२०७८ आश्विन २३, शनिबार ०७:३०

जनकपुरधाम । गीत, संगीत र भजन मात्र होइन् मन्त्रोचारणले समेत मानव मस्तिष्कमा सकारात्मक प्रभाव पार्ने गरेको तथ्य कसैसंग लुकेको छैन । तर जस्तो सुकै सुमधुर संगीत होस या भजन कीर्तन यदि कोलाहलपूर्ण छ भने त्यसलाई ध्वनि प्रदूषणको रुपमा लिईन्छ । र सो ध्वनि प्रदूषणले मानवको कार्य क्षमतामा कमी हुनु लगायतका समस्याहरु उत्पन्न हुने गरेको छ । अहिले जनकपुरधाम सहित आसपासको क्षेत्रमा विजयादशमीको चहल– पहल बढेको छ ।

गाउँ–गाउँमा दुर्गा पूजाको मेला आयोजना गरिएको छ । शक्तिपीठसहित ठाउँ ठाउँमा माटोको प्रतिमा बनाई आयोजित पूजा स्थलमा लाउडस्पिकरको प्रयोगले सर्वसाधारणलाई दिक्क बनाएको जलेश्वर निवासी पत्रकार राकेश प्रसाद चौधरीले गुनासो गरे । उनी भन्छन –‘ पूजा अर्चना हुनुपर्छ, सांगीतिक भजनहरु पनि बज्नुपर्छ । यो आस्थाको कुरम हो । तर त्यसमा प्रयोग गरिने लाउडस्पिकरले अमुख क्षेत्र नै कोलाहलपूर्ण बन्ने गरेको छ यस्तो प्रवृत्तिमाथि चाँही अंकुश लगाउनै पर्छ ।’ जनकपुरधामकै कुरा गर्ने हो भने राजदेवी मन्दिर ,बौधी देवी मन्दिर, पिररिया माई मन्दिर लगायतका शक्तिपीठ तथा रामानन्द चोक, पिडारी चोक र विद्यापति चोकमा आयोजित दुर्गा पूजाको पण्डाल होस् जहाँ पनि लाउडस्पिकरको प्रयोग गरिएको छ । त्यस्तै जलेश्वरस्थित राजदेवी मन्दिरमा चार वटा ठूल–ठूला लाउडस्पिकर जडान गरिएको छ । लगातार बजिरहने गरेकोले जलेश्वरवासीलाई सास्ती मात्र भएको छैन् । ध्वनि प्रदूषण नियन्त्रणको लागि कतैबाट आवाज उठ्न नसक्नु दुर्भाग्यपूर्ण रहेको स्वास्थ्यकर्मी गिरेन्द्र कुमार झाको कथन छ । सो लाउडस्पिकरले सर्वसाधारणको स्वास्थ्यमा गंभिर असर पार्ने भएपनि यसको नियन्त्रण गर्न कुनै पनि निकायले गंभिरता नदेखाएको वातावरण अभियानी एवं प्रदेश २ का साँसद रामअशिष यादव बताउँछन् । उनी भन्छन्–‘ पूजा गर्नुपर्छ, तर समग्र वातावरण नै प्रदूषित हुने गरि लाउडस्पिकर जडान गर्ने प्रवृति भने पक्कै अन्त्य हुनुपर्छ । यसको लागि सम्बन्धित निकायले कानुन बमोजिम कारवाही गर्न सक्नुपर्छ अन्यथा नियन्त्रण सम्भव छैन् ।

’ त्यस्तै सर्वसाधारणमा चेतनाको अभाव, आयोजकहरुमा समेत चेतनाको कमीले गर्दा यो अवस्था आएको हो । तसर्थ ध्वनि प्रदूषण सम्बन्धि सचेतना कार्यक्रम समेत आवश्यक रहेको साँसद यादवले थपे । विश्व स्वास्थ्य संगठनले ध्वनि दिनमा ४५ डीबी र रातको समयमा ३५ डीबीको ध्वनिलाई निश्चित गरिएको छ । सो भन्दा अधिक स्वरमा लाउडस्पिकर या डीजे बजाउनु कानुन विपरित भएपनि नियमन गर्ने निकाय नै मौन देखिएको छ । ध्वनि प्रदूषणले मानवको एकाग्रता भंग मात्रै गर्ने होइन् । यसले गर्दा मानवको कार्यक्षमतामा समेत कमी आउने गरेको चिकित्सक एवं प्रादेशिक अस्पताल जनकपुधामका मेडिकल सुपरिटेण्डेन्ट डा.प्रमोद कुमार यादवले बताए । उनले भने –‘ ७० डीबी भन्दा कम स्तरको ध्वनि मानवका लागि त्यति खतरनाक हुँदैन् । तर ८५ डीबी भन्दा बढि ध्वनि लगातार ८ घण्टा सम्म सुनेपछि व्यक्तिको श्रवण शक्ति समेत नष्ट हुन सक्छ । ’ विश्व स्वास्थ्य संगठनका अनुसार १ सय डीबीको आवाज मानवको लागि धेरै नै हानिकारक छ । ध्वनि प्रदूषणले व्यक्तिको पाचन एवं ह्दय संबंधी रोग, मानसिक रोगी समेत हुन सक्ने डा.यादवले बताए । उनले गर्भबोकेकी महिलाहरुलाई ध्वनि प्रदूषणको कारण गर्भ तुहिने जोखिम समेत रहेकोले ध्वनी प्रदूषणलाई स्वीकार गर्न नसकिने डा.यादवले थपे ।

Comment


Related News

Latest News

Trending News