जनकपुरधाम । जनकपुरधामको रामचोकमा रहेको गोपाल धर्मशालामा बिहीवारबाट ‘सस्तो बजार’ सञ्चालनमा आएको छ ।
‘सस्तो बजार’को उद्घाटन प्रदेश २ का प्रमुख हरिशंकर मिश्रले गरे । प्रदेश प्रमुख मिश्रले दशैं तिहारमा सर्वसधारणले सस्तो बजारबाट सस्तो र गुणस्तरीय समान खरिद गर्न पाउने विश्वास व्यक्त गरे । सस्तो बजार सञ्चालन गरेकोमा जनकपुरधाम उद्योग बाणिज्य संघका पदाधिकारीलाई धन्यवाद समेत दिए । सस्तो बजार उद्घाटन समारोहमा लोसपा प्रदेश साँसद प्रमेश्वर साह, जनकपुरधामका मेयर लालकिशोर साह, पूर्वमेयर बजरंग साह, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जीतेन्द्र महासेठ लगायतको उपस्थिति रहेको थियो । जनकपुरधाम उद्योग बाणिज्य संघको आयोजनामा हरेक वर्ष ‘सस्तो बजार’ सञ्चालनमा आउँछ । संघका अध्यक्ष जीतेन्द्र महासेठले विगत ४० वर्षदेखि ‘सस्तो बजार’ निरन्तरता पाइरहेको बताए । उनका अनुसार बजारभन्दा यहाँ सस्तो समान पाइने भएकाले गाउँ गाउँबाट उपभोक्ता आउने गर्छन् ।
गोपाल धर्मशालामा ‘सस्तो बजार’का लागि सयौं व्यवसायीले स्टल बुक गरेका छन् । बिहीवार पहिलो दिन रहेकाले उपभोक्ताको भीडभाड देखिएन । यहाँ विशेषगरी भान्साको समान, लत्ताकपडा, जुत्ताचप्पल, तेल, साबुन लगायतका दैनिक जीवनमा प्रयोग हुने समान पाइन्छ । यो बजार दिपावलीसम्म लाग्नेछ ।विगतमा केहि व्यवसायीले बजारमा विक्री नभएको गुणस्तरहीन समान ल्याएर विक्री गर्ने गरेको पाइएकाले यसवर्ष त्यस्तो हुन नदिन सरोकारबाला निकायको वक्ताहरुले ध्यानकर्षण गराएका थिए ।


