अपडेट 
२०७८ आश्विन ९, शनिबार ०७:४५

विश्व सम्पदासूचिमा सूचिकृत गराउन सुरुमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् , त्यसपछि भोर नामक गैर सरकारी संस्था र अचेल जनकपुरधाम उपमहानगर पालिका धूमधामसंग ‘लविङ’ गरीरहेको वेला मेरो मनमा खुसीको कमल फुलेको छ संगै एउटा प्रश्न पनि ज्वारभाटा जस्तै मेरो कोमल मनलाई हल्लाई रहेको छ – आखिर जानकी मन्दिर हो कस्को ? बृहत्तरको ? , जनकपुरधाम उपमहानगर पालिकाको ? प्रदेश २ सरकारको ? संघीय सरकारको ?

पुरातत्व विभागको ? भोर जस्ता गैरसरकारी संघ संस्थाहरुको ? जानकी मन्दिरका महन्तको ? वा राम सीतामा अशीम आस्था राख्ने विश्वका करोडौ आस्थावान सनातन धर्माम्बलम्बीहरुको ? हो, जगत जननी सीताको जन्म र क्रृडास्थल जनकपुरधाम र सीताको प्रतीकको रुपमा झण्डै एक सय पचिस वर्षदेखि अडिएर रहेको जानकी मन्दिरप्रति अपनत्व वोध गर्नु , यो सम्पदा हाम्रै हो भन्ने दावी गर्नु अनुचित होईन । एउटा आम श्रद्धालुदेखि देखि देशी विदेशी सरकारी निकाय र संघ संस्था यस पवित्र तथा विशाल सम्पदाप्रति अपनत्व देखाउन सक्छन् । देखाएका पनि छन् । तर यसो भनि रहदा जानकी मन्दिर कुनै निकाय ,व्यक्ति वा संस्था विशेषको एकल वर्चस्व कायम हुन सक्दैन । यो विश्वका करोडौ सनातन धर्माम्बलम्बीहरुको साझा आस्था केन्द्र हो । धार्मिक, ऐतिहासिक तथा पुरातात्विक पर्यटनमा रुचि राख्ने तथा यस्ता संरचनाहरुको संरक्षण गर्न सघाउने संघ संस्थाहरुको पनि साझा हो । तर विश्व सम्पदा सूचिमा सूचिकृत हुने संभावित सूचिमा सूचिकृत भई सकेको तथा यस अभियानलाई निर्णायक विन्दुसम्म पुर्याउने लविङ भई रहेको वेला वैश्विक महत्वको यस सम्पदाको मौलिकतामाथि नकारात्मक प्रभाव पर्ने घटनाहरु घटित हुन थालेका छन् । जो चिन्ताको विषय हो । प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउत मुख्यमन्त्री स्वक्षता अभियानको थालनी २०७५ साल मंसिर दोश्रो साता जानकी मन्दिर सौन्दर्यीकरण योजनाबाटै गरेका थिए । त्यो पनि विधिवत शिलापूजन गरेर वैदिक मन्त्र उच्चारणसहित शिलान्यास गरेर । पहिलो चरणको सौन्दर्यीकरण योजना अन्तर्गत ८ करोड वजेट विनियोजन गरिएपनि ६ करोड ७५ लाखमा ठेक्का बन्दोवस्त भयो ।

