राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीले शारिरिक रुपमा अशक्त भएको नागरिकको घरमै पुगेर नागरिकता प्रदान गरेको छ ।
एकसाता अघि शारि रिक रुपमा अशक्त रुपनी गाउँपालिकाका ७४ वर्षीय मुसहरु खंग खत्वे र उनकी ७० वर्षिया पत्नी दशनी देवीलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको हो । जिल्ला प्रशासन कार्यालयले मंगलवार पनि शारिरिक रुपमा अशक्त सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुरका एक बृद्धको घरमै पुगेर नागरिकताको प्रमाण पत्र प्रदान गरेको हो । अपाङ्ग भई हिडडुल गर्न नसकेपछि नागरिकता विहीन भएका ६८ वर्षीय बौवालाल गुरमैताको घरमै पुगेर मंगलवार साँझ नागरिकता दिइएको हो । नागरिकता नभएका कारण सरकारबाट पाउने सबै सुविधाबाट बन्चित भएको जनगणनामा खटिएका सुपरिवेक्षक संदिप कर्णले जानकारी गराएपछि प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम, सहायक प्रमुख जिल्ला अधिकारी नाथु साह, इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख दिनेश कुमार कार्की, हनुमाननगर कंकालीनी नगरपालिकाका प्रमुख शैलेश साह तथा संचारकर्मीको टोली उनको घर पुगेको थियो । सरकारबाट पाउने सुविधाका लागी नागरिकता आवश्यक रहेको र अपांग भएकै कारण जिल्ला प्रशासन कार्यालय सम्म पुग्न नसकेको जानकारी आएपछि उनलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।
उनले शारिरिकरुपमा अशक्तलाई आवश्यक प्रक्रिया पुरा गरी घरमै नागरिकता उपलब्ध गराउने व्यवस्था मिलाइएको जानकारी दिए । सो अवसरमा मेयर साहले गुरमैतालाई एक थान ह्वीलचेयर प्रदान गर्ने र एक साता भित्रै अपाङ्ग परिचय पत्र बनाई सरकारबाट पाउने सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे । हिडडुल गर्न नसक्ने गूरमैता घरमै नागरिकता पाउदा निकै हर्षित देखिन्थे । बुहारी विनिताले ससुरा गूरमैता जन्मजातै अपाङ्ग रहेको र सरकारी सेवा सुविधाबाट समेत बन्चित रहदा आर्थिक समस्याले कष्टकर जीवन बिताउन बाध्य रहेको सुनाईन् ।


