमध्ये करिब एक दर्जन रेडियो विभिन्न आन्दोलनका क्रममा तथा आर्थिक मार धान्न नसकेर बन्द अवस्थामा रहेको ज्ञापनपत्रमा उल्लेख छ ।

भदौं २१ मा महोत्तरीका ६ रेडियोको लाइन विद्युत प्राधिकरणले काटेपछि ति सबै रेडियो बन्द छ । यस्तै धनुषामा पनि ४ रेडियोको लाइन काटिएको छ । महसुल तिर्न नसकेपछि प्राधिकरणले लाइन काट्ने काम निरन्तरता पाएपछि प्रदेश २ मा सञ्चालित पचास प्रतिशत भन्दा बढी एफ.एम.हरु बन्द हुने अवस्थामा पुगेको आमसञ्चार प्राधिकरणका अध्यक्ष यादवले मन्त्री साहको ध्यानाकर्षण गराएका छन् । उनले भनेका छन्, ‘ आवाज विहिनहरुको आवाज बनेका सञ्चारमाध्यमहरु बन्द हुनु अत्यन्तै दुर्भाग्यपूर्ण हो । ती सञ्चारमाध्यमहरुमा आश्रित सञ्चारकर्मी एवम् जनशक्ति थप समस्यामा परेको जानकारी गराउन चाहन्छु । यसतर्फ सरोकारवाला निकायहरुको ध्यान केन्द्रित हुनु आवश्यक छ ।’

Comment


Related News