जनकपुरधाम । रौतहटको विभिन्न नाकाबाट स्थल मार्गबाट नेपाल प्रवेश र भारत प्रस्थानको अनुमति दिइएको छ ।
मन्त्रीपरिषदको निर्णय अनुसार स्वास्थ्य मापदण्डको पालना गर्दै जिल्ला प्रसाशन कार्यालय रौतहटले नाकबाट आवागमनमा सहजता प्रदान गरेको हो । रौतहटको गौर भन्सार, राजदेवी नगरपालिकाको ब्रहमपुरी ,लक्ष्मीपुर , इशनाथ नगरपालिकाको मनमोहन गेट , महुलिया , बन्जरहा , लत्मरी , परोहा नगरपालिकाको घिउरा ,खाप र जयनगर , बौधीमाइ नगरपालिकाको नरकटिया र बंकुल छोटी भन्सारबाट नेपाल भारतमा आवागमन गर्न अनुमति दिइएको हो । कोभिड १९ को नयाँ भेरिएन्टको संक्रमण रोकथाम , नियन्त्रण निदान र उपचार मा प्रतिकुल असर नपर्ने गरि विदेशबाट नेपाल आउने नेपाली र विदेशहरुको आवागमन व्यवस्थित गर्न नेपाल सरकार मन्त्रिपरिषदबाट स्वीकृत विदेशबाट नेपाल आवागमन हुने र नेपाल बाट प्रस्थान गर्ने यात्रुहरुको यात्राको व्यवस्थापन सम्वन्धि अध्यादेश २०७८ तथा जिल्ला कोभिड व्यवस्थापन समिति असोज १० गते बसेको बैठकले गरेको निर्णय अनुसार स्थलगत मार्गबाट आवागमनको स्वीकृति दिइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । नेपालबाट विदेश तथा विदेशबाट नेपाल प्रवेश गर्दा सिमामा स्थापना गरिएको हेल्प डेस्कमा कोभिड परिक्षण गराउनु पर्ने शर्त राखिएको छ । भारतबाट नेपाल आउदा ७२ घण्टा भित्रको कोभिड परिक्षण रिपोर्ट हुनु पर्ने जिल्ला प्रसाशन कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।
सम्वन्धित स्थानीय तहले हेल्प डेस्क स्थापना गरेपछि आवागमन हुने निर्णय गरिएको छ । कुनै व्यक्तिमा कोरोनाको संक्रमण देखिएमा रिपोर्ट निगेटिभ नभए सम्म नेपाल प्रवेश गर्न नदिईने प्रमुख जिल्ला अधिकारी यादवले जनाए । यस्तै, सर्लाही जिल्ला अन्तर्गत पर्ने नेपाल–भारतको ८ वटै नाकाहरु खोल्ने निर्णय गरेको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डी.सी.सी.एम.सी) सर्लाहीको आइतवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सर्लाहीका सीमा नाका खोल्ने निर्णय गरेको छ । जिल्ला सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले नेपाल सरकारले गरेको निर्णयानुसार जिल्लाका मलंगवास्थित गोरखकाली प्रहरी चौकी नाकासहित पर्सा गाउँपालिका स्थित संग्रामपुर र पर्सा नाका, ब्रम्हपुरी गाउँपालिका स्थित त्रिभुवननगर नाका, मलंगवा नगरपालिकास्थित भाँडसर नाका, विष्णु गाउँपालिका स्थित बाराउद्योरण र फेन्हरा नाका खुलाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताए । उनले प्रत्येक नाकामा सम्बन्धित स्थानीय पालिकाहरु मार्फत हेल्थ डेक्सको स्थापना गर्ने र स्वास्थ्य कार्यालय मार्फत एन्टिजेन परीक्षण गर्ने निर्णय भएको बताए । बैठकमा नेपालको तर्फबाट नाका खुलाउने निर्णय भएको र यसका लागि भारतीय तर्फको पनि खोलाउन उताको प्रशासन तथा सुरक्षा निकायका प्रमुखसँग समन्वय गर्न आफूले पहल गरेको प्रजिअ महतोले जानकारी गराए ।
कोरोना संक्रमणका कारण २०७६ साल चैतदेखि नै नेपाल–भारत सीमा नाका बन्द गरिएको छ । गत मंगलवार काठमाण्डुमा बसेको मन्त्रीपरिषद्को बैठकले देशभरिको नेपाल–भारत सीमा नाका खुलाउने निर्णय गरेको थियो तर सो निर्णयानुसार नाका खुलेको छैन् । मुख्य नाकाहरुमा ढाट तेर्साइएकाले सिमाक्षेत्रमा बसोबास गर्ने दुबै देशका नागरिकहरु अहिले पनि खेत, खेतको आली, हिलोपानी र खोलाको बाटो भएर आवतजावत गरिरहेका छन् ।


