अपडेट 
२०७८ आश्विन २०, बुधबार ०६:५९

शिक्षक भन्ने वित्तिकै उज्यालोतिर यात्रा गराउने पात्र बुझ्ने गर्दछौँ । संसारका शिक्षक नै यस्तो पेसा हो जो जहिले पनि अरुका सन्तानका लागि राम्रो होओस् भन्ने चाहिरहन्छन् । अरुका सन्तानलाई निरन्तर भलो चाहने शिक्षकले दिएको ज्ञानबाटै अन्य पेसाका योग्य मानिस वा नागरिक बन्न पुग्दछन् ।

आज जे जति योग्य नागरिक भनेर विश्वमा पूजित छन्, प्रसिद्ध छन् ती सबै कुनै न कुनै शिक्षकबाटै शिक्षार्जन गरेका हुन् । शिक्षकले मन र मस्तिष्कमा उज्यालो भर्ने काम गर्दछन् । हरेक व्यक्तिलाई उसले लिन सकिने गरी ज्ञान दिने काम शिक्षकले गर्दछन् । यसै कारण एउटै कक्षामा कोही निकै राम्रो कहलाउँछन् र कोही निकै कमजोर बन्दछन् । शिक्षकले सबैलाई समानरुपमा ज्ञान प्रदान गरेका हुन्छन् तर लिने मानिसले कतिसम्म लिने हुन्छ भन्नेमा निर्भर रहन्छ । हाम्रो समाजमा शिक्षकले आवश्यक सम्मान पाउन सकेका छैनन् । शिक्षकले जति सम्मान पाउनु पर्ने हो त्यत्ति पाउन नसक्नु समाजको दुर्भाग्य हो । हुन त शिक्षक बन्नका लागि जुन उपायहरु निर्माण गरिएका छन्, त्यही दोषपूर्ण छन् । एक बाटोबाट शिक्षक यदि आउँछन् भने शिक्षक कमजोर हुँदैनन् । शिक्षक सेवा आयोगबाट सिफारिश भई आएका शिक्षकहरु प्रायः अयोग्य देखिएका छैनन् तर आफन्त भर्ना गरिएका शिक्षकहरु भने कमजोर र कामचोर पनि देखिएका छन् । हुन त सबै आफन्त भर्ना गरिएका शिक्षक यस्तै छन् भन्न खोजिएको होइन तर बढी बदनाम गराउने वा हुनेमा यस्तै परेका छन् भन्ने कुरो दुःखपूर्वक भन्नु परिरहेको छ । अहिले समाजमा शिक्षक भनेका फगत एक मास्टर हुन् । शिक्षकलाई अपहेलित शब्दमा मास्टर भन्ने गरिएको हो । हुन त मास्टर शब्दको अर्थ पनि मालिक नहुने होइन तर मास्टर भन्दा अपहेलित भावको प्रस्तुति हुन्छ । यसो गर्नेहरु त्यही शिक्षकबाट शिक्षा प्राप्त गरी अन्य क्षेत्रमा गएर जागिर गर्ने वा बढी पैसा कमाउनेहरु हुन् । अझै पनि अनपढ वा अशिक्षित वा विपन्न समुदायबाट शिक्षकहरु अपमानित भएको अवस्था छैन, अपहेलित भएको अवस्था छैन । जो विद्वान छन्, जो ज्ञानी छन् र जसले शिक्षाको अर्थ बुझेका छन्, तिनीहरु जुन पेसा वा व्यवसायमा संलग्न रहे पनि शिक्षकको सम्मान गर्दछन् ।

शिक्षकको सम्मान गर्दा आफूलाई सभ्य देखाउन खोज्नु स्वाभाविक हो । हो, सभ्य समाजमा सभ्य मानिसले शिक्षकलाई सदैव सम्मानपूर्ण व्यवहार गर्दछन् । शिक्षकलाई सम्मान गर्ने समाज सभ्य हुन्छ भनिएको छ । शिक्षकलाई सभ्य समाजमा निकै आदर हुन्छ । यदि हाम्रो समाजमा शिक्षकको सम्मान अपेक्षापूर्ण कम छ भन्नुको अर्थ यो पनि हो कि हाम्रो समाज अपेक्षाकृत कम सभ्य रहेको छ । शिक्षकलाई समाजले सम्मान गर्ने संस्कार अभिवृद्धि हुँदै गएको छ कि अवमूल्यन हुँदै गएको छ । यसले पनि हाम्रो समाज सुसंस्कृत वा सभ्य हुँदै गएको छ कि हाम्रो सभ्यता तथा सुसंस्कारमा ह्रास हुँदै गएको अवस्था भन्ने कुरा पनि दर्शाउँछ । यसो किन भनिएको हो भने जहाँ शिक्षकमाथि अन्तर्हृदयदेखि सम्मानको भाव रहँदैन, त्यहाँ अन्य पेसा वा वर्ग तथा सम्मानका लागि योग्य समूह वा पदप्रति पनि अपेक्षित सम्मानभाव कम हुन्छ । सम्मानभन्दा अपहेलना वा अपमानको मात्रा बढी हुन्छ । समाजमा घमन्डको मात्रा बढी हुन्छ र नम्रताको मात्रा कम हुन्छ । सभ्यता, संस्कृति र सम्मानमा अभिमान गर्नुपर्नेमा कुन वा के पक्षमा अभिमान गरिरहेको छ भन्ने कुराको निश्चितता हुँदैन । यसले समाजलाई अधोगतितिर लैजाने हुन्छ । उँधोगतितिर लैजान सबैभन्दा पहिले शिक्षक वर्गलाई सम्मान गर्नुपर्दछ, शिक्षकलाई सम्मानको संस्कार अन्तर्हृदयदेखि नै उमार्नु पर्दछ । हाम्रो समाज निकै पछाडि छ । समाज निकै पछाडि हुनुमा सोझै कतिपयले शिक्षक नै दोषी छन् भन्ने आरोप लगाउँछन् तर वास्तवमा तथ्यांक हेरौँ । हाम्रो प्रदेशमा साक्षर मानिस कति छन् ? जो साक्षर छन् तिनले साक्षरताको उपयोग गरेका छन् ? हाम्रो प्रदेशमा स्नातक उत्तीर्ण शिक्षित कति छन् ?

