जनकपुरधाम । प्रदेश २ का सभामुख सरोजकुमार यादवले आउँदो अधिवेशनबाट सर्वसम्मतिले प्रदेशको नाम र राजधानीको टुंगो लाग्ने विश्वास व्यक्त गरेका छन् ।
राजधानी र नामाकरणको लागि सँसदमा दुई तिहाई बहुमतको प्रावधान रहेकोले टुंगो लगाउन ढिलाई भएको उनले बताए । सँसद अधिवेशन, विधेयक र प्रक्रियाहरु बारे जानकारी दिँदै सभामुख यादवले भने –‘ राजधानी जनकपुरधाम हुनुपर्नेमा सबै दल एकमत छन् र नामाकरणमा पनि दलहरु बीच निरन्तर छलफल सहमति नजिक पुगेको जानकारी हामीले पाएका छौं । ’ ‘‘सामाजिक सरोकारका विषयमा केन्द्रित सभामुख र साँसदसंग जनताको प्रत्यक्ष अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख यादवले आउने अधिवेशनमा राजधानी र नामाकरण सम्बन्धी प्रस्ताब सर्वसम्मतिले पारित हुने विश्वास व्यक्त गरे । आउटलाईन मिडियाले आयोजना गरेको अन्तरक्रियामा सहभागीहरुको प्रदेशमा बढ्दो भ्रष्टाचारबारेको जिज्ञासाको जवाफ दिदै उनले सिम्रौनगढ नगरपालिकाले प्रदेश सरकारबाट प्राप्त २ करोड बजेट काम नगरि निकासा गरेको तथ्य बाहिर आएपछि हामीले जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवाला निकाय संगको समन्वयमा नपा विरुद्ध अख्तियारमा उजुरी दियौं, चार महिना भईसकेको छ कुनै सुनुवाई भएको छैन, यस्तो अवस्था छ ।’ लक्ष्मीनियाँ गाउँपालिका ७ का विभिन्न क्षेत्रका करिब ६० जनाको सहभागितामा भएको सो अन्तरक्रिया कार्यक्रममा बोल्दै पुर्व आन्तरिक मामिला तथा संचार मन्त्री ज्ञानेन्द्र कुमार यादवले जनता मैत्री कानुन ल्याउनु पर्ने आवश्यकता अनुसार नै प्रदेश साँसदले कानुन निर्माणमा काम गर्दै आएको बताए । उनले विभेद रहीत, समतामुलक ,सुशासित, शिक्षित प्रदेशको परिकल्पनामा काम अघि बढेको र सोको लागि कानुन निर्माण नै सबैभन्दा महत्वपुर्ण काम रहेको बताए ।
संघीयता जोगाउनको लागि प्रदेश सरकारले अग्रनी भूमिका खेलेको दावी गर्दै उनले भने –‘ सबैभन्दा पहिले प्रदेश २ सरकारले नै ४१ वटा कानुन पास गरेको अवस्था छ , दुई वटा कानुनहरु संघीय सरकारबाट फिर्ता भएको अवस्था छ , ५५ वटा कानुन दर्ता भईसकेको छ भने ९ वटा समितिमा पुगेको छ । पाँच वटा कानुनहरु छलफलमा रहेको छ । ’ संघीयता संस्थागतको निमित्त प्रदेश २ ले महत्वपुर्ण कानुनहरु ल्याएको छ, पुर्वमन्त्री यादवले भने–‘‘ प्रहरी सेवा सम्बन्धि कानुन, लोकसेवा सम्बन्धि कानुन , दलित शसक्तिकरण कानुन ,जनसंख्याको आधारमा आरक्षण सम्बन्धि कानुनहरु ल्याएर संघीयतालाई बल पुग्ने कार्यमा अग्रणी भूमिका निर्वहन गरेका छौं । ’ प्रहरी सेवा सम्बन्धि कानुनको प्रक्रियाको क्रममा मन्त्रालयका सचिवले सोको भुक्तान सरुवा भएर चुकाउनु परेको दुखेसो समेत पोखे । देशभरमा अझै पनि अपराधमा प्रदेश २ चार नम्बरमा रहेको छ, पुर्वमन्त्री यादवले भने –‘ एउटा पनि अपराध हुन्छ भने हामी गंभिरतापूर्वक लिन्छौ ।’ सोको लागि पाँच वर्षिय रणनीतिक योजना बनाएर अगाडि बढेका छौं । संघीय सरकारले प्रहरी समायोजन गरेर प्रदेशको शान्तिसुरक्षा प्रदेशको हातमा दिन उनले आग्रह गरे । ‘यहाँको प्रहरीहरु प्रदेश सरकारलाई हस्तानान्तरण गर्नुपर्छ भन्ने हाम्रो मांग यथावत छ’– उनले प्रष्ट पारे । चुरेको विनाश र संरक्षणबारे उठेका प्रश्नमा बोल्दै पुर्वमन्त्री यादवले अहिलेकै अवस्था रहे आगामी पाँच वर्ष भित्रै यो प्रदेश मात्र होइन, पुरा मधेश नै मरुभूमिमा परिणत हुने दावी गरे ।
चुरे संरक्षणलाई प्रदेश सरकारले राष्ट्रिय मात्र होइन, अन्तराष्ट्रिय मुद्दाको रुपमा आवाज उठाउन रणनीतिक योजनामा कार्य अगाडि बढाईसकेको जानकारी समेत पुर्वमन्त्री यादवले गराए । चुरेको विनाश नरोकिए प्रदेश–२ मात्र होइन सम्पुर्ण मधेश मात्र होइन सम्पुर्ण राष्ट्रले नै ठुलो आर्थिक क्षति बेहोर्नु पर्ने हुँदा समयमै संघीय सरकारले पनि गंभिरताका साथ चुरेको संरक्षणमा ध्यान पु¥याउनु पर्ने अहिलेको आवश्यकता उनले औंल्याए । कार्यक्रममा प्रदेशसभा सदस्य चमेली दास, आउटलाईन मिडियाका प्रमुख सरोज दाहाल, पत्रकार सम्झना पौडेल लगायतका दर्जनौ व्यक्तिहरुको सहभागिता रहेको थियो ।


