जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत प्रदेश सभाबाट विश्वासको मत पाएका छन् ।
मुख्यमन्त्री राउतले दुईतिहाईको समर्थन पाएका हुन् । सत्तारुढ दल जसपा विभाजित भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री राउत बुधबार प्रदेशसभाबाट विश्वासको मत हासिल गरेका छन् । मुख्यमन्त्री राउतले प्रदेशसभामा संविधानको धारा १८८ को उपधारा २ र प्रदेशसभाको कार्य संचालन नियमावली २०७५ को नियम १४३ को उपनियम (४) बमोजिम प्रदेशसभामा विश्वासको मतको लागि पेस गरेको प्रस्तावमा मत विभाजन गर्दा राउतको पक्षमा ७७ प्रदेश सांसदले मत दिएका थिए । प्रदेशसभाका कुल १ सय ४ मध्ये बुधबार एक सय जना उपस्थित थिए । विपक्षमा २३ मत परेको थियो । मुख्यमन्त्री राउतलाई उनकै दल जसपासँगै सरकारमा रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र र सरकारलाई समर्थन गरेको नेकपा(एस), नेपाल संघीय समाजवादी पार्टी नेपाल, स्वतन्त्र सांसदले राउतको पक्षमा मतदान गरेका थिए । प्रदेश सभामा जसपाको ३८, काग्रेसको १९, माओवादी केन्द्रको ८, नेकपा (एस) को १३, नेससपा १ र स्वतन्त्र १ जना सांसदले सरकारलाई समर्थन गरेको छ । नेकपा(एस)को १३ जना मध्ये २ जना सांसद अनुपस्थित थिए ।
प्रदेश सांसद डिल्ली उप्रेती उपचारकालागि भारतमा रहेको र सांसद मञ्जु यादव काठमाण्डुबाट आउन नसक्दा मतदानमा सहभागि हुन नसकेको नेकपा(एस) संसदीय दलका नेता शत्रुधन महतोले बताए । राउतको विपक्षमा लोसपाका १६ जना प्रदेश सभामा उपस्थित १५ र नेकपा एमालेका ८ जना गरी २३ जनाले विपक्षमा मतदान गरेका थिए । लोसपाका प्रदेश सांसद डिम्पल झा उपचारका लागि भारतमा रहेका कारण लोसपाको १५ जना मात्रै मतदान प्रक्रियामा सहभागि भएका थिए । मुख्यमन्त्रीले प्रदेश सभामा विश्वासको मतकालागि पेश गरेको प्रस्तावमाथिको छलफलमा सहभागि सत्ता पक्षका सांसदले मुख्यमन्त्रीको बचाव गर्दै मत मागेका थिए भने विपक्षी दलका प्रदेश सांसदहरुले मुख्यमन्त्रीलाई भ्रष्टाचारको आरोप लागेको कारण नैतिकताको आधारमा राजिनामा दिनु पर्ने भन्दै आलोचना गरेका थिए ।