के स्नातक उत्तीर्ण शिक्षितले आफ् नो ज्ञानको उपयोग गरेका छन् ? यसलाई अर्को तरिकाले पनि बुझ्न सकिन्छ । हाम्रो समाजमा कति जनाले दैनिक पत्रिका पढ्छन् ? अझ यसरी प्रश्न गरौँ त ? हाम्रो प्रदेशमा स्वास्थ्य र वातावरणका साथै धनलाई पनि नोक्सान गर्ने चुरोट, खैनी, बिडी, गुटका, परागजस्ता हानिकारक पदार्थको दैनिक खपत कति छ र दैनिक पत्रिका वा ज्ञानबद्र्धक पुस्तकको दैनिक खपत कति छ ? दुवैमा अकल्पनीय खाडल किन देखिन्छ भने यो प्रदेश आर्थिक तथा सामाजिक रुपमा निकै पछाडि छ । शिक्षकहरुले ज्ञानको क्षेत्रमा काम गरिरहेका छन् । जबसम्म कोही भोको हुन्छ तबसम्म उसले ज्ञानको कुरा सुन्न चाहँदैन । खान र लाउन राम्ररी पुगेको मानिसले आफ्ना सन्तानलाई राम्ररी पढाउने प्रयास गरेका छन् कि छैनन् ? विद्यार्थीको अनुपात हेरौँ त विद्यालयहरुमा । शिक्षकले पढाएनन् भन्ने दोषी चस्मा यदि फुकालेर हेर्ने हो भने एक शिक्षकमा कति विद्यार्थी हुनुपर्ने हो र हाम्रो विद्यालयमा कति जना छन् ? हाम्रा विद्यालयहरुमा तहअनुसारका शिक्षक छन् ? भौतिक पूर्वाधार छ ? जब पाठ्यक्रम र पाठ् यपुस्तक बदलिन्छ तब शिक्षकले तालिम पाउँछन् ? अहिले जुन कक्षाहरुमा नयाँ पाठ् यपुस्तक लागू गरिएका छन्, के शिक्षकहरुले कुनै तालिम लिएका छन् कतैबाट ? सोझै पाठ्यपुस्तक विद्यालयमा पुग्छ र शिक्षकले पढाइदिनुपर्ने अवस्था रहेको छ । अनि गुणस्तर भएन र शिक्षकले पढाएनन् भन्ने आरोप सोझै लाग्ने गरेको छ । विद्यालयमा शैक्षिक सामग्री हुँदैन । विद्यालयमा विद्यार्थी बस्ने ठाउँको अभाव हुन्छ । एउटै कोठामा डेढ सयसम्म विद्यार्थीलाई बसाएर–उभ्याएर एकै शिक्षकले पढाउनु पर्दाको अवस्थालाई आरोप लगाउनेहरुले विचार गरेका हुँदैनन् । अन्य कर्मचारीको तुलनामा शिक्षकले पाउने सुविधाहरुको तुलना पनि गर्न सकिन्न । यस अवस्थामा शिक्षकले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन् । शिक्षकलाई शिक्षक मात्रै रहन दिए पनि हुन्थ्यो । अहिलेको अवस्थामा पनि शिक्षकले अहिलेभन्दा बढी राम्रो नतिजा ल्याउन सक्ने देखिन्छ ।

तराई मधेसमा कस्तो देखिएको छ भने विद्यालय व्यवस्थापन समितिले शिक्षकलाई काम गर्न नदिने र हरेक काममा अवरोध सिर्जना गर्ने गरेको छ । कतिपय अवस्थामा विद्यालय व्यवस्थापन समिति त विद्यालय उपभोक्ता समिति जस्तै हुन गएको छ । यदि तराई मधेसका विद्यालयहरुमा राम्ररी अध्ययन गर्ने हो भने धेरै विद्यालयमा विव्यसले आफ् ना घरका, नातेदार वा नजिकका मानिसलाई वा अन्य कारणले आफ्ूले चाहेको मानिसलाई विद्यालयमा शिक्षक वा कर्मचारी बनाएको देखिन्छ । विद्यालयमा हुने भौतिक निर्माण वा सामान खरिदमा हुने अस्पष्ट संलग्नताबारे समाजले राम्रोसँग बुझेको छ । यदि विव्यसले प्रअको संलग्नताबिना नै ती कामहरु गरेर विद्यालयलाई हस्तान्तरण गर्ने वातावरण भए अझ राम्रो हुन्थ्यो तर यो पनि हुन सकेको छैन । यसले गर्दा शिक्षक निर्माण व्यावसायी, सामान आपूर्तिकर्ता, व्यवस्थापन आदि अनेक भूमिकामा देखिनु परेको छ । सबै भूमिकामा देखिएर राम्रो गुणस्तर दिनु परेको छ । हो, हाम्रो समाज पछाडि परेको छ । हाम्रो समाज पछाडि परेकोले यसलाई अगाडि बढाउन शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ । विशिष्ट समयमा शिक्षकको भूमिका पनि विशिष्ट हुने कुरामा रत्तिभर पनि शंका छैन । हुनु पर्छ पनि । यसको अर्थ यो मात्र होइन कि समाज अगाडि बढाउनमा मात्र शिक्षकको भूमिका हुन्छ । समाज जति धेरै अगाडि बढ्दछ, शिक्षकको भूमिका समाजलाई अझ अगाडि बढाउनमा हुनु पर्दछ । अहिले शिक्षित र सभ्य भनिएको देश वा समाजमा के शिक्षकको आवश्यकता छैन ? त्यहाँ पनि शिक्षकको आवश्यकता र महत्व रहेको छ । अलिकति फरक किसिमको भूमिकामा शिक्षक रहेका छन् । त्यहाँ पनि शिक्षकले समाजलाई वर्तमान अवस्थाबाट अझ माथि उठाउन र अझ बढी मानवीय बनाउन निरन्तर सक्रिय वा क्रियाशील भूमिका निर्वाह गरिरहेका छन् ।

यसबाट यो स्पष्ट हुन्छ कि समाजलाई निरन्तर अगाडि बढाउन र बढाइरहन शिक्षकको भूमिका जहिले पनि र जहाँ पनि कायम रहिरहन्छ । जबसम्म समाज कस्तो हुनुपर्दछ वा वर्तमानभन्दा अझ राम्रो समाज कसरी हुन सक्दछ भन्ने भाव मानिसमा रहन्छ तबसम्म शिक्षकको महत्व रहन्छ र रहिरहन्छ भन्ने कुरामा कसैले द्विविधा मान्नु उचित हुँदैन । शिक्षक दिवस विश्वभर यसै कारण मनाइन्छ कि शिक्षकको मूल्य र महत्व सर्वोपरि रहेको छ । शिक्षकको सम्मान यसकारण हुनु पर्दछ कि हाम्रो समाज अहिलेको भन्दा राम्रो होओस् र हाम्रो समाजको भविष्य अहिलेको भन्दा अझ राम्रो होओस् । शिक्षकप्रतिको सम्मानको संस्कारले वर्तमानभन्दा भविष्य अझ बढी नम्र, अनुशासित र उदार बन्ने विश्वास लिनु पर्दछ । अभिमान र दम्भले कुसंस्कारलाई बढावा दिन्छ । आफ्नो भावी पुस्ता कुसंस्कृत र दम्भले भरिएको आयो भने हामी नरहे पनि हाम्रो अपमान तिनले गर्नेछन् । हामीले हाम्रा विगत र वर्तमानका साथै भविष्यको सम्मान अभिवृद्धि गर्न सदैव ज्ञानको मसाल बनेर समाजलाई प्रकाशवान बनाउने काममा निरन्तर लागिरहने शिक्षकहरुलाई सम्मान गर्नु आवश्यक छ । साँच्चि यदि शिक्षकलाई सम्मान गर्दछौँ भने सम्मानको भारीले तिनै शिक्षक आफ्नो काममा अझ गम्भीर भएर लागिरहने प्रेरणा पाउँछन् र यदि अवहेलना पाउँछन् भने काममा मन नलाग्दा अन्ततः समाजलाई नै घाटा हुन्छ । यसर्थ शिक्षकको मनोबल बढाउने काममा समाजको सम्पूर्ण संयन्त्रको सकारात्मक र सराहनीय भूमिका अपेक्षित छ । वर्तमान समाजको लागि यो विशिष्ट पक्ष हो भन्ने कुरालाई हृदयंगम गर्नु जरुरी छ ।

Comment


Related News

Latest News

Trending News