अपडेट 
२०७८ भाद्र ३०, बुधबार ०७:२१

नेपालका शिक्षकहरुले देशका एउटा शिक्षक अस्पताल हुनुपर्छ भनेर दशकौँ पहिलेदेखि माग अगाडि सार्दै आएका थिए । शिक्षकहरुको मागप्रति नकारात्मक कहिल्यै कुनै दल वा सरकार देखिएको थिएन । हरेक वर्षको बजेट मन्तव्य आउँदा शिक्षकहरुको माग पूरा हुने अपेक्षा शिक्षकलाई हुने गर्दथ्यो तर हात्ती आयो हात्ती आयो फुस्सा हुने गर्दथ्यो । देशका नेकपा एमालेको करिब दुई तिहाईले सरकार बनेपछि भने शिक्षक अस्पतालको सपना साकार हुने विश्वास गरिएको थियो । विश्वास चाहिँ निराधार थिएन । पहिले पनि एमालेले शिक्षकलाई माया गरेकै थियो । एमालेको सरकारले शिक्षकलाई अन्य कर्मचार ीसरह सम्मान दिने काम विगतमा गरेको थियो तर दुई तिहाईनजिकको सरकारले शिक्षकको विश्वासको विपरीत काम गरेको शिक्षकहरुको बुझाइ रहेको छ । पहिलो कुरो त गत जेठमा ल्याइएको अध्यादेश बजेटमा शिक्षकलाई अन्य सरकारी कर्मचारीसरहको सुविधा दिएन । सुविधासहितको भ्रमणको सन्दर्भ होओस्, बिमाको प्रसंग होओस् चाहे अन्य धेरै किसिमले शिक्षकलाई ठग्ने काम अध्यादेशबाट ल्याइएको बजेटमा गरिएको थियो । शिक्षक अस्पतालको कल्पनासमेत गरिएन । यसरी जहाँबाट बढी अपेक्षा थियो, त्यहाँबाट अपेक्षाको विपरीत काम भएको पाइयो । यसले गर्दा शिक्षकका कतिपय संगठनहरुले सरकारको विरोध गरे, आन्दोलन पनि गरे ।

नेपाली राजनीतिको घडी घुम्नु थियो, यसरी घुम्यो कि संयोगले विरोध गर्ने शिक्षक संगठनहरुले जुन राजनीतिक दलप्रति आस्था राख्दथे, ती दलहरुको सरकार बन्न पुग्यो । सरकार बनेपछि केही दिन त विरोधलाई मत्थर पार्ने विरोधहरु भए अनि सेलायो । विरोध सेलाएर गएपछि यस्तो बुझिएको थियो कि शिक्षकहरुको सबै माग पूरा भएका छन् तर यस्तो केही पनि थिएन । अझै पनि जुन कुराको उठान गरेर आन्दोलनको काम भएको थियो, त्यो जहाँको तहीँ छ तर अध्यादेश बजेटलाई प्रतिस्थापन गर्ने विधेयक ल्याउँदै सरकारले जुनरुपमा बजेटको संशोधन ग¥यो, त्यसमा भने शिक्षक अस्पतालको कुरो गरिएको छ । बजेटमा शिक्षक अस्पतालको कुरो गरिएको सम्भवतः यो पहिलोपटक हुनुपर्छ देशमा । बजेटमा शिक्षक अस्पतालको लागि यति बजेट छुट्याइएको छ भनिएको छैन तर पनि बजेटमा नै शिक्षक अस्पतालको कुरो उल्लेख गरिनुले यो स्पष्ट हुन्छ कि कम्तीमा धेरै वर्ष पहिलेदेखि शिक्षकहरुको जुन माग रहेको थियो, त्यो अब पूरा हुने बाटोमा अग्रसर हुन थालेको छ । यसै बजेटबाट शिक्षक अस्पताल बनिहाल्ला भन्ने त छेन तर अब शिक्षक अस्पतालको पक्षमा केही काम होला भन्ने आशाको सञ्चार भने गराएको छ । शिक्षक अस्पताल बन्ने वा बनाउने दिशामा केही वा थोरै काम पनि यदि वर्तमान सरकारबाट हुन पुग्यो भने यसकारण धेरै सकारात्मक मान्नु पर्दछ कि यो ऐतिहासिक कामको सुरुआत हुन सक्छ । यद्यपि शिक्षकहरु पूर्ण आशावादी छैनन् । शिक्षा मन्त्रालय तथा स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालय गरी तीन मन्त्रालयसित सम्बन्धित कुरो भएकोले ती तीन मन्त्रालयमा मन्त्रीको नियुक्तिपछि यदि तत्काल नै मन्त्रीहरुले आवश्यक ठानेमा जमिन खोज्नुभन्दा पहिलेका केही प्राविधिक कामहरु भने हुन सक्छ । लगानीको अनुमान, लगानीको स्रोत तथा प्राविधिक दृष्टिकोणले जमिन खोज्ने कार्यको प्रारम्भ हुन पनि सक्ला तर शिक्षक अस्पताल प्राथमिकतामा किन पर्नुप¥यो ? किन कुनै मन्त्रालयले शिक्षक अस्पताललाई प्राथमिकताका राखेर काम गर्नुपर्छ ?

शिक्षक अस्पतालको पक्षमा जति धेरै छिटो काम गरे पनि यो तत्काल भइहाल्ने होइन । यसको लागि पर्याप्त समय चाहिन्छ । नेपालमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको चर्चा हुन थालेको करिब दुई दशक पुगिसकेको छ तर अहिलेसम्म निर्माण कार्यको प्रारम्भ हुन सकेको छैन । यस चर्चाले मूर्त रुप कहिले पाउने हो ? भविष्यको इतिहासले नै बताउन सक्छ । यसै गरी शिक्षक अस्पतालको कुरो पनि नहोला भन्न सकिन्न । यद्यपि शिक्षक अस्पताल किन चाहिएको हो भन्ने कुरो पनि महत्वपूर्ण रहेको छ । देशको राजधानीमा राज्यकोषबाट तलब खाने कर्मचारीहरुको नाममा अस्पताल रहेका छन् । निजामती अस्पताल छ, नेपाली सेनाको अस्पताल छ, नेपाल प्रहरीको अस्पताल छ र निकै पछि गठन भएको सशस्त्र प्रहरी बलको पनि अस्पताल रहेको छ तर शिक्षक अस्पताल भने रहेको छैन । सबै विभागीय अस्पतालमा सम्बन्धित कर्मचारीले पर्याप्त सुविधा पाउँछन् । सुविधासँगै आफ्नोपन हुन्छ । सबैको सम्मान भएको छ । निजामती कर्मचारी, प्रहरी कर्मचारी, नेपाली सेना कर्मचारी र सशस्त्र प्रहरी कर्मचारी तथा सकल दर्जाका कर्मचारीका आफन्तले नियमानुसार अस्पतालबाट सुविधा पाउँछन् । यो सुविधालाई सुविधा मात्र भनेर सीमित गर्नु हुँदैन । सबैलाई दिइने सम्मान पनि हो । आफन्त जब अस्पतालमा पुग्छन् तब आफ्ना कर्मचारी आफन्तप्रति गर्वको अनुभूति हुन्छ र संगठनप्रति शिर ठाडो हुन्छ । अस्पतालको नामदेखि हरेक क्रियाकलाप कता हो कता आफ्नोजस्तो लाग्छ । अस्पतालको विषयमा कतै सकारात्मक सम्वाद वा समाचार सुनेर वा पढेर मनभित्रको गर्वानुभूति अनुहारमा आउँछ र त्यसभन्दा बाहिर निस्केर शब्द बन्दछ । हो, यस प्रकारको उच्च सम्मान शिक्षकले पनि पाउनु पर्दछ भन्ने अवधारणाले नै विगत कैयौँ वर्षदेखि शिक्षकहरुको तर्फबाट शिक्षक अस्पतालको कुरो आइरहेको हो ।

देशभर लाखौँको संख्यामा शिक्षक कर्मचारी रहेका छन् । स्थायी, करार, राहत गरी लाखौँको संख्यामा रहेका शिक्षकहरुले आफ् नो अस्पताल खोजिरहेका छन्, अस्पतालको नाममा सम्मान खोजिरहेका छन् र अहिलेको संशोधित बजेटमा जब यो कुरा उठाइएको छ तब एकचोटि सबै शिक्षकमा सबारात्मक भावको सञ्चार भएको छ । अब आशा र विश्वास दुवै भएको छ कि तत्काल नै नभए पनि केही वर्षमा भने शिक्षकको सामूहिक अपेक्षा भने पूरा हुने भएकोप्रति विश्वस्त भएको छ । मानिसका प्रमुख आधारभूत आवश्यकतामा भोजन, आवास, वस्त्र, शिक्षा र स्वास्थ्य पर्दछन् । यी आधारभूत आवश्यकता पूरा हुने मानिसले आफूलाई सुरक्षित पनि राख्न सक्दछन् । जब कोही कुनै किसिमको कर्मचारी बन्न सफल बन्दछन् तब यसको अर्थ यो हो कि ऊ शिक्षित भइसकेको छ वा शिक्षाको आधारभूत आवश्यकता पूरा गरेको छ । जब कर्मचारी भइसकेको छ भने यसको अर्थ यो पनि हो कि अब उसलाई भोजनको आवश्यकता पूरा हुन्छ । यसपछिका आवश्यकताका लागि सम्बन्धित क्षेत्रमा धेरै सुविधा प्रदान गरिएको पाइन्छ । उदाहरणको लागि कुनै कर्मचारीलाई घर बनाउनु पर्ने आवश्यकता छ भने घर निर्माणको लागि सहुलियत ऋण उसले पाउँछ । शिक्षक वा कर्मचारीले कर्मचारी संचय कोषलगायत अन्य संघसंस्थाबाट सजिलै गृह निर्माण कर्जा पाउने गरेका छन् । कर्मचारीलाई बैंक तथा वित्तीय संस्थाहरुले पनि सजिलै पत्याउने गरेका छन् । यसपछि यदि आफ् ना सन्तानको शिक्षाको सबाललाई विचार गर्ने हो भने सन्तानको शिक्षाको लागि पनि विभिन्न योजनाहरु आएका हुन्छन् । यसपछि आधारभूत आवश्यकता भनेको स्वास्थ्य नै हो नि । शिक्षकबाहेक अन्य सबै क्षेत्रका कर्मचारीले स्वास्थ्यको लागि अनेक सुविधा सजिलै पाउने गरेका छन् ।

