अपडेट 
२०७८ आश्विन २३, शनिबार ०७:१८

महोत्तरी जिल्लाको औरही नगरपालिका वडा नं. ७ भोइलमा रहेको सोनासती महारानीको मन्दिर सोनामाई मन्दिरको नामले प्रचलित छ । यो मन्दिर जिल्ला कै महत्वपूर्ण एवं चर्चित धार्मिक स्थलको रुपमा रहेको छ । यो स्थान वर्दीवास–जलेश्वर राजमार्गको बीचमा रहेको यो मन्दिर सदरमुकाम जलेश्वरवाट २३ कि. मि. उत्तरमा पर्छ । यहाँ विशेष गरी भूत, प्रेत, पिसाच, दुष्ट आत्मा, बोक्सीहरु द्वारा सताइएका व्यक्तिहरुलाई झार फूक एवं तान्त्रिक विधि द्वारा निको पार्नुको अतिरिक्त सन्तान नभएकाहरुलाई सन्तान प्राप्त हुने जस्ता अनेकौ आकांक्षाहरु पुरा हुने जन विश्वास रहेकाले यहाँ दैनिक जसो पूजा पाठ, आराधना, दर्शन तथा वलि प्रदान गर्न भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । साथै दशैमा यहाँ भूत मेला पनि लाग्ने गर्छ । सोनासती महारानीको उत्पतिको सम्वन्धमा चर्चा गर्दा करीव पाँच सय बर्ष पहिले हाल मन्दिर रहेको क्षेत्र पुरै जंगल थियो । जंगलमा गाई भैसी चराउन दक्षिणी भेगवाट मान्छेहरु समूह वनाएर आउथ्यो र राती वास जंगल मै वस्थ्यो । एक दिन गाई भैसी चरी रहेकै अवस्थामा पाँचवटा भैसी एकै साथ हरायो । भैसी खोज्दै जाँदा हाल मन्दिर रहेको क्षेत्रमा पुग्दा अनौठो अनुभव हुन थाल्यो एक छिन पछि सोनासती महारानी मानवको रुपमा प्रकट भई आफ्नो परिचय दिदै भैसी आफूसंग रहेको जानकारी गराउनु भयो । मलाई दैनिक पूजापाठ, साँझवाती, आरती गरे मात्र भैसी दिने नत्र नदिने शर्त अगाडी वढाउनु भयो ।

उनीहरुले शर्त स्वीकार गरे । त्यसै दिन देखि यहाँ पूजा, पाठ, आरती हुदै आएको छ । अर्को प्रसंगमा पुजारी राजेन्द्र झाको मित्र माझी चौधरी विना कसुर वीरगंज जेलमा थियो । जेलवाटै सोनासती महारानीको मन्दिर वनाइ दिन्छु भनि स्मरण गर्दा जेलमा कसैलाई जानकारी नभइ उनि जेलवाट निस्के । मन्दिर निर्माण हुनुपूर्व यहाँ कहचरीया स्थान भन्ने एउटा धेरै पुरानो सिसौंको रुखको टोड्कामा सोनासती महारानी अवस्थित रहेको थियो । केही बर्ष पछि पूजारीले कहचरीया स्थानवाट मुर्ति ल्याई हाल मन्दिर रहेको स्थानमा माटोको घर वनाई दैनिक पूजा पाठ गर्न थाल्नु भयो । पूर्व भाकल गरे अनुसार चौधरीले मन्दिर वनाई दिदा त्यसमा पूजापाठ हुनथाल्यो । पुरानो मन्दिर जीर्ण भएको कारण त्यसलाई भत्काइ अहिले नयाँ मन्दिर वनेको छ र यसै मन्दिरमा माताको पूजा पाठ आरती दैनिक रुपमा भइरहेको छ । नेपाल कै धार्मिक एवं ऐतिहासिक धरोहर मध्येको यो मन्दिर पनि एउटा शक्ति पीठ हो । यहाँ विशेष गरी दशैँमा नेपाल तथा छिमेकी मुलुक भारतका हजारौ श्रद्धालु भक्तजनहरुको घुइचो लाग्ने गर्छ । हरेक वर्ष वडादशैंको शुभ अवसरमा घटस्थापना देखि विजयादशमी सम्म धूमधाम संग विशेष पूजा अराधना गर्नुको साथै यहाँ ठुलो मेला लाग्ने गर्दछ । यसो भए तापनि प्रत्येक दिन यहाँ श्रद्धालु भक्तजनहरु पूजा पाठ गर्न, दर्शन गर्न, वलि प्रदान गर्न, मनोकामना पूरा गर्न आउने क्रम जारी नै रहन्छ । मनोकामना पूरा भएको व्यक्ति पूर्व भाकल अनुसार लडु, मिठाई तथा वोका, परेवा, रांगा लगायतका पंच वलि चढाउने गर्छ । कति पयले त सुन चाँदीका गहना, कपडा, मौर, गेरुवा, चनमा आदि चढाउने गर्छ । कति ले त विभिन्न किसिमका घण्टीहरु समेत चढाउने गर्छन ।

प्रत्येक वर्षको वैशाख देखि असोज सम्म यस वरपरका छिमेकी गाउँहरुवाट (पहिले मेघनाथवाट) चामल, धूप, अगरवती, फूल, पैसा आदि संकलन गरी महिला र पुरुषको समूह वनाएर पूजा गर्न आउने चलन समेत रहेको छ ।

