सर्लाहीको मलंगवा नगरपालिका वडा न–७ मुसैलीस्थित बडकी पोखरीको सौन्दर्यीकरण तथा छठ घाट निर्माण कार्य अलपत्र परेको छ ।
आन्तरिक पर्यटनलाई प्रोत्साहित गर्न मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रम अन्तर्गत मुसैलीको श्री बौधी देवी जनता माविको अधिनमा रहेको मुसैलीस्थित बडकी पोखरीमा सौन्दर्यीकरण कार्य गत वर्षदेखि सुरु भएको थियो । करिब १० विग्हा क्षेत्रफलमा फैलिएको उक्त पोखरीको सौन्दर्यीकरण गरेर पार्क र छठीघाट निर्माण गर्न प्रदेश सरकारले गत २०७७ साल असोज ४ गते १५ महिनामा काम सम्पन्न गर्ने गरि करिब ६ करोर १२ लाख ९३ हजार रुपैयाँमा एम.आर. आर जे कमल जेभी जनकपुरधामलाई ठेक्का सम्झौता गरेको थियो । तर सम्झौता अनुसार काम सम्पन्न गर्ने समयसीमा समाप्त हुनै लाग्दा २० प्रतिशत काम मात्रै पुरा भएको हो । योजना सम्पन्न गर्ने समयसीमा ३ महिना बाँकी रहेको छ । पोखरीको सौन्दर्यीकरण गर्न ठेकेदार कम्पनीले निर्माण गरेको पर्खाल काम सुरु गरेको एक महिना नबित्दै भत्केको थियो । सम्झौता अनुसार २०७८ साल पुस ६ गते योजना सम्पन्न गर्नुपर्ने छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रतिनिधिसभा सदस्य महेन्द्र यादव, प्रदेश सांसद एवं प्रदेश मामिला समितिका सभापति अशोक यादव लगायतको उपस्थितिमा गत वर्ष असोज ७ गते शिलान्यास गरेका थिए । शिलान्यास गरेको ३ महिना पछि काम सुरु गरि केही दिन काम गरेको थियो । गएको जेठ महिनादेखि अचानक काम रोकेर ठेकेदार खुसीलाल ठाकुर फरार भएपछि निर्माणकार्य अलपत्र अवस्थामा पुगेको स्थानीय युवा सुजित यादवले बताए । ठेकेदार फरार भएपछि काम लथालिङ्ग अवस्थामा रहेको छ । सो अवधीमा बनाइएको पर्खाल, पोखरीको किनारमा घाट बनाउनको लागि गाडिएको फलामे छड सबै भत्किएका छन् ।
सौन्दर्यीकरणको काममा ठेकेदारले मनपरि गरेको स्थानीयको गुनासो छ । पोखरीको छेउमै बौधी माई, शंकर भगवान लगायत अन्य थुप्रै देवी देवताहरुको दशकौं पुरानो मन्दिरहरु रहेका छन् । उक्त पोखरीमा गाउँभरीका महिला तथा पुरुषहरु छठ पुजा लगायत अन्य पुजाहरु गर्दै आएका छन् । तर ठेकेदारको हेलचक्राई र लापरवाहीका कारण मलंगवा नगरपालिका वडा न–७ मुसैलीका सम्पूर्ण बासिन्दाको आस्थासंग खेलवाड भईरहेको स्थानीयले दुखेसो पोखे । प्रत्येक वर्ष छठ पर्व मनाइने उक्त पोखरीमा खाल्डा खुल्डी गरि बेवारिसे अवस्थामा छाडिएकोले यस पालि छठ पर्व मनाउने वातावरण नरहेको स्थानीयले गुनासो गरेका छन् । आफुहरुलाई ठेकेदारले छठ पुजाको लागि घाट निर्माण गरेर जाने आश्वासन दिएपनि छठ आउन अब केही दिन मात्र बाँकी रहँदा काम पुनः सुरु भएको छैन् । बिचमै काम रोकेर ठेकेदार खुसीलाल ठाकुर सम्पर्क विहीन भएपछि विगत २ महिनादेखि निर्माणकार्य ठप्प भएको छ । ठेकेदार कम्पनी सँग योजना सम्पन्न गर्न बाँकी रहेको ३ महिनाको अवधि भित्र निर्माणकार्य सम्पन्न हुने कुनै छाँट देखिदैन । बडकी पोखरीबाट विधालयले राम्रो आम्दानी गर्दै आएको छ । यो पोखरी विद्यालयको आम्दानीको मुख्य श्रोत रहेको छ । माछापालनका निम्ति विद्यालयले करिब १ करोर १७ लाखमा ५ वर्षका लागि पोखरी ठेक्का लगाएको थियो । करिब २ लाख महिनाको आम्दानी उठाउने विधालयलाई समेत पोखरी कहिले र कुन जमानामा सौन्दर्यीकरण हुने हो ? भन्ने चिन्ता छ । यसै गरि ठेकेदार कम्पनीले काममा हेलचक्रयाइ गरि १५ महिनामा सम्पन्न हुने योजनालाई १५ वर्ष लगायो भने विधालयको करोडौं रुपैयाको नोक्सानी हुने स्थानीयहरुले आंकलन गरेका छन् ।
योजनामा भइरहेको ढिलासुस्ती र अनियमितताको छानविन गर्न अख्तियारको केन्द्रीय कार्यालय काठमाण्डु र क्षेत्रीय कार्यालय बर्दिबासमा समेत उजुरी गरिसकेको तर उताबाट हालसम्म कुनै प्रतिक्रिया आइनसकेको स्थानीय युवा सुजित यादवले बताए । काममा ढिलासुस्ती ,हेलचक्राइ तथा कमसल सामग्रीहरुको प्रयोग गरेर गुणस्तरहीन काम गरेकोले ठेकेदार कम्पनी माथि कारवाही हुनुपर्ने स्थानीयहरुको माग छ । निर्माण गरिएको सम्पुर्ण भौतिक संरचनाहरु २ महिना नबित्दै भत्किएकाले निर्माणमा कमसल सामाग्री प्रयोग गरेर ठेकेदार कम्पनी र प्रविधिकको मिलोमतोमा व्यापक अनियमितता भएको उनीहरुको आरोप छ ।


