किशोरीहरुलाई पत्रकारिता सम्बन्धी पाँच दिने आधारभुत तालिम बुधबारदेखि जनकपुरमा सुरु भएको छ ।
द गर्ल फस्ट फण्डको सहयोगमा जानकी महिला संजालले आयोजना गरेको पाँच दिने आधारभूत तालिमको जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादवले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । तालिमको उद्घाटन गर्दै प्रमुख यादवले पुरुषहरुको वर्चस्व रहेको संचार क्षेत्रमा किशोरीहरुलाई जोड्न भइरहेको प्रयासको प्रशंसा गरे । पत्रकारिता सम्बन्धी आधारभूत जानकारी भएपछि किशोरीहरुलाई यस क्षेत्रमा स्थापित हुन सहज हुने विश्वास उनले व्यक्त गरे । सूचना र प्रविधिबाट टाढिएको छोरीचेलीहरुलाई पनि संचार क्षेत्रमा आउन यस प्रकारको तालिमले सहयोग पुग्ने धारणा उनको थियो ।
उनले प्रविधिको दुनियामा सत्यतथ्य सूचना सम्प्रेशन गर्न चुनौती थपिदै गएको बताए । तीव्र रुपमा सूचना प्रवाह गर्ने क्रममा वास्तविक विषय समेत छुट्ने गरिएकोले यसतर्पm गंभिर भई पत्रकारिता क्षेत्रलाई स्तरीय बनाउनुपर्नेमा उनले जोड दिए । सूचनाबाट टाढा बस्ने मधेशका छोरीचेलीलाई यस प्रकारको तालिमले सूचना क्षेत्रमा सक्रिय हुन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । जानकी महिला संजालकी अध्यक्ष मालती कुमारी ठाकुरको अध्यक्षतामा भएको उद्घाटन सत्रमा वक्ताहरुले आधारभूत पत्रकारिता तालिमले किशोरीहरुलाई सूचना प्रविधिसित जुड्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । सो अवसरमा नेपाल पत्रकार महासंघ धनुषा शाखाकी सभापति मनिका झा, प्रशिक्षकको भूमिकामा रहेका संचारकर्मी अजय साह, जिल्ला युवा संजाल धनुषाका अध्यक्ष धिरज साह लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
२४ गतेसम्म चल्ने आधारभूत तालिमको उद्घाटन सत्रमा आयोजक संस्थाका कोषाध्यष लता लामाले स्वागत मन्तव्य राखेका थिए भने जानकी महिला संजालका परियोजना संयोजक देवकुमार महतोले कार्यक्रम संचालन गरेका थिए ।