शिक्षकलाई स्वास्थ्य सुविधाबाट किन वञ्चित गरिएको होला भनेर अन्य क्षेत्रका कर्मचारीले प्रश्न गर्ने गरेका थिए । आफ्नो विभागको अस्पताल भएपछि कुन रोगको उपचारमा कति खर्च लागेको हो र खर्चलाई कसरी अन्य क्षेत्रबाट लिन सकिन्छ भन्ने उपाय पनि बताउने गरेका छन् । उदाहरणको लागि विभिन्न बिमा कम्पनी तथा कर्मचारी संचय कोषले पनि विभिन्न किसिमको उपचार बेहोर्ने गरेका छन् । विभागीय अस्पतालमा गएर उपचार गर्दा सजिलै यसको प्रक्रियाबारे सोध्दा बताइदिन्छन् तर शिक्षकले कुनै अस्पतालमा गएर उपचार गराउँदा उपचार खर्चको बारेमा सोध्दा थाहा नभएको भनी बताउँछन् । कुनै सिफारिश गर्नुपर्ला वा अन्य प्रक्रियाहरुको बारेमा सोधेर हैरान पार्ला भनेर पनि हुन सक्छ वा अस्पतालको रकम भुक्तानीमा नै समस्या आउन सक्ला कि भनेर पनि यस प्रकारको व्यवहार हुने गरेको हुन सक्छ । यस अर्थमा शिक्षक अस्पताल औचित्यपूर्ण रहेको छ । सम्भव भएसम्म शिक्षक अस्पताल संचालनमा नआउँदासम्म सम्पूर्ण पूर्वाधार भएको र राम्रोसित संचालनमा रहेको कुनै अस्पताललाई पनि शिक्षक अस्पताल घोषणा गरिनु आवश्यक छ । देशका शिक्षक संगठनहरु तथा नेपाल शिक्षक महासंघले यसको लागि तत्काल पहल गर्नुपर्ने देखिन्छ । यदि अन्य कुनै अस्पताललाई शिक्षक अस्पताल घोषणा गरेर शिक्षकलाई उपचारको सुविधा तथा अन्य सहुलियत दिन थालियो भने देशको शिक्षकको स्वास्थ्यको क्षेत्रमा एउटा क्रान्तिकारी कदम हुने कुरामा विश्वस्त हुन सकिन्छ । आखिरमा शिक्षकहरुले पनि कम्तीमा एक यस्तो ठाउँमा उपचार गराउन सुरु गर्दछन् जसलाई आफ् नो अस्पताल भन्न सक्दछन् । जसको नाममा पनि सम्मान अनुभूति गर्दछन् ।

जहाँ आफन्तलाई लैजाँदा आफ्नैजस्तो अस्पताल भएकोमा गर्व गरेर उपचार गराउन सक्दछन् । उपचारमा केही सहुलियत पाउँछन् जुन सहुलियतभन्दा बढी सम्मान हो । यसरी शिक्षक अस्पतालको कुरो अब कुरोमा सीमित नरहला र व्यवहारमा पनि सकेसम्म ल्याउनु अहिलेको आवश्यकता भइसकेको छ । जब शिक्षक अस्पताल सञ्चालनमा आउने छ तब यसको खबर विश्व बजारमा पुग्दा विश्वले पनि नेपालमा शिक्षकहरुको अस्पताल शिक्षक अस्पताल संचालनमा आएको कुरालाई सम्मान दिने कुरामा दुई मत छैन । यसले देशको सम्मानमा पनि वृद्धि हुने देखिन्छ । यस देशका लाखौँ शिक्षकहरुको आवश्यकता र चाहना रहेको शिक्षक अस्पतालले चाँडै मूर्त रुप पाउने आशा गरिन थालिएको छ । शिक्षक अस्पताल पूर्ण व्यवस्थित र भरपर्दो बन्न सकोस् । देशभरका शिक्षकहरुको विश्वासको साझा केन्द्र बन्न सकोस् ।

Comment


Related News

Latest News

Trending News