लामो समयदेखि रिक्त रहेको संघीय संसदको उपसभामुख जनता समाजवादी पार्टी (जसपा) ले पाएको छ ।
सरकारमा ४ जना मन्त्री मात्र पाएको जसपाले उपसभामुखको कोटा हात पारेको छ । तर उपसभामुखमा कसलाई पठाउने भने टुंगो लागि सकेको छैन् । स्रोतहरुका अनुसार उपसभामुखमा रानी मण्डलको नाम चर्चामा आएको छ । सत्तारुढ गठबन्धनको ४ दलमा सहमति कायम गर्न एकिकृत समाजवादी पार्टी (एस) लाई प्रदेश १ र बाग्मतीमा मुख्यमन्त्री दिनेछ । हाल दुबै प्रदेशमा एमालेका मुख्यमन्त्रीहरु छन् । बाग्मती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले २४ गते विश्वासको मत लिने तयारी गरेकी छिन् । अल्पमतमा रहेकी शाक्यले भने विश्वासको मत लिनु अगावै राजिनामा पनि गर्न सक्ने संभावना छ । उनी मुख्यमन्त्री भएदेखि नै अल्पमतमा रहेकी छिन् । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य पनि अल्पमतमा रहेका छन् । उनीपनि मुख्यमन्त्री बनेदेखि नै अल्पमतमा छन् । तर आचार्यलेपनि विश्वासको मत लिने बताएका छन् । दुवै प्रदेश एसको कोटामा परेकाले माधवकुमार नेपाल पक्षधर राजेन्द्र राईले प्रदेश १ मा मुख्यमन्त्री बन्ने पक्का छ ।
त्यसैगर बाग्मती प्रदेशमा राजेन्द्र पाण्डे मुख्यमन्त्री हुने निश्चित छ । राई एस संसदीय दलको प्रदेश १ का नेता हुन् । बाग्मती प्रदेशको नेता भने पाण्डे छन् । काँग्रेसले बाग्मती प्रदेशमा मुख्यमन्त्रीको दावी छाडेपछि नेपालको कोटामा दुबै प्रदेश परेको छ । काँग्रेसको पक्षमा हाल गण्डकी प्रदेश रहेको छ ।