कुन दिन के के हुन्छ

आदि शक्ति माता दुर्गा भवानीको अनेकौ रुप रहेतापनि धर्मशास्त्रमा मुख्य रुपमा नौ रुपको वर्णन गरिएको पाइन्छ । पहिलो रुप शैलपुत्री, दोश्रो व्रहमचारणी, तेश्रो चन्द्रघण्टा, तस्तै कुष्माण्डा, स्कन्धमाता र कात्यायनी माता आदी शक्तिको चौथो, पाचौ र छठौ रुपको नाम हो । सातौ, आठौं र नवौं रुपको नाम क्रमशः कालरात्री, महागौरी र सिद्धिदातृ रहेका छन् । हिन्दु धर्मावलम्वीहरु दशैंमा यिनै नौ रुपको नौ दिनसम्म विशेष श्रद्धाको साथ पूजापाठ अर्चना गर्दै आइरहेका छन । यसै नौ दिनसम्म भक्तजनहरु मातालाई खुशी पार्न, इच्छा पूर्ति गर्न विभिन्न मन्दिर धाउछन । त्यसमा एउटा सोनामाईको मन्दिर नेपाल कै प्रसिद्ध एवं ख्याति कमाएको रुपमा चिनिएको छ । असोज शुक्ल प्रतिपदा देखि विजया दशमी सम्म यहाँ ठूलो मेला लाग्ने गर्छ । पहिलो अर्थात घटस्थापनाको दिन विहान ३/४ वजे पुजारीको घरवाट परमपरागत वाजागाजा (ढोल पिपही) को साथ सवै पुजारी सामेल भईडाला (धुप, दीप, अक्षत, कलश, नैवेध, रातो कपडा, खर्ग आदी) मन्दिरमा लगिन्छ र घटस्थापना हुन्छ एवं जमरा राखिन्छ । यसै दिन देखि नवरात्र आरम्भ हुन्छ । द्वितीया देखी षष्ठी सम्म ठूलो संख्यामा भक्तजनहरु आउने पूजापाठ गर्ने, दर्शन गर्ने, लडु, पेडा, मिठाइ, माता लाई चढाउने तथा वोका, परेवाको वलि प्रदान गर्ने र मेला लाग्ने गर्दछ । सप्तमीको दिन विभिन्न ठाउँवाट आएको फूलपाती मन्दिरमा भित्रिन्छ । त्यस्तै निशा पूजा अष्टमीको दिन हुन्छ र सो दिन रातिमा धूप–दीप, नैवेध, फल फूल, चूरा, सुन, चाँदी आदिले भव्य पूजा भई मन्दिर भित्रै बोकावली दिइन्छ त्यस्तै कुभिन्डोको बलि राजदेवीलाइ दिइन्छ तथा माताको जीउ भरी घृत र सिन्दुर लगाई नयाँ कपडा लगाउने चलन छ । महानवमीको दिन करीब १०० देखि १५० को संख्यामा रांगाको बलि प्रदान हुन्छ ।

विजया दशमीको दिन फेरी डोला मन्दिरवाट परम्परागत वाजागाजाको साथ पूजारीको घरमा लगेर विधिवत तरीकाले सोनामाई मेलाको समाप्ति हुन्छ । यसै दिन यस वरपर (भोइल, टिमकिया, औरही, चेपकट, श्रीपुर, मेघनाथ गोरहन्ना आदि) का वासिन्दाहरु खुशीले लडु, मिठाई, पेडा, खोवा, जिलेवी आदि चढाउने गर्दछन् । यसैविच चौठी देखि अष्टमी सम्म भूत मेला लाग्ने गर्दछ । यी पाँच दिन सम्म करीव तीन चार सयको संख्यामा आफूलाई भूत, प्रेत, पिसाच, दुष्ट आत्मा र बोक्सीहरु द्वारा सताइएका वा ठानिएका व्यक्तिहरु यस गाउँको चारै तिरको सीमा क्षेत्रमा प्रवेश गर्दा उक्त व्यक्तिहरु रुदै, कराउदै, दौडदै यहाँ अवस्थित राजदेवीमाईको खुट्टानिर लडने गर्दछ र यहाँका पूजारीहरुले पीडित व्यक्तिहरुलाई तन्त्र, मन्त्र, जन्त्र द्वारा बाध्ने तथा आयुर्वेदीक औषधीको माध्यमले वैदिक उपचार एवं सल्लाह दिने चलन रहेको छ । मेलाको दशौं दिन सम्म करीव २÷३ हजारको संख्यामा बोका, परेवा लगायतका वली प्रदान गरिन्छ । सोनासती महारानीको मन्दिर सोनामाई स्थानको नामले प्रचलित छ । यहाँ गणेश, राजदेवी, सरस्वती आदि देवी देवताको मूर्तिको अतिरिक्त तपसी बाबाको धुनी रहेको छ जसमा चौबीसै घण्टा आगो बलिरहन्छ । धर्मिक एवं ऐतिहासिक महत्व वोकेको सोनामाईको मन्दिर क्षेत्र भौगोलिक स्थिति र प्राकृतिक मनोरम दृश्यले भरीपूर्ण रहेको यस मन्दिरको संरक्षण र विकास गर्न अत्यन्त आवश्यक छ । यो क्षेत्रको सही पहिचान गरी संरक्षण तथा विकास गरिए पर्यटकिय क्षेत्र वनाउन सकिने धेरै सम्भावना रहेको छ ।

Comment


Related News

Latest News

Trending News