अपडेट 
२०७८ आश्विन ८, शुक्रबार ०६:५४

जनकपुरधाम । मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत प्रदेश २ का सामुदायिक विद्यालयका छात्राहरुलाई साइकल बाँड्दै छ ।

प्रदेशका आठै जिल्लाहरुमा मन्त्री, राज्यमन्त्री, प्रदेशसभा सदस्यहरुले साइकल वितरणको जस लिन व्यस्त छन् । आवश्यक कागजात पुरा गरेर बुझाएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले साइकल उपलब्ध गराएको छ । विद्यालयका प्रअले साइकल बुझेर लैजाने गरेका छन् । धनुषासहित महोत्तरी, सिरहा, सप्तरी, सर्लाही र रौतहट जिल्लामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधामले साइकल उपलब्ध गराएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सामुदायिक विद्यालयहरुलाई निःशुल्क साइकल उपलब्ध गराउँदै आएको छ । साइकलको ढुवानी खर्च सम्बन्धित विद्यालयले व्यहोर्नुपरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाए ।  ढुवानी खर्च विद्यालयका प्रअले विद्यार्थीबाट असुली गरेको तथ्य सार्वजनिक भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका वडा न.९ पशुपतिनगर बनरझुलास्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयका छात्राहरुलाई बुधबार साइकल वितरण गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र साहको उपस्थितिमा विद्यालयको कक्षा ९ मा अध्ययनरत ३६ जना छात्रालाई साइकल वितरण गरिएको छ । साइकल पाउनको लागि छात्राहरुले जनही तीन सय रुपैयाँ ढुवानी खर्च तिरेकी छन् । विद्यालयका प्रअ हरिदेव महतोलाई साइकल ढुवानीको नाउँमा तीन सय रुपैयाँ दिएको छात्रा सलिना कुमारी विश्वकर्माले बताइन् । प्रअ महतोलाई साइकल ढुवानी गर्नको लागि तीन सय रुपैयाँ दिएको सलिनाकी अभिभावक गीता विश्वकर्माले बताइन् ।

साइकल पाएकी ३८ जनै छात्राहरुबाट ढुवानी खर्च लिएको विद्यालयका प्रअ महतोले स्वीकारे । विद्यालयको आर्थिक अवस्था कमजोर रहेकोले छात्राहरुबाट ढुवानी खर्च लिएको उनले टुडेलाई बताए । स्थानीयका अनुसार विद्यालयको प्रशासनिक खर्च नगरपालिकाले भुक्तानी गर्दै आएको छ । विद्यालयको आन्तरिक आम्दानी पनि पर्याप्त रहेको स्थानीयहरुले बताए । कक्षा ९ का अध्ययनरत्त छात्रालाई ‘बेटी पढ़ाउ बेटी बचाउ’ अभियान अन्तर्गत साइकल उपलब्ध गराएको सबै छात्राबाट ढुवानी खर्च वापत जनही तीन सय रुपैयाँ लिएको खबर प्राप्त भएको बर्दिबासका मेयर बिदुर कार्कीले स्वीकारे । छात्राहरुबाट ढुवानी खर्चवापत लिएको रुपैयाँ फिर्ता गरिदिनको लागि प्रअलाई भनिसकेको मेयर कार्कीले बताए । उनले विद्यालयको आर्थिक अवस्था कमजोर भएको कारणले प्रत्येक छात्राबाट साइकल ढुवानी खर्च लिएको दावी गरे । केही दिन पहिला मात्रै उक्त विद्यालयले कक्षा १० का विद्यार्थीहरुबाट (एसईई) को परीक्षा शुल्क संगै विद्यालय विकास शुल्कको नाममा समेत रुपैयाँ लिएका थिए ।

Comment


Related News

Latest News

Trending News