जलेश्वर । महोत्तरीको बखरी– बथनाहा सडकखण्ड हिलाम्य बनेको छ । करिब एक दशक पुर्व कालोपत्रे गरिएको सो सडकखण्ड भरी खाल्डाखुल्डी बनेको छ ।
सडक मरम्मत सुधारको निम्ति पटक पटक बजेट पनि विनियोजन हुँदै आएको छ । तर काम भने कागजमै सीमित हुने गरेकोले सडकमा पैदल हिंड्न समेत गाहे हुने गरेको मनराशिस्वा –९ का स्थानीय युवा नेता विजय कुमार झाको गुनासो छ । महादेवपट्टी, चकबा , हलखोरी , मधवा , मरुवाही , सकरी लगायतका दर्जन भन्दा बढि गाउँका सयौं बासिन्दाहरुलाई हुलाकीसंग जोड्ने लिंक सडकको रुपमा रहेको सडकको अवस्था अस्त– व्यस्त भईदिंदा यात्रीलाई सास्ती भोग्नु परेको झाले बताए । सडकको अवस्था जस्तो सुकै भएपनि आर्थिक वर्ष २०७७÷७८ मा संघीय सरकारले मरम्मत सम्भारको लागि विनियोजन गरेको एक करोड रकम फिर्ता भएको जनता समाजवादी पार्टीका स्थानीय युवा नेता सरवेश झाले जानकारी दिए । सीमावर्ती क्षेत्रका जनताको लागि मुख्य सडक रहेको यस सडक प्रति नेताहरुले विभेद गरिरहेको आरोप उनले लगाए । डेढ वर्ष पुर्व चकबाका स्थानीयवासीहरुले सडक निर्माण गर्नु पर्ने मांग गर्दै आन्दोलन समेत गरेका थिए । सो बेलामा प्रदेश साँसद रानी शर्मा तिवारीले पोखरी छेउको सडक व्यवस्थित गर्न ७० लाख बजेट विनियोजन गराएकी थिईन् । आर्थिक वर्ष २०७५÷०७६ मै बजेट सकिएको भएपनि सडक भने जस्ताको तस्तै रहेको छ । पोखरीको छेउमै रहेको चकबास्थित सडकमा फागुन चैतमा समेत हिलो हुनुले नेताहरुको पोल खोलेको जनता समाजवादी पार्टीका महोत्तरी जिल्ला सचिव महेश यादवको धारणा छ ।
थरुवाही लगायतका गाउँका बासिन्दाहरुले करिब एक महिना पुर्व साँसद तिवारीलाई जर्बरदस्ती हिलोबाट हिंड्न लगाएका थिए । साँसदलाई सडकको अवस्थाबाट आजित बनेका स्थानीयवासीहरुले गाउँबाट लखेटेको खबर समेत आएको थियो ।