योजना अन्तर्गत मन्दिरको बाहिरी र भित्री परिसरमा टायल्स र मार्वल जडान , ढल निकास , विद्युतीकरण, प्रवेशद्वार निर्माण, कम्पाउण्ड वाल वरिपरि वृक्षारोपन गर्ने कार्यक्रम गर्नु पर्ने हो । ३ डिसेम्बर २०१८ मा ठेकेदार एम.एस.प्रेरा–आरजे रंजन जेभी ललितपुरसंग भएको समझौता अनुसार २ डिसेम्बर २०१९सम्म निर्माण काम पूरा भई सक्नुपर्ने थियो । समझौता अवधि सम्पन्न भएको २ पनि वर्ष बित्ती सकेको छ । योजना अनुसारको काम अझै भएको छैन । तर मेरो रुचि योजना निर्धारित समयमा पुरा भयो वा भएन अथवा निर्माण कार्य गुणस्तरीय भए वा भएन भन्ने विषयसंग पटक्कै छैन । मेरो रुचिको विषय हो – विसं १९५२ साल माघ २८ गते टिकमगढकी महारानी वृषभानु कुम्मरिले नरेश प्रतापनारायण सिंहसंगै शिलान्यास गर्नुभएको तथा जानकी मन्दिरका तेह्रौं महन्त रामकृष्ण दासको पालामा विसं १९६७ सालमा उद्घाटन गरिएको जानकी मन्दिर परिसरभित्र अन्य संरचना निर्माण, पुर्ननिर्माण वा मर्मत संभार गर्नुपर्दा पुन ः शिलान्यास गर्न हुन्छ कि हुन्न ? भन्ने विषयसंग छ । जानकी मन्दिरका निर्माताहरुको शिलालेख वा तस्वीर मन्दिर भित्र पाइन्न । तर सौन्दर्यीकरणको नाममा जावो केही वजेट विनियोजन गर्ने प्रदेश सरको शिलालेख वा प्रदेश मुखियाको तस्वीर राख्न हुन्छ कि हुन्न ? भन्ने विषयसंग छ । ‘ प्रतिमा लक्षण शास्त्र ’ तथा ‘ देवालय निर्माण शास्त्र ’मा मठ मन्दिर वा निजी भवनको शिलान्यास, मर्मत संभार विषयक शुभसाईत र वास्तुसम्बन्धी जानकारी पाईन्छ । यिनै ग्रन्थहरुलाई दृष्टिगत गर्दै काठमाण्डौका प्रसिद्ध ज्योतिष डा.वाशुदेव शास्त्री मसंगको फोन सम्पर्कमा भनेका थिए – देवालय, पाटी पौवा अथवा ऐतिहासिक, सांस्कृतिक महत्वका पुराना भवनको मर्मत, रंगरोगन, टायल्स, मार्वल , विजुलीवत्ती जडान लगायतका काम गर्दा पुन ः शिलान्यास गर्न हुन्न ।

डा.शास्त्रीका अनुसार यसो गर्नु पर्दा शिलान्यास र उद्घाटन नगरी ‘ क्षमा पूजा ’ गर्नु पर्दछ । तर जानकी मन्दिरका महन्त ज्युकै अगुवानीमा सौन्दर्यीकरण योजनाको शिलान्यास भयो । शिलालेख राख्ने काम पनि भयो । जो शास्त्रीय विधि विधान सम्मत थिएन । मुख्यमन्त्री सौन्दर्यीकरण योजनामात्र होइन यस अघि अन्य संरचनाहरुपनि मन्दिरमित्र निर्माण भएका छन । जानकी मन्दिरको महत्तासंग बेखवर, विश्व सम्पदा सूचिको मापदण्ड बारे अनभिज्ञ प्रदेश २ सरकारका मन्त्रीहरुले साधु भवन निर्माण गर्ने नाममा झण्डै एक करोड विनियोजन गरेका थिए । जसको शिलान्यास पनि भयो । केही संरचना पनि बने तर पुरातत्व विभागको हस्तक्षेप पछि निर्माण कार्य रोकियो । २०७४ असार ९ गते गैर आवासीय नेपाली संघका तत्कालीन अध्यक्ष भवन भट्ट र जानकी मन्दिरका छोटे महन्त रामरोशन दासबीच मन्दिरमा विद्युतीकरण गर्ने समझौता भएको थियो । करीव साढे ३ करोड लगानीमा सम्पन्न हुने भनिएको विद्युतीकरण समझौता अनुसारको काम हुन सकेन । अचेल पुन ः प्रदेश सरकारकै वजेटमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले मन्दिरको मौलिक स्वरुप तथा मन्दिरको भौतिक संरचनामा गंभीर प्रभाव पार्ने गरी विद्युतीकरण गरेको छ । अचेल झिलिमिली विजुली देखेर हामी मख्ख छौ । विद्युतीकरणको लागी वजेट विनियोजन गर्ने प्रदेश सरकारले जानकी मन्दिरमाथि विद्युत वापतको बक्यौता झण्डै एक करोड भुक्तानी गरिदिदा राम्रो हुन्थ्यिो कि ? चालु आर्थिक वर्षमै भएपनि प्रदेश सरकारले जानकी मन्दिरको विजुली विलको भुक्तानी गरिदियोस भन्ने आम नागरिकको कथन छ ।

यो त सन् २००८ देखि नै जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउने अभियान जारी छ । जसलाई पछिल्ला तीन वर्षदेखि जनकपुरधाम उपमहानगर पालिकाका मेयर लालकिशोर साहले स्वामीत्व लिनु भएको छ । जो सराहनीय हो । तर मलाई सोध्न मन लागेको छ – जानकी मन्दिर व्यवस्थापन जो कोहिसंग जुन सुकै कामको लागी समझौता गर्दा हजुर के हेरेर बस्नु भयो ? हजुरले रोज्नु भएको संस्कृतिविदहरुलाई विश्व सम्पदा सूचिमा सूचिकरण गराउन आवश्यक पर्ने मापदण्ड बारे जानकारी छ कि छैनन् ? छन भने पुराना संरचनामा आघात गर्ने काम भई रहदा किन रोक्नु भएन ? जानकारी छैन भने जानकारहरुको बैठक किन बोलाउनु भएन ? थाहै होला , लक्ष्य अनुसारको मिहिनेत र कार्ययोजना बनाउन नसक्नेहरु कहिल्यै पनि लक्ष्यसम्म पुग्न सकेका छैनन् । जनकपुरलाई मठमन्दिर तथा सरोवरहरुको सहड पनि भनिन्छ । वर्षेणी मठ मन्दिर बिक्री हुदैछन् । भूमाफियाहरुको चलखेलको कारण अपराध मौलाएको छ । मठ मन्दिरहरुको संरक्षण सम्बर्धन तथा सौन्दर्यीकरणका लागी स्थानीय सरकार, प्रदेश सरकार, पुरातत्व विभाग, गुठी संस्थान , वास्तुकला तथा संस्कृतिका जानकारहरुका साथै आम नागरिकहरु सम्मिलित विज्ञ समूह गठन गर्नु पर्ने मांग धेरै अघिदेखि उठदै आएको छ तर यो मांग हालसम्म जानकी मन्दिर व्यवस्थापन र जनकपुरधाम उपमहानगर पालिकाको कानसम्म पुगेको छ जस्तो लागेन । जानकी मन्दिर विश्वका सम्पूर्ण सनातन धर्माम्बलम्बीहरुको आस्थाको केन्द्र हो । यस्ता सार्वजनिक सरोकारका विषयहरुमा पुरातत्वविद् , स्थानीयवासी तथा सरोकारवालाहरुसंग सल्लाह गरेर मर्मत संभार वा संरचना निर्माण गर्ने कि आफूखुसी ? फेरी प्राथमिकतामाथि पनि ध्यान दिनै पर्ने हो । हामीले जानकी मन्दिरलाई विश्व सम्पदासूचिमा सूचिकृत गराउन लविङ गर्ने कि हालको संरचनालाई अझ आकर्षक र व्यवस्थित बनाएर आधुनिकता तर्फ डोर्याउने ? बुधवार यहा“को एक होटलमा जानकी मन्दिरलाई युनेस्को विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने सम्बन्धी बृहद् कार्यशाला गोष्ठीको आयोजन गरिएको थियो ।

ब्रिटिश दूतावास अन्तर्गतको यूएस एड तथा सुदृढ नेपालको सहयोगमा जनकपुरधाम उपमहानगर पालिकाले आयोजना गरेको कार्यशाला गोष्ठीका सहभागीहरुले जानकी मन्दिरसहित जनकपुरका ऐतिहासिक ,धार्मिक तथा सांस्कृतिक महत्वका सम्पदाहरुको मौलिकता मास्ने काम भएको भन्दै आपत्ती जनाएका थिए । गोष्ठीमा जनकपुरधाम उपमहानगर पालिकाका प्रमुख लालकिशोर साह, उपप्रमुख रीता कुमारी मिश्र , सुदृढ परियोजनाका कृष्ण ज्ञवाली तथा पुरातत्वविद काय वाइज लगायतले संवोधन गरेका थिए । यसक्रममा काय वाइजले प्रस्तूत गरेको कार्यपत्र घतलाग्दो थियो । युनेस्को विश्व सम्पदा सूचिमा सूचिकृत गर्न धार्मिक तथा सांस्कृतिक स्थलहरुका लागी ६ वटा मापदण्ड निर्धारण गरिएको छ । जसमा प्रस्तावित संरचनालाई यथास्थितीमा राखिनु पर्ने , सनातन परम्पर ा,रितिथितीमा परिवर्तन गर्न नहुने प्रमुख छन् । सौन्दर्यीकरणको नाममा वा व्यावसायीक लाभको लागी मन्दिर परिसरभित्र कुनै संरचना निर्माण , पुर्ननिर्माण वा सौन्दर्यीकरण गर्दा विश्वसम्पदा सूचिमा सूचिकरण गराउन आई पर्ने समस्या बारे सरोकारबालाहरु समयमै सचेत हुनु पर्दछ । अन्यथा जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकरण गराउने सपना साकार होला जस्तो लाग्दैन ।

Comment


Related News

Latest News

Trending News